७५ हजारलाई नेपाल प्रहरीका जवानसरह म्यादी प्रहरीमा जागिर


प्रकाशित मिति : चैत्र १०, २०७३ बिहीबार

काठमाडौं ।  म्यादी प्रहरीमा ७५ हजार जनालाई स्थानीय तह निर्वाचनका लागि भर्ना लिइने भएको छ । गृह मन्त्रालयले सबै तयारी पूरा गरिसकेकाले मन्त्रिपरिषद्ले स्वीकृत गर्नासाथ भर्ना आह्वान गरिने जनाईएको छ ।५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्ने जनाईएको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा म्यादी प्रहरीमा दर्खास्त हाल्न ५० वर्षको उमेरहद तोकिएकोमा यसपालि बढाएर ५३ वर्ष पुर्‍याइएको छ ।
शुक्रबार सार्वजनिक सूचना निकालेर भर्नाका निम्ति दर्खास्त आह्वान गरिने गृह प्रवक्ता बालकृष्ण पन्थीद्धारा जानकारी गराईएको छ ।
पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् । निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् ।

गृहले म्यादी भर्नासम्बन्धी कार्यविधि ७५ वटै जिल्लामा पठाइसकेको छ । दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तह निर्वाचनमा मतदान केन्द्र धेरै हुने भएकाले म्यादीको संख्या दोस्रो संविधानसभामा भन्दा झन्डै दोब्बर पुर्‍याइएको हो । १८ फागुनमा गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३र७४ पारित गरिसकेको छ ।

यसैबीच, केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकमा स्थानीय तह निर्वाचनमा नेपाली सेनालाई मापदण्ड बनाएर परिचालन गर्नेबारे छलफल भएको छ । निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com