सफलताको कथा : इन्जिनियर बन्ने सपना बोकेर रसिया गएका जीवा बने सफल विजनेशम्यान

– किशोर पन्थी

झण्डै ३४ बर्ष अगाडि एकसय ५० डलर गोजीमा बोकेर इन्जिनियर बन्ने सपनासहित छात्रबृत्तिमा तत्कालिन शोभियत संघमा गएका थिए, जीवा लामिछाने । तर उनले आफ्नो परिचय भने विजनेशम्यानका रुपमा स्थापित गराए । सन् १९८६ को सेप्टेम्बरमा रसिया जाँदा उनको सपना एउटा इन्जिनियर बन्ने नै थियो । बुबाआमाको सपना पनि त्यही थियो । तर समय र परिस्थीति यस्तो आयो कि उनले आफ्नोमात्र होइन, खान्दानकै अनुभव नभएको व्यापारिक क्षेत्रमा सफलता हासिल गरे ।

शोभियत संघले त्यतीबेला नेपालजस्तो देशलाई छात्रबृत्ति दिदै आएको थियो । सन् १९५७ मा नेपाल र रसियाबीच कुटनीतिक सम्बन्ध स्थापना भइसकेपछि इन्जिनियरिङ, मेडिसिन लगायतका विभिन्न क्षेत्रमा शोभियत संघले छात्रबृत्ति दिदै आएको थियो । त्यही क्रममा पुल्चोक क्याम्पसमा अध्ययनरत जीवा लामिछानेले पनि त्यहाँको छात्रबृत्ति पाए । छात्रबृत्ति पाइसकेपछि शोभियत संघ जाने तयारी भइरहेको थियो । घरबाट बाले दिनुभएको रकम साट्दा ५ सय डलर भयो ।

शोभियत संघको राजनीतिक अवस्थाका कारण त्यो बर्ष पहिलेजस्तो छात्रबृत्ति पाउनेहरुलाई टिकट आएन । सेप्टेम्बरको पहिलोसातादेखि पढाई सुरु भएकोमा तेश्रोसातासम्म पनि टिकट नआएपछि उनले आफै टिकट काटे । बचेको एकसय ५० डलर लिएर केही साथीहरुसहित शोभियत संघ आए । त्यो क्षणको सम्झना गर्दै उनी भन्छन् – ‘त्यो मेरो जीवनको पहिलो मुख्य टर्निङ प्वाइन्ट थियो ।’

Loading...
सन् १९९२ मा ग्रयाजुएसन डेको दिनमा जीवा (बीचमा)

जीवा शोभियत संघमा जानुभन्दा एकबर्ष अगाडि मिखाइल गोर्वाचोभ शोभियत संघमा जनरल सेक्रेटरी भएर आएका थिए । उनले शोभियत संघमा भएको राज्य नियन्त्रित अर्थ व्यवस्था परिवर्तनको महसुस गरेर त्यही अनुशार योजना अगाडि बढाए । जीवाको पढाई सन् १९९२ को जुनमा समाप्त हुँदै थियो तर सन् १९९१ को डिसेम्बरमा नै शोभियत संघको विघटन भएर संघीय गणतन्त्र रुसको स्थापना भयो ।

जीवाको पढाई समाप्त हुँदासम्म गोर्वाचोभको परिवर्तनको प्रभाव आइसकेको थियो । निजी सम्पत्ति राख्न पाउने र व्यापार गर्न पाउने खुलापन सुरुवात भइसकेको थियो । रुसले राज्य नियन्त्रित अर्थव्यवस्था त्यागेर स्वतन्त्र अर्थतन्त्रमा गयो । स्वतन्त्र अर्थव्यवस्था धेरैका लागि फाइदाजनक थियो । जीवा भन्छन् – ‘ठ्याक्कै त्यहीबेला पढाई सकिएकाले मसँग दुईवटा विकल्प रहे । पहिलो नेपालमा फर्केर इन्जिनियरका रुपमा कामगर्ने, दोश्रो रसियामा प्राप्त अवशरको सदुपयोग गर्ने । मैले दोश्रो विकल्प रोजें ।’

सन् १९८८ मा मस्कोमा जीवा

रसिया खुला अर्थव्यवस्थामा गएकाले जीवाले फर्केर नेपाल जानुभन्दा त्यही आएको अवशरको सदