तीनदिने नेपाल भ्रमण सकेर चिनियाँ रक्षामन्त्री चाङ स्वदेश फिर्ता


प्रकाशित मिति : चैत्र १२, २०७३ शनिबार

काठमाडौँ । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्नुभएको थियो ।

रक्षामन्त्री खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका जनरल चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री खाँणसँग पनि उहाँले द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो । नेपाल र चीनबीच परापूर्वकालदेखि नै मित्रवत् सम्बन्ध रहिआएको छ ।

चीनले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग पु-याउँदै आएको छ भने असंलग्न परराष्ट्रनीति र पञ्चशीलको सिद्धान्तमा आधारित हाम्रो परराष्ट्र सम्बन्धले एकअर्काको शान्तिपूर्ण सहअस्तित्वलाई सम्मान गर्दै आएको छ ।

रक्षामन्त्री खाँणले चिनियाँ समकक्षीसँगको भेटवार्तामा नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको र हामी हाम्रो भूमिमा छिमेकी मित्रराष्ट्रको विरुद्धमा कुनै पनि गतिविधि गर्न दिने छैनौँ भनी विश्वास दिलाउनुभएको थियो ।

प्रधानसेनापति राजेन्द्र क्षत्री र जनरल चाङबीच भएको भेटवार्तामा दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण १६ वर्षपछि भएको हो । चिनियाँ रक्षामन्त्रीले आजै वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको थियो । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप योगदान पुगेको रक्षामन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com