कोरोना महामारीबाट सबैलाई सुरक्षित राख्न एक भएर काम गरौं : नेपाली समुदाय


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण अमेरिका यती बेला इपिसेन्टर बनेको छ । अमेरिकामा दैनिक हजारौंको संख्यामा संक्रमित थपिएका छन्, भने मृतकको संख्यामा पनि बढ्दो छ । अमेरिकामा हाल सम्म एक जना गैरआवासीय नेपाली अनिल लिम्बुले ज्यान गुमाउने परेको अवस्था छ । साथै अन्य केहीमा संक्रमण पुष्टि भएको छ । साथै न्यूयोर्क क्षेत्रमा करिव ३० जनाको संख्यामा कोरोना लागेको हुन सक्ने बताइन्छ । नेपालीहरुले आफुलाई कोरोना लागेको भएपनि सुचना गोप्य राख्ने गरेका कारण यकिन तथ्याङक प्राप्त हुन सकेको छैन् ।

यद्यपी बिरामीको संख्यामा भने बढ्दो रहेको यहाँ सक्रिय रहेका सामाजिक अभियान्ताहरु बताउँछन् । न्यूयोर्क क्षेत्रमा संक्रमित नेपालीहरुको संख्या बढ्दै गएपछी यहाँका सामाजिक अभियान्ताहरुले असक्क्त, बिरामीहरुका लागि घरघरमा औषधी लगायतका अत्यावश्यक सामाग्री पुराउने काम गरिरहेका छन् । यसै सन्दर्भमा हिजो शनिवार जनसम्पर्क समिति अमेरिका पूर्व संयोजक बिष्णु सुवेदीको संयोजकत्वमा अमेरिकाका बिभिन्न राज्यमा काम गरिरहेका बैज्ञानिक, चिकित्सक, ब्यापारी, बुद्धिजीवी, पत्रकार, बिभिन्न संघ सस्थाका प्रतिनिधि सहभागि कन्र्फेन्स बैठक गरिएको छ । बैठकमा सहभागि सबैले कोरोनाको महामारीबाट सबैलाई सुरक्षित राख्नका लागि एक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त बैठकमा खसोखासका कार्यकारी सम्पादक अनिल अधिकारी समेत सहभागि हुनुहुन्थ्यो । बैठकमा करिव ५० जना सम्वन्धित बिषयमा बिज्ञता हासिल गरेकाहरु, बिभिन्न संघ सस्थाका अध्यक्ष, पदाधिकारी लगायत सामाजिक रुपमा काम गरिरहनु भएका प्रतिनिधि पात्रहरु सहभागि हुनुहुन्थ्यो । प्रस्तुत छ, बैठकमा सहभागिहरु मध्ये केही सहभागिहरुको भनाई ।

बिष्णु सुवेदी : पूर्व संयोजक जनसम्पर्क समिति अमेरिका
कोरोना भाइरस संक्रमणका कारण अमेरिका रहेको नेपाली समुदाय पनि यती बेला त्रसित छ । हामी अमेरिका रहेका नेपालीहरु एक जुट भएर यो महामारीबाट बच्नका लागि सचेतना अपनाउनुपर्ने छ । साथै संक्रमित नेपाली समुदायलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने हेतुले हामीले बैठक राखेको हौं । बैठकमा अमेरिकामा रहेका धेरै व्यक्तित्वहरु सहभागी हुनु भयो, यसले हामी बिषम परिस्थितमा एक छौं भन्ने सन्देश पनि दिएको छ । अहिले एनआएनएन अमेरिका न्यूयोर्क च्याप्टरले एउटा समुह बनाएर काम गरिरहेको छ । हामी सबै मिलेर प्रभावित नेपालीहरुलाई कसरी बचाउने भन्नेमा केन्द्रित हुनुछ । साथै संक्रमण पुष्टि भएका नेपालीहरुलाई राख्न एउटा सेल्टरको आवश्यकता छ । यसर्थ हामी त्यस बारेमा पनि छलफल गरौं । साथै सेनिटाइजर, मास्क, पञ्जा, सिटामोल, थर्मोमिटर लगायतका अत्यवश्यक वस्तुहरु कसरी जुटाउने भन्ने बारेमा छलफल गरेका छौं । सबैले आआफ्नो हिसावले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसर्थ छलफलले हामीलाई थप उर्जा प्राप्त भएको छ ।

