आत्मवल कहिले कमजोर हुन दिइन, र कोरोनालाई जितें : न्युयोर्क निवासी जीवन बमको अनुभव


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

– जीवन बम

कोरोना भाइरस आफैमा डरलाग्दो नभएपनि हामी सावधानी नपनाएर हामीले डराएर डरलाग्दो बनाइरहेका छौं । कोरोना भाइरसको संक्रमण भइसकेपछि वा लक्षण देखिएपछि सबैभन्दा पहिले परिवारबाट टाढा बस्नुपर्छ । किनभने आफूलाई संक्रमण भएपछि अरुलाइ सर्ने सम्भावना हुने भएकाले यसबारेमा सावधानी अपनाउनुपर्छ ।

मलाई सुरुमा ज्वरोको लक्षण देखिएपछि विस्तारै खोकी र स्वासप्रश्वासमा समस्या भयो । यदि तपाईमा पनि यस्तो समस्या आएको खण्डमा परिवारबाट अलग बस्नुपर्छ । परिवारमा धेरै मान्छे छ भने पनि अलग बस्नुपर्छ । संक्रमण भएपनि वा लक्षण देखिएपनि आत्तिनुहुँदैन । कोरोना संक्रमण हुँदैमा मरिहाल्छु भनेर पनि सोंच्नुहुँदैन । तर हेलचेक्राई गरेमा भने कोरोनाको संक्रमणले नराम्रो रुप लिनसक्छ ।

मलाई कोरोना संक्रमण भइसकेपछि पनि मैले कहिले आफ्नो आत्मवल कमजोर हुन दिइन । सुरुमा घर परिवार र साथीहरुलाई यसबारेमा बताएँ र टाढा बस्न भनें । सुरुमा ज्वरो आएपनि पछि च्याप्दै गयो । शरिरमा यस्तो पीडा भयो कि मान्छेले पिटेर छाडेजस्तो अनुभव भयो । तर पनि आत्मवल कमजोर हुन दिइन ।

तपाईमा पनि कोरोनाको संक्रमण भएमा आत्मबल कमजोर हुन नदिनुहोला । सामान्य लक्षण देखिए टाइलानोल खाएपनि हुने रहेछ । तर सन्चो नभए नजिकको अस्पतालमा इमर्जेन्सीमा गएर चेक अप गराउनुपर्छ । अस्पतालमा गएपछि राम्रो उपचार हुन्छ । मेरो कोही छैन भनेर कहिले पनि कमजोर अनुभव गर्नुहुँदैन । अन्तिम अवस्थामा मात्र अस्पताल गएमा अलग कुरा हो । नत्र उपचार सम्भव छ । अवस्था धेरै खराब नहुँदै सचेत भएर अस्पताल गएमा सन्चो हुन्छ ।

अहिले नेपाली समुदायमा थर्मामिटर र अक्सिजन नाप्ने मेसिन उपलब्ध गराउन सकेमा राम्रो हुनेछ । टाइलोनोल त आफै किनेर पनि खान सकिन्छ । त्यसैले ज्वरो नाप्ने र अक्सिजन नाप्ने मेसिन जरुरी छ । अक्सिनको लेभल र ज्वरो पत्ता लगाउन नसके आफैमा अलमल हुनेछ । त्यसैले समाजका अगुवाहरुले थर्मामिटर र अक्सिजन नाप्ने मेसिन उपलब्ध गराउन सके रामो हुनेछ । घरमै बस्दा सेनिटाइजर अनिवार्य नहुन सक्छ । किनभने घरमा साबुन पानीले हात धुन पनि सकिन्छ ।

अन्त्यमा, कोरोनाको लक्षण देखिएमा वा संक्रममण भएमा नआत्तिनुहोला । लक्षण देखिएको खण्डमा अरुलाई बताउनुहोला । आफू अलग्गै बस्नुहोला । र, अरुको नजिक गएर सार्ने काम नगर्नुहोला ।

कोरोना संक्रमणपछि केहीदिन अस्पतालमा भर्नाभएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएका न्युयोर्क निवासी नेपाली जीवन बमले वासिंटन डिसीमा रहेको नेपाली दूतावासले आयोजना गरेको कन्फ्रेन्स कल बैठकमा व्यक्त गर्नुभएको अनुभव र दिनुभएको सुझाव ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com