अमेरिकाको राष्ट्रपति चुनाव : अगाडि अगाडि बाइडेन, पछि पछि बर्नी, ब्लुमबर्गलाई बज्रपात
प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार
अमेरिकाका १४ राज्य र अमेरिकन सामाओमा आज सम्पन्न डेमोक्रेटिक प्राइमरीमा अग्रपंक्तिमा जो बाइडेन देखिएका छन् । उनले विभिन्न ८ राज्यमा जित्ने लगभग निश्चित भएको छ भने बाइेडनका पछि पछि बर्नी स्याण्डर्स देखिएका छन् । बर्नीले तीनराज्यमा जित्ने निश्चित देखिएको छ । माइक ब्लुमबर्गले भने अमेरिकन सामोआमामात्र जितेका छन् ।
एपीका अनुशार अहिलेसम्म बाइडेनले ३६० डेलिगेट जितेका छन् भने बर्नीले २८० डेलिगेट जितेका छन् । माइक ब्लुमबर्गले ३० र एलिजावेथ वारेनले २० डेलिगेट जितेका छन् । यो सुपर ट्युजडे अगाडिका प्राइमरी र ककसलाई समेत जोडेर तयार पारिएको हो, जसमा ब्लुमबर्गले भाग लिएका थिएनन् । सबैभन्दा कमजोर तुल्सी गब्बार्डले एकजनामात्र डेलिगेट प्राप्त गरेकी छिन् ।
अब ४१५ डेलिगेट छानिने क्यालिफोर्निया र २२८ डेलिगेट छानिने टेक्सासतिर सबैको ध्यान गएको छ । टेक्सासमा झिनो मतान्तरले स्याण्डर्स अगाडि छन् भने उनलाई बाइडेनले पछ्याइरहेका छन् । ब्लुमबर्ग तेश्रोमा छन् ।
आजका प्राइमरी र ककसबाट १३४४ प्रतिबद्ध डेलिगेटहरु छनौट हुनेछन् ।
अलाबामाबाट ५२ डेलिगेट, अमेरिकन सामोआबाट ६, अर्कान्सासबाट ३१ डेलिगेट छानिनेछन् भने सबैभन्दा धेरै क्यालिफोर्नियाबाट ४१५ डेलिगेट छानिनेछन् । कोलोराडोबाट ६७, मेनबाट २४, मासाचुसेट्सबाट ९१, मिनेसोटाबाट ७५, नर्थ क्यारोलिनबाट ११०, ओक्लाहोमाबाट ३७, टेनेसीबाट ६४ र टेक्सासबाट २२८ डेलिगेट छानिनेछन् ।
त्यस्तै युटाहबाट २९, भर्मोन्टबाट १६, भर्जिनियबाट ९९ डेलिगेटको छनौट गरिनेछ । जुन उम्मेदवारले धेरै मत प्राप्त गर्नेछन्, ती उम्मेदवारले नै धेरै डेलिगेट प्राप्त गर्नेछन् । अमेरिकी राष्ट्रपतिको डेमोक्रेटिक उम्मेदवार बन्नका लागि १९९१ प्रतिबद्ध डेलिगेटसहरु आफ्नो पक्षमा हुन जरुरी छ । अमेरिकाभर कुल प्रतिबद्ध डेलिगेटहरुको संख्या ३९७९ हुनेछ ।
डेमोक्रेटिक पार्टीका राज्यका प्राइमरीहरु र ककसहरुमा मतदाताहरुले सम्भावित राष्ट्रपति उम्मेदवारहरुलाई मतदानमार्फत चुन्छन् । बन्द प्राइमरी वा ककसमा रजिस्टर्ड मतदाताहरुलेमात्र भोट हाल्न पाउँछन् ।
हरेक प्राइमरी र ककसमा डेलिगेट्सहरुको निश्चित नम्बर हुन्छ । उनीहरुले राष्ट्रिय महाधिवेशनमा आफ्नो राज्यको प्रतिनिधित्व गर्छन् । प्राइमरी वा ककसबाट जुन उम्मेदवारले आफ्नो पक्षका धेरै डेलिगेट्सहरु प्राप्त गर्छ, त्यही उम्मेदवारले राष्ट्रिय महाधिवेशन मार्फत प्राइमरी जितेर राष्ट्रपतिको अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउँछ । पार्टीका आफ्ना स्वतन्त्र डेलिगेट्स र सुपरडेलिगेट्स पनि हुन्छन् । स्वतन्त्र वा सुपरडेलिगेटहरु कुनै निश्चित उम्मेदवारलाई मतदान गर्न बाध्य हुँदैनन् ।
डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन
डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जुलाई १३ देखि १६ सम्म हुनेछ । यो महाधिवेशनबाटै राष्ट्रपति र उपराष्ट्रतिका लागि पार्टीका तर्फबाट अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ । ककस र प्राइमरीबाट छानिएका डेलिगेटसहरुले जुन उम्मेदवारका लागि छानिएका हुन्, त्यही उम्मेदवारलाई मत हाल्नुपर्छ भने स्वतन्त्र र सुपरडेलिगेटले आफूले चाहेको उम्मेदवारलाई मत हाल्न पाउँछन् ।
पहिलो राउण्डमा मतदान हुँदा उम्मेदवारका प्रतिबद्ध डेलिगेटहरुलेमात्र भोट हाल्न पाउँछन्, यति उनीहरुले भोट हाल्दा कसैको पनि बहुमत नआएमा स्वतन्त्र डेलिगेटहरुले भोट हाल्न पाउँछन् । पहिलो राउण्डमा कसैको पनि बहुमत नआएमा दोश्रो राउण्डमा प्रतिबद्ध डेलिगेटहरुले पनि जुनसुकै उम्मेदवारलाई भोट हाल्न पाउँछन् भने स्वतन्त्र वा सुपर डेलिगेटले पनि भोट हाल्न पाउँछन् ।
पहिलो राउण्डको चुनावबाट डेमोक्रेटिक पाईमरीमा छानिनका लागि राष्ट्रपति उम्मेदवारले कम्तीमा १९१९ मत ल्याउनुपर्नेछ । यदि पहिलो राउण्डमा उक्त मत ल्याउन नसकेको खण्डमा सुपरडेलिगेटहरुले समेत दोश्रो राउण्डमा त हाल्नेछन् र प्राइमरी जित्नका लागि २२९८ मत ल्याउनुपर्नेछ ।
विभिन्न राज्यबाट महाअधिवेशनमा प्रतिनिधित्व गर्ने डेलिगेट्सहरुको संख्या तय गरिएको हुन्छ । उदाहरणका लागि न्युयोर्कबाट २७४ प्रतिबद्ध डेमोक्रेटिक डेलिगेट्सले भाग लिनेछन् भने क्यालिफोर्नियाबाट सबैभन्दा धेरै ४१५ जना डेमोक्रेटिक डेलिगेट्सहरुले महाधिवेशनमा भाग लिनेछन् ।
महाधिवेशनबाट चुनिएका राष्ट्रपतिका एकजना डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारसँग अन्तिम चुनावमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१६ को डेमोक्रेटिक नेशनल कन्भेन्सनमा हिलारी क्लिन्टनले २८४२ र बर्नी स्याडर्सले १८६५ मत ल्याएका थिए । र हिलारी क्लिन्टन नै ट्रम्मसँग चुनाव लड्नका लागि छानिएकी थिइन् ।
यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव
अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।
५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।