खगेन्द्र क्षेत्री : कानुन व्यवसायी
अमेरिकाको अवस्था बारेमा हामी सबै जानकार छौं । नेपाली समुदायलाई कसरी यस संक्रमणबाट बचाउने भन्ने बारेमा गरिएको यो छलफल साँचिकै अर्थपूर्ण छ । अहिले अमेरिकामा कागची प्रकृया पुरा नगरेका धेरै व्यक्तिहरु हुनुहुन्छ । वहाँहरुले आफुसंग मेडिकल इन्स्योरेन्स नभएको र कसरी अस्पतालमा उपचार गर्ने भन्ने डरमा हुनुहुन्छ । यसमा डर मान्नुपर्ने केही छैन् । तपाई अस्पताल जाँदा तपाई कुन स्टाटसमा हुनुहुन्छ भनेर सोधिन्न । तपाईहरु निर्धक्क अस्पताल गएर आफुलाई चेकअप गर्न सक्नुहुन्छ । साथै अहिले कोर्टका कामहरु रोकिएका छन्, केही समयपछी अर्को सुचना जारी हुन्छ अनि हामी सार्वजनिक रुपमा जानकारी दिनेछौं ।

डा. केशव पौडेल : चिकित्सक, पूर्व अध्यक्ष एनआरएनए अमेरिका
हामी अहिले त्रसित अवस्थामा छौं । शंका उत्पन्न हुनु सामान्य हो तर यो रोग लागि हालेमा मान्छेको मृत्यु हुँदैन् । ८० प्रतिशत व्यक्तिको यो रोगका कारण मृत्यु हुँदैन् । यदी यो भाइरस लागेको छ र अर्को रोग पनि पहिले देखीनै थियो भने त्यत्ति बेला डराउनुपर्ने हो । यती बेलाको अचुक औषधी भनेको घरमै सेल्फ क्वारेन्टाइनमा बस्नु हो । सक्भर सार्वजनिक यात्रा नगर्नुस । केही शंका लागेमा अस्पताल जानुस, अस्पताल जाँदा मुखमा मास्क अनि हातमा पञ्जा लगाउनु होला सार्थै अस्पताल पुगेछी अर्को व्यक्ति भन्दा केही पर बस्नु होला ।

बासु फुलारा : कानुन व्यवसायी
हामी यती बेला एकले अर्कोलाई सहयोग गर्ने बेला हो । मैले यतीबेला दैनिक कानुनी तथा अन्य परामर्श संचालन गरिरहेको छु । मेरो कार्यलयमा फोन गर्नुभयो भने म आवश्यक सुचना दिनेछु । कागची प्रकृया पुरा नगरेकाहरु अस्पताल जाँदा डिर्पोट गर्छ भन्ने हल्ला चलाइएको छ । त्यसमा कुनै सत्यता छैन् । तपाई निर्धक्क अस्पताल गएर उपचार गर्नुस । म आवश्यक सहयोग गर्न हरदम तयार छु ।

बिराज रिजाल : प्रमुख कार्यकारी अधिकृत एभरेष्ट फेडरल क्रेडिट यूनियन
अहिले अमेरिकी सरकारले प्रत्येक करदातालाई १२ सय अमेरिकी डलर दिने भनेको छ । त्यस्तै बिवाहित जोडीलाई २४ सय र बच्चा भएमा थप ५ सय दिने कुरा सबैले थाहा पाइसेका छौं । साथै यस भाइरसका कारण बेरोजगार हुनुभएकाहरुका लागि स्टेट र फेडरलबाट बरोजगारी भत्ता सुविधा लिन सकिन्छ । यसर्थ सबैले तुरुन्तै यसलाई एप्लाई गरिहाल्नुस ।

