महिला विजयी गराउने लक्ष्यका साथ उम्मेदवारको छनोट गर्न आग्रह : आयुक्त यादव


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले उम्मेदवारको छनोट गर्दा महिला विजयी गराउने लक्ष्यका साथ गर्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले आज आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा लैङ्गिक तथा समावेशी सहभागितासम्बन्धी संवाद तथा अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए । स्थानीय तह निर्वाचन ऐनले प्रत्येक वडामा दुई महिलामध्ये एक दलित महिला हुनैपर्ने पनि व्यवस्था गरेको छ ।

डा. यादवले निर्वाचनको प्रसारप्रसार तथा उम्मेदवारीदेखि मतदानसम्मका कार्यमा महिला, दलित, अल्पङ्ख्यकलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरे । यस्तै आयुक्त नरेन्द्र दाहालले स्थानीय तह निर्वाचनले समावेशी पक्षलाई प्राथमिकता दिएको बताउँदै सक्षम उम्मेदवार उठाएर लोकतन्त्रको जगलाई बलियो बनाउने कार्यमा सहयोग गर्न दलका नेतासँग आग्रह गरे ।

आयोगका सहसचिव दीपक सुवेदीले पुरुष र महिलाको समान पहुँच स्थापित गर्न कानुनी व्यवस्था भएकाले त्यसको प्रयोग व्यवहारमा आउनुपर्ने बताए। आयोगका सहसचिव नवराज ढकालले ‘स्थानीय तह निर्वाचनमा लैङ्गिक तथा समावेशी सहभागिता’ र उपसचिव मुकुन्द शर्माले ‘लैङ्गिक सहभागिताको अवस्था’बारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

आयोगले ‘स्थानीय तहमा लैङ्गिक तथा समावेशी सहभागिता’ विषयमा आयोगमा दर्ता भएका राजनीतिक दलमध्ये पहिलो चरणमा आज ५० राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया गरेको हो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com