युएससीआईएसमा थपकागजात पेश गर्नुपर्ने ग्रिनकार्ड र भिसा आवेदकलाई थप ६० दिन मौका


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

कोरोना भाइरसको महामारीका कारण अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले विभिन्न आवेदनमा थपकागजात मागेका र आवेदन अस्वीकार गर्ने आशयको सुचना पठाएकाहरुलाई कागजात पेश गर्नलाई थप ६० दिनको मौका दिएको छ । युएससीआईएसले एक सुचना जारी गर्दै थप कागजात पेश गर्नेहरुका लागि थप ६० दिनको अवधि दिएको हो ।

मार्च १ देखि मे १ भित्र थप कागजात मागेको वा आवेदन अस्वीकार गर्ने आशयको पत्र प्राप्त गरेकाहरुलो थप ६० दिनको अवधि पाउने भएका छन् । युएससीआईएसले थप कागजात मागेको अवस्थामा ९० दिनको अवधि र आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गरेको अवस्थामा ३० दिनको अवधि प्रदान गर्दै आएको छ ।

तर अब मार्च १ देखि मे १ भित्र थप कागजात मागेको अवस्थामा ६० दिनको अवधि थपेर १५० दिनभित्र कागजात पठाउन सकिने र आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गरेको अवस्थामा ६० दिन थपेर ९० दिनभित्र थप कागजात पठाउन सकिने अमेरिकाका चर्चित कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभयो ।

युएससीआईएसले विभिन्न प्रकारका भिसा र ग्रिनकार्डका आवेदनमा थप कागजात माग्ने वा आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गर्ने गर्दै आएको छ । एसाइलम लगायतका आवेदनमा समेत आवेदन अस्वीकार गर्ने आशयको पत्र जारी गरिदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com