फ्याक्ट चेक : के अमेरिकामा भोकै मर्न लागेको भन्दै भिडियोमा रुने युवकको भनाई सत्य छ ?


प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार

आफू चापागाई थरको भएको र भर्जिनियामा बस्दै आएको तर खानेकुरा नपाएर मर्न लागेको भन्दै एकजना नेपाली युवाको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । यी युवा भर्जिनियामा हास्य कलाकार पुष्कर पन्तको घरमा  भाडामा बस्दै आएका पवन चापागाइ नामका व्यक्ति हुन् ।

उनी विगत २२ महिनादेखि फेयरफ्याक्स अन्नाडेलमा पन्तको घरमा भाडामा बस्दै आएका छन् । उनी अहिले पनि पन्तका घरमा बस्दै आएका छन् । उनले भर्जिनियाको बर्कमा रहेको सेभेन इलाभेन स्टोरमा काम गर्दै आएका छन् ।

‘हिजो राती ८ बजे कामबाट आएका थिए । दाई नमस्ते भनेर मसँग कुराकानी पनि गरे । खाना खाएर सुतेपछि आज विहान ५ बजे उठेर फेरी काममा गएका छन् ।’ –  पन्तले खसोखासलाई जानकारी दिए ।

सेभेन इलाभेन स्टोरमा काम गरिरहेका उनलाई भर्जिनिया निवासी पुरु सुवेदीले आज विहान कामगर्ने स्थानमा नै गएर भेटेको पन्तले जानकारी दिए ।

न यी युवा भोकै छन्, न काम गुमाएका छन्, न घरबाट निकालिएका छन् ।

यो भिडियोमा ती युवाले बताएका अधिकांश कुराहरु गलत छन् । हामीले उनले भिडियोमा बताएका केही मुख्य कुराहरुबारे फ्याक्ट चेक गरेका छौं ।

भिडियोमा उनले बजारमा कुनै पनि खानेकुरा नभएको भएपनि खानै नहुने, षडेगलेको र विषादी भएको कुरा बेच्न राखेको बताएका छन् । जुन शतप्रतिशत गलत रहेको छ । अमेरिकाको खाद्य एवं औषधी प्रशासनले कुनै पनि खानै नहुने र विषादीयुक्त खानाहरु बेच्न प्रतिबन्ध लगाएको छ । जनताको स्वास्थ्यमा असर गर्ने, विषादी भएका खानेकुराहरु कसैले बेचेमा उनीहरुलाई कारवाही हुन्छ र कतै संक्रमित भएका वा गलत तरिकाले लेवल लगाइएका खाद्यसामाग्री बजारबाट फिर्ता लगिन्छ ।

खाद्य सामाग्रीमा समस्या भएमा कसरी रिपोर्ट गर्ने ? यहाँ क्लिक गर्नुहोस्

त्यस्तै अमेरिकामा राष्ट्रब्यापी रुपमा खाद्य सामाग्रीको अभाव भएको छैन । ग्रोसरी स्टोरदेखि डेलिभरी गर्ने रेष्टुरेण्टसम्म अत्यावश्यक बिजनेशका रुपमा खुला रहेका छन् । कोरोनाको महामारीको सुरुका दिनमा केही स्टोरहरुमा सामान सप्लाई कम भएको थियो । तर अहिले खाद्य सामाग्री अभाव भएको छैन । ती युवाले दावी गरेजस्तो भर्जिनियामा त्यस्तो समस्या कतैपनि छैन । अमेरिकामा विभिन्न सिटीले निशुल्क खानाको व्यवस्था पनि गरेका छन् । कतिपय स्थानमा विभिन्न गैरनाफामुलक संस्थाहरुले पनि यस्तो व्यवस्था गरेका छन् ।

