म्यादी प्रहरीमा आवेदन दिनेको घुँइचो


प्रकाशित मिति : चैत्र १५, २०७३ मंगलबार

-हुमाकान्त पोखरेल

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आह्वान गरेसंगै फाराम भर्नेहरुको घुँइचो लागेको छ ।

नेपाल प्रहरीले शुक्रबार सूचना प्रकाशित गर्दै ७५ हजार म्यादी प्रहरीको भर्ना आह्वान गरेको थियो । गुल्मी, अर्घाखाँची, प्युठान र बाग्लुङ्ग लगायतका स्थानबाट दरखास्त फाराम भर्न आउनेको जिल्ला प्रहरी कार्यालयमा भिड लागेको छ । अहिले सम्म फाराम भर्नेको संख्या दुई सय पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।

धुर्कोट गाउँपालिका १ नयाँगाउँका ४५ बर्षिय ज्ञान बहादुर मल्ल पनि म्यादी प्रहरीको फाराम भर्न सदरमुकाम आएका छन् । उनी ०७० को चुनावमा पनि म्यादी प्रहरीमा काम गरिसकेका छन् । पहिले पनि म्यादी प्रहरीमा काम गरेकाले छनौट हुनेमा विश्वस्त छन उनी । ‘गाउँमा खाली बसेर के गर्ने, मल्लले भने,’ ‘केहि दिनलाई भएपनि पैसा र अनुभव दुवै हुन्छ ।’ सोहि स्थानका ३३ बर्षिय मधु कुँवर पनि ४० हजार दिने सुनेर आवेदन दिन आए । ‘पार्टीका नेता घरमै आएर नजान भन्थे, उनले भने,’ जुन पार्टी पनि उस्तै हुन, ४० हजार भए साहुको क्रृण तिरिन्छ भनेर फाराम भर्न आएको ।’ यस अघिको चुनावमा म्यादी प्रहरीमा अयोग्य भएका इस्मा गाउँपालिका १ का ३५ बर्षिय भिम बहादुर कुमालले फेरी पनि फाराम भरेका छन् । ‘हिम्मत हारेको छैन, सकेसम्म दौडने प्रयास गर्छु, उनले भने,’ ‘भएँ भने त सानो तिनो साहुको क्रृण तिरिन्छ ।

इस्मा गाउँपालिका ३ दर्लामचौरका ५० बर्षिय जंग बहादुर महतलाई यो पटक पनि म्यादी प्रहरीमा जागिर खाने रहर छ । उनी यो भन्दा अगाडीका दुई वटा निर्वाचनमा म्यादी प्रहरीमा भर्ति भएका थिए । यो पटक पनि भैहालिन्छ की भनेर आएको बताए । ‘उमेर त ढल्कियो तर जाँगर उस्तै छ, उनले भने,’ ‘खाली बसेर के गर्ने ? केहि समय खटे दुई÷चार पैसा कमाइन्छ ।’ सोहि ठाउँका ३४ बर्षिय यमराजा महत बिदेश जाने तयारीमा छन् । तर भिसा आउने बेला सम्मको खाली समय म्यादी प्रहरीमा दिने सोचका साथ फाराम भर्न सदरमुकाम आएका छन् । उनी द्धन्द्धकालमा नेपाली सेनाको जागिर छोडेर घर फर्किएकाले छनोट हुनेमा आशा व्यक्त गरे । रेसुङ्गमा बहुमुखि क्याम्पको स्नातक दोस्रो बर्षमा अध्धयन गर्ने मुसिकोट नगरपालिका २ की अमृता घिमिरेलाई पनि म्यादी प्रहरीमा भर्ति हुने रहर जागेको छ । केहि समय पढाई प्रभावित भएपनि छनौट भइहाले पढाई खर्च हुने उनको भनाई छ ।

दोस्रो संविधान सभा निर्वाचनमा म्यादी प्रहरीमा दर्खास्त हाल्न ५० वर्षको उमेर हद तोकिएकोमा यसपाली बढाएर ५४ वर्ष पुर्याइएको छ । जसले गर्दा म्यादी प्रहरीमा भर्ना केहि पाका व्यक्तिहरु पनि रहेका छन् । म्यादी प्रहरीका लागि पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्ने प्रहरी उपरिक्षक भोला रावलले बताए । हरेक म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाए सरहको तलव भक्ता तथा सेवा सुविधा पाउनेछन ।

म्यादी प्रहरीका लागि प्राप्त दरखास्तबाट चैत १९ गतेबाट २१ गतेसम्म छनौट हुने रावलले बताए । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको छनौट समितिले म्यादी प्रहरी छनौट गर्ने उनले बताए । जिल्लाका लागी कति कोटा भन्ने केहि निर्देशन नआए पनि पाँच/छ सय प्रहरी आवश्यकता पर्ने बताए । अन्तिम नतिजा चैत २२ गते प्रकाशन गरिने छ । म्यादी प्रहरीको सेवा अवधी ५५ दिनको हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com