म्याग्दीका लाहुरेनी


प्रकाशित मिति : चैत्र १९, २०७३ शनिबार

विदेश गएका म्याग्दीका महिला आर्थिक रुपले सक्षम मात्र भएका छैनन्, समाजमा समेत महिलाले अवसर सदुपयोग गर्न सक्छन् भन्ने सन्देश गएको छ ।

ध्रुबसागर शर्मा

लाहुरेहरुको जिल्ला भनेर परिचित म्याग्दी अब ‘लाहुरे महिला’का कारण पनि चर्चित हुन थालेको छ । ‘लाहुर’ अर्थात विदेश गएर महिलाले घर, घडेरीदेखि बैंक तथा बित्तिय संस्थाहरुमा समेत लगानी गर्न थालेपछि म्याग्दी महिलाका कारण चिनिन थालेको हो । यसैले, अब म्याग्दीमा लाहुरेहरुका कथा मात्र होइन, ‘लाहुरेनी’हरुका अनुभव पनि सुन्न पाइन्छ ।

बेनी बजार आवा चोककी विश्व शेरचन (४३) तिनै ‘लाहुरेनी’ मध्येकी एक हुन् । पश्चिम म्याग्दीको विमस्थित स्थायी घर छोडेर बेनी बजारमा घर बनाएर बसेकी शेरचन सात वर्षअघि जापानबाट फर्किएकी हुन् । जापानमा १० वर्ष काम गरेर नेपाल फर्किएकी शेरचनले घरघडेरी जोड्नुका साथै बैंक तथा वित्तिय संस्थामा लगानी समेत गरेकी छिन् । हाल घरभाडाबाट मात्र उनले मासिक ६० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएकी छन् ।

जापानको एक टेलिभिजन निर्माण कम्पनीमा दैनिक ६ घण्टा काम गर्दा मासिक १ लाख रुपैयाँ कमाइ हुने गरेको बताउने शेरचन आफू ३० वर्षको उमेरमा जापान गएको र त्यहाँकै कमाइले अहिले आर्थिक रुपमा सबल भएको बताउँछिन् ।

तत्कालीन नेकपा माओवादी जनयुद्धको समयमा गाउँबाट विस्थापित भएपछि शेरचनको परिवार काठमाण्डौंमा बस्न थालेको थियो । त्यतिबेला परिवार दुःखमा परेको र गाउँको सम्पत्ति त्यसै अलपत्र परेको बताउँदै अविवाहित शेरचन भन्छिन्, ‘१० वर्ष जापान बसें, अनि झण्डै ८५ लाख रुपैयाँ जोगाएँ । आफ्नो मेहनतको कमाईलाई अहिले सदुपयोग गर्न पाएको छु । अवसर मात्र दिनुपर्छ, हामी कुनै कुरामा पनि कम छैनौं ।’

कमजोर आर्थिक अवस्था र नेपालमा रोजगारीको कुनै संभावना नदेखेपछि विदेशिएकी शेरचन अहिलेको समृद्धि पहिलेको अवस्थासँग तुलनै गर्न नसक्ने बताउँछिन् । आफ्नो अवस्था अत्यन्त दयनीय रहेको बताउँदै शेरचन भन्छिन्, ‘माओवादी जनयुद्धको प्रभावले गाउँमा बसिसक्नु थिएन, भएको सम्पत्ति पनि गाउँमा त्यसै अलपत्र अवस्थामा छोडेर बुबाआमा सहित काठमाडौं गयौं । न जागिर, न व्यापार । ठूलो कष्ट सहेर दुई वर्ष बिताएपछि जापान गएकी हुँ ।’

मल्कावाङकी इन्द्रकुमारी छन्त्याल (२८) ५ वर्षदेखि बेलायतमा कमाइरहेकी छिन् । बेलायत बसाइको यो अवधिमा छन्त्यालले काठमाडौंमा घर खरिद, पोखराको हेम्जामा घडेरी किनेर तीनतले पक्की घर बनाउनुका साथै बुवाआमा र भाइहरुको समेत हेरविचार गरिरहेको छिमेकी हरि छन्त्याल भन्छन् । इन्द्रकुमारीको कमाइ नियमित आउन थालेपछि उनको घरको अवस्था राम्रो भएको उनको भनाई छ ।

मल्कावाङकै पार्वती भट्टचन (३०) आर्थिक अवस्था राम्रै भएपनि विदेश गएर केही गर्नुपर्छ भन्ने भावनाले जापान गएको बताउँछिन् । ‘विदेश गएँ, त्यहाँ गएर राम्रै कमाई गर्न पनि सफल भएँ, यसैमा म सन्तुष्ट छु’, उनी भन्छिन् । त्यसैगरी, मंगलाघाटका दुई बहिनी रेजिना (२१) र अनिता राना (२३) हाल रोजगारीको क्रममा कोरिया र अष्ट्रेलियामा छन् । उनीहरुले पनि आफ्नो कमाइ घरघडेरीमा लगानी गरेका छन् ।

रोजगारीको क्रममा विगत ८ वर्षदेखि अष्ट्रेलियामा रहेकी अर्थुङ्गेकी चीना केसी (२४) आफ्नो कमाइ बुबा यामबहादुर केसीलाई पठाउँछिन् । उनले पठाएको पैसाले यामवहादुरले बेनीबजारको मंगलाघाटमा तीनतले आधुनिक घर बनाएका छन् ।

दुई दिदीबहिनीमध्ये कान्छी छोरी चिनाले अष्ट्रेलियामा मासिक डेढलाख भन्दा बढि कमाइ गर्ने बताउँदै यामवहादुर भन्छन्, ‘मेरा छोरा भएनन्, दुई बहिनी छोरीलाई नै छोरा मानेर हुर्काएँ, पढाएँ । अहिले दुईवटै छोरी स्वावलम्बी छन्, उनीहरुको भविष्य सुनिश्चित भएको छ, म धेरै खुसी छु ।’

विदेश गएका म्याग्दीका महिला आर्थिक रुपले सक्षम मात्र भएका छैनन्, समाजमा समेत महिलाले अवसरलाई सदुपयोग गर्न सक्छन् भन्ने सन्देश गएको छ । महिलालाई चुलाचौकामा सीमित र अवसरबाट वञ्चित भनिने गरेता पनि यो भनाइ पूर्णरुपमा सत्य नभएको म्याग्दीका महिलाले देखाएका छन् ।

विदेश गएर महिलाले ल्याउने सीप र उनीहरुको साहसिक जीवनले विदेश गएका महिलालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको देखिन्छ । यहिकारण वैदेशिक रोजगारीबाट फर्केका महिलालाई समाजमा मानसम्मान गर्ने, स्वागत गर्ने र नाचगान गरेर हर्ष मनाउने पनि देखिन्छ ।

केहीवर्ष अघिसम्म विदेश गएका महिलालाई नकारात्मक रुपमा हेर्ने प्रचलन भएपनि अहिले त्यस्तो नभएको जानकारहरु बताउँछन् । म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं महिला अधिकारकर्मी रेखाकौशल रेग्मी समयले परिवर्तनको गति लिएको प्रमाणित गर्ने आधारहरु महिला स्वावलम्वन भएपछि स्वतः देखिएको बताउँछन् । उनका अनुसार महिलाहरुको आर्थिक हैसियत राम्रो हुँदै गएपछि समाजले उनीहरुलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ ।

सहरीकरण तर्फ बेनी बजार

प्राध्यापक रेग्मी भन्छिन्, ‘महिला आर्थिक रुपमा शसक्त भएपछि सामाजिक हैसियत पनि राम्रो बनेको छ, अहिलेको उपभोक्तावादी समाजले व्यक्तिलाई मूल्याङ्कन गर्ने आधार भनेकै आर्थिक प्रगति भएकोले आर्थिक रुपमा सशक्त भएपछि यहाँका महिलाको सामाजिक हैसियत पनि राम्रो बनेको छ ।’

वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशमा गएका महिलाको मुख्य उदेश्य नै बढि भन्दा बढी पैसा कमाउने र घर परिवारको राम्रो व्यवस्थापन गर्ने देखिन्छ । महिलामा पनि  विवाहितले श्रीमान्, छोराछोरीलाई र अविवाहितले खासगरि बाबुआमालाई खर्च पठाउने गरेका देखिन्छन् । तर, पुरुषले विदेशमा कमाएर पठाएको पैसाको योगदान धेरै बयान भएपनि महिलाले पनि यति कमाएर पठाएका छन् र उनीहरुको कमाइ के, कसरी खर्च भएका छन्, कुनै हिसाब छैन । विदेश जाने चलन भएपनि महिलाले कमाएको सम्पत्तिको हरहिसाब छुट्टै राखिएको पाइँदैन । उनीहरुको कमाइ पनि पुरुष मार्फत नै रेमिट्यान्सको रुपमा भित्रिने हुँदा तथ्याङ्क राख्ने नगरिएको गरिमा विकास बैंकका कार्यकारी अधिकृत कमलप्रसाद ढुङ्गाना बताउँछन् ।

जिल्लामा त्यहाँबाट विदेश गएका महिलाकाे पनि तथ्याङ्क छैन । एक अनुमान अनुसार म्याग्दीबाट करिब २ हजार महिला वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा गएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार ३ वर्ष अघिसम्म दैनिक सरदर ४ जना महिलाले राहदानी बनाउने गरेकोमा अहिले त्यो संख्या बढेर सरदर दैनिक १० जना पुगेको छ । विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका महिला राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने गरेका छन् । कार्यालयका अनुसार यीनमा पनि खासगरि कक्षा १२ उतीर्ण गरेका र आर्थिक रुपले सबल युवतीहरु अष्ट्रेलिया, जापान कोरिया लगायत युरोपियन मुलुकमा जाने भन्दै राहदानी बनाउने क्रम देखिएकाे छ । (शर्मा म्याग्दीका पत्रकार हुन् ।) महिला खबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com