भर्जिनियामा निशुल्क खाना कहाँ पाउने यहाँ क्लिक गर्नुहोस् ।

ती युवाले आफूलाई फेलोनी २ लागेकाले काम नपाएको बताएका छन् । तर आफूसँग नयाँ गाडी, बैंक एकाउन्ट, मोबाइल फोन र क्रेडिट कार्डहरु भएको बताएका छन् । जुन विरोधाभाषपूर्ण रहेको छ । यस्तो अपराध गरेको व्यक्तिलाई आजिवन जेल वा कम्तीमा २० बर्ष
जेल र १ लाख डलरसम्म जरिवानाको व्यवस्था हुन्छ । कस्तो कस्तो अपराधलाई फेलोनी २ भनिन्छ यो सुचीमा हेर्नुहोस् ।

उनको मुद्दा चलिरहेको बताइएपनि फेलोनी २ भए नभएको स्पष्ट छैन । उनीसँगै बस्ने मान्छेले केस हालेको जनाइएको छ ।

अमेरिकामा दशौं लाख कागजपत्रविहिन रहेका छन् । कागजपत्रविहिनहरुले समेत काम गरिरहेको अवस्थामा अरुले कामै नपाउने भन्ने कुरा झूठो हो । कर्पोरेट र सरकारी बाहेकका अधिकांश काममा व्यक्तिको अपराधको पृष्ठभूमिसमेत जाँच हुँदैन ।

उनले आफूलाई कोरोना आउनसक्छ भनेर घरबाट निकालिएको बताएका छन् । अमेरिकामा यसरीले कसैलाई घरबाट निकाल्न पाईदैन । कसैले त्यस्तो गरेमा ३११ व ९११ मा फोन गरेर जानकारी दिनसकिन्छ । अमेरिकामा कोरोना प्रभावित नेपालीहरुलाई विभिन्न सामाजिक नेपाली संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । भिडियोमा भनिएजस्तो सास फेरेपछि कोरोना सर्छ भनेर नेपालीहरु भाग्ने गरेको सत्य होइन ।

कुनै नेपालीलाई समस्या परेमा उनीहरुले दूतावास वा कन्सुलेटमा सम्पर्क गर्न सक्छन् । वा सधि उनीहरुले सामाजिक संघसंस्थासँग समन्वय गरेर सहयोग गरिरहेका छन् । वा सिधै संघसंस्थाहरुलाई पनि सम्पर्क गर्न सक्छन् । त्यसका लागि दूतावास र कन्सुलेटका ४ वटा फोनलाईन २४ सै घण्टा खुल्ला रहेका छन् ।

भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नागरिकलाई पहिलो प्राथमिकता हुने र त्यसपछि फेलोनी लागेका फटाहा अपराधीलाई दोश्रो प्राथमिकता बताएको ती युवाले उल्लेख गरेका छन् । जुन सत्य होइन । कसैलाई समस्या परेको छ भने आफ्नो देश फर्के हुन्छ भनेर ट्रम्पले बताएको उनले भिडियोमा उल्लेख गरेका छन् । जुन कुरा सत्य होइन । अमेरिकी सरकारले प्रदान गर्ने राहत रकम ट्याक्स फाइल गरेको र आवासीय व्यक्तिको परिभाषाभित्र पर्ने जुनसुकै स्टाटसको व्यक्तिले प्राप्त गर्छ ।

उनले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिलाई प्लास्टिकमा पोको पारेर लगेर खाल्डोमा हालेर डोजरले खनेर पुरिरहेको बताएका छन् । जुन भनाई शतप्रतिशत झुठ र भ्रामक रहेको छ । कोरोना संक्रमणबाट कसैको मृत्यु भएमा उसका आफन्तहरुले फ्युनेरल होम बुक गरेर सामाजिक दुरी कायम गरेर दाहसंस्कारमा सहभागी हुन पाउँछन् । यदि शव कसैले दावी गर्न नआएमा पनि त्यसको अझ लामो प्रकृया रहेको छ । शवको सबै डीएनए रेकर्डहरुदेखि मेडिकल रेकर्डहरुसमेत फाइलमा राखेर विधिपूर्वक उक्त शवको दाहसंस्कार गरिन्छ ।

भिडियो हेर्दा ती युवकमा केही मानसिक समस्या भएजस्तो देखिन्छ । ती युवकलाई कुनै मानसिक वा अन्य कुनै काउन्सिलिङ वा सहयोगको आवश्यकता हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com