१२ औं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता इटहरीमा (भिडियो)


प्रकाशित मिति : चैत्र १७, २०७३ बिहीबार

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा हुने भएको छ । आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले इटहरीमा पत्रकार सम्मेलन गर्दै १२ औं संस्करणमा पूर्वाञ्चलको इटहरीमा सन् २०१८ मा गर्ने घोषणा गरेका गरे ।

पुर्वमा पहिलो पटक आइओएफटीसी हुन लागेको हो । यसअघि काठमाडौंमा २ पटक र पोखरामा एक पटक च्याम्पियनसिप भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने उद्देश्य रहेकाले आइओएफटीसी इटहरीमा गराउन आफूले पहल गरेको बताए ।

‘इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने लक्ष्य अनुसार यहाँ तेक्वान्दो कर्भडहल, ब्याडमिन्टनको कर्भडहललायतका पूर्वाधार निर्माण भइरहेका छन् । यसै सन्दर्भमा विश्वका विभिन्न देशका खेलाडी सहभागी गराउने आइओएफटीसी यहाँ गराउँदा ठूलो महत्व राख्ने छ,’ सदस्यसचि विष्टले भने ।

उनले अस्ट्रेलियामा गर्ने तयारीमा रहेको च्याम्पियनसिपलाई नेपालमा गर्नका लागि आफूले आग्रह गरेको बताए । अमेरिकाको पोर्टल्यान्डमा सन् २०१६ को १४ र १५ अक्टोबरमा भएको ११ औं संस्करणमा सहभागी भएर फर्के पछि आफू सो प्रीतयोगिताप्रति उत्साहित भएको बताउँदै सदस्यसचिव विष्टले सो प्रतियोगिता भव्य बनाउनका लागि राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एबीसी टेलिभिजनमा प्रशारित कार्यक्रम टक अफ द टाउनमा दिवाकर महर्जनसँगको अन्तरवार्ता

प्रत्येक दुई वर्षको अन्तरमा हुने च्याम्पियनसिप नेपाललगायत दक्षिण एसियाबाट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागीता रहने छ भने अमेरिका, क्यानडा, इग्ल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, कोरिया, ग्वाटेमालालगायत देशहरुबाट करिब ५ सय खेलाडीहरुको सहभागीता रहने प्रतियोगिता निर्देशक महर्जनले बताए ।

न्युयोर्कमा बस्दै आउनुभएका संचारकर्मी किशोर पन्थी आइओएफटीसीले खेल, पर्यटन र संस्कृतिको विकासमा आईओएफटीसीले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । अहिलेसम्म आइओएफटीसीमा नेपाल र अमेरिका चार/चार पटक टिम च्याम्पियन भएका छन् ।

युके २ पटक र हङकङ १ पटक च्याम्पियन भएको छ । ‘स्पाइरिङ र पुम्सेमा प्रतिस्पर्धा गराइने छ भने जुनियर खेलाडीलाई समेत समावेश गराउने लक्ष्य राखेका छौं,’ महर्जनले भने । पत्रकार सम्मेलनमा पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकी, सुनसरी जिल्ला खेलकुद समितिका अध्यक्ष धनप्रसाद राई, नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य टार्जन सुब्बा, युयुएनटिएफका उपाध्यक्ष फणिन्द्र खड्कालगायतको उपस्थिति थियो ।

समाचार श्रोत : राष्ट्रिय खेलकुद परिषद्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com