रामहरी अधिकारी :अध्यक्ष : एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर
हामीले अहिले न्यूयोर्क क्षेत्रमा सहयोगको कार्यक्रम चलाएका छौं । जसबाट हामीले असक्क्त, बिरामीहरुका लागि घरघरमा औषधी पुराउने तथा अत्यावश्यक सामाग्री पुराउने काम गरेका छौं । यसमा सयौंको संख्यामा साथीहरु जोडिनु भएको छ । आउनुस तपाई हामी मिलेर यो महामारीमा पर्नु भएकाहरुलाई सहयोग गरौं । साथै हामीलाई थर्मोमिटर, सेनिटाइजरको माग धेरै आएको छ, यसर्थ तपाईले कहिँ कतै पाउनु भयो भने एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

बिकासराज न्यौपाने : काब अध्यक्ष नेजा
अहिले भाइरसका समाचारलाई तोडमोड गरेर बिभिन्न अनलाइनहरुले समाचार बनाईरहेका छन् । तपाईहरुले आधिकारीक रुपमा पुष्टि भएका संचार सस्थाहरुलाई मात्रै फलो गर्नुस । नेपाल अमेरिका पत्रकार संघ पनि तपाईहरुको आफ्नो संस्था हो, हामी समुदायसंग सहकार्य गरेर अगाडी बढ्न तयार छौं ।

यादव बास्तोला : समाजसेवी
हामीले अहिले सामाजिक संजालमा एउटा समुह बनाएर समुदायलाई सहयोग गर्ने कार्यक्रम गरिरहेका छौं । हामीसंग धेरै साथीहरु जुटिरहनु भएको छ । आउनुस मिलेर आफु सुरक्षित रहेर सहयोगी काम गरौं ।

प्रमोद सिटौला : जनसम्पर्क समिति नेता
अहिले हामीलाई फेसबुकमा हल्ला गर्ने होइन्, फिल्डमा काम गर्ने साथीहरु चाहिएको छ । तर आफु जोगिएर मात्रै । अनि अहिले सामाजिक सञ्जालमा धेरै सहयोगका नाममा व्यक्तिहरु सल्बलाईरहेको पाइन्छ । कृपया सहयोगीहरुले व्यक्तिलाई पैसा या अन्य सामाग्री दिँदा ख्याल गर्नुहोला । अहिले एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरले काम गरिरहेको छ । न्यूयोर्कमा केही सहयोग गर्नुपरेमा त्यही संस्था मार्फत गरौं भन्ने आग्रह गर्दछु ।

मनिता गुरुङ : समाजसेवी
अहिले हामी फिल्डमा पुगेर व्यक्तिहरुलाई आवश्यक सामाग्री डेलिभरी गरिरहेका छौं । हामीले हाम्रो दायित्व मात्रै पुरा गरेका हांै, आउनुस सबै जना मिलेर यो महामारीको सामना गरौं ।

पुष्पराज भट्टराई : कार्यवहाक महाबाणिज्यदूत : महाबाणिज्यदूतावास न्यूयोर्क
बाणिज्यदूतावास आफ्नो जिम्मेवारी र कर्तव्य बारेमा जानकार छ । हामीले दैनिक कार्यलय खोलेर यहाँ रहनु भएका नेपालीहरुको सेवा गरिरहेका छौं । आवश्यक सुचना तथा सहयोग गरिरहेका छौं । अहिले नेपालीहरुमा संक्रमण बढ्दै गएको बारेमा सबैले कुरा राख्नु भयो यस परिस्थितिलाई हेर्दा हामी थप सचेत हुनुपर्ने अवस्था छ । बैठकमा सहभागि सबैको कुरा मैले सुनेर टिपोट समेत गरेको छु । यसर्थ यो सुझावलाई म लिखित रुपमै नेपाल सरकार समक्ष पठाउने प्रतिवद्धता जनाउँछु । अहिले घरमै सुरक्षित रुपमा घरमै बस्नु होला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com