अत्यावश्यकबाहेक अरु काममा कार्यालय नआउन न्युयोर्कका नेपाली कानुन व्यवसायीको आग्रह


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

न्युयोर्कका नेपाली कानुन व्यवसायीहरुले अत्यावश्यक बाहेक अन्य कामका लागि कार्यालयमा नआउन र आउनुअगाडि फोन सम्पर्क गर्न अनुरोध गरेका छन् । उनीहरुले सेवाग्राहीका लागि आफ्ना सेवाहरु सिमित गरेको बताएका छन् ।

न्युयोर्कको ज्याक्सनहाइटमा कार्यालय रहेका कानुन व्यवसायी गिरिजा गौतमले आफ्नो कार्यालय खुल्ला रहेपनि आन्तरिक र अफिसियल कामहरुमात्र गरिरहेको जानकारी दिनुभयो । सकभर फोनमा समाधान हुने विषयका लागि कार्यालयमा नआउन उहाँले सेवाग्राहीहरुलाई सुझाव दिनुभएको छ ।

अत्यावश्यक भएमा स्वास्थ्य सम्बन्धि मापदण्डहरु पूरा गर्नका लागि सम्झाउने गरेको उहाँले बताउनुभयो । अत्यावश्यकबाहेकका भेटघाटहरु स्थगित गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै न्युयोर्कको म्यानहटनमा कानुन व्यवसाय संचालन गर्दै आउनुभएका कानुन व्यवसायी रमेश श्रेष्ठले कार्यालयका सबै नयाँ अप्वाइन्टहरु बन्द गरेको जानकारी दिनुभयो । नयाँ सेवाग्राहीलाई अत्यावश्यकबाहेकका काममा कार्यालयमा नआउन उहाँले सुझाव दिनुभएको छ । साथै आउनुभन्दा अगाडि फोन सम्पर्क गर्न सुझाव दिनुभएको छ ।

अध्यागमन अदालतमा मास्टर क्यालेण्डर सुनुवाईबाहेक अन्य सुनुवाईहरु जारी रहेकाले आफू नियमित अदालत र युएससीआईएसमा गइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले अनलाइनमा गर्न मिल्नेजति काम अनलाइनमार्फत नै गर्न सेवाग्राहीहरुलाई सुझाव दिनुभएको छ । कसैको म्याद गुज्रन लागेको वा अत्यावश्यक काम भएमा मात्र अप्वाइन्टमेन्टका लागि सम्पर्क गर्न उहाँले सुझाव दिनुभयो ।

त्यस्तै क्षेत्री एण्ड एसोसिएट्स पीसीका कानुन व्यवसायी खगेन्द्र जीसी अत्यावश्यक बाहेकका अप्वाइन्टहरु बन्द गरिएको र सेवाग्राहीलाई अत्यावश्यक बाहेक अन्य काम र सोधपुछका लागि कार्यालयमा नआउन अनुरोध गर्नुभएको छ । कार्यालयमा भींडभाड हुन नदिन यस्तो मापदण्ड अपनाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिलेसम्म सुनुवाईका लागि अदालत गइरहेका छौं । तर न्यायाधिसहरु तर्सिएका छन्, सरकारी वकिलहरु तर्सिएका छन्,अनुवादकहरुको अभाव छ ।’

उहाँले सार्न मिल्ने युएससीआईएसका अप्वाइन्टमेन्टहरु सकभर अर्को मितिमा सार्न सेवाग्राहीहरुलाई सुझाव दिनुभएको छ । अत्यावश्यकबाहेकका कामहरु घरबाटै गरिरहेको र फोन तथा इमेल गर्न उहाँले सेवाग्राहीहरुलाई अनुरोध गर्नुभएको छ ।

त्यस्तै कानुन व्यवसायी बासु फूलाराले बुधबार विहानदेखि घरबाटै काम गर्ने जानकारी दिनुभएको छ । टाइम्स स्क्वायरमा रहेको आफ्नो कार्यालय अर्को महिनासम्मका लागि बन्द रहने र सबै सेवाग्राहीलाई फोन वा इमेलमार्फत सम्पर्क गर्न उहाँले सुझाव दिनुभएको छ ।

त्यस्तै कानुन व्यवसायी केशवराज सेडाईले पनि अफिसियल र आन्तरिक बाहेकका अरु काम नगरेको जानकारी दिनुभएको छ । प्रत्यक्ष भेट्न चाहने सेवाग्राहीलाई फोन सम्पर्क गर्न आग्रह गर्दै उहाँले भेट्न अत्यावश्यक भएको खण्डमा मात्र भेट्ने जानकारी दिनुभएको छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा पारालिगल सेवा दिदै आउनुभएका स्वातन्त्र पारालिगल मनमोहन सिंह घिमिरेले पनि आफ्नो कार्यालय बन्द गरेको जानकारी दिनुभएको छ । उहाँले इमेल र हुलाकमार्फत काम गर्ने जानकारी दिनुभएको छ । सेवाग्राहीले फोन सम्पर्क गरेपछि आफूले कसरी अगाडि बढ्ने भन्ने प्रकृयाबारे जानकारी दिने उहाँले बताउनुभयो । तर व्यक्तिगत भेटघाटका सम्पूर्ण अप्वाइन्टमेन्ट स्थगित गरिएको उहाँले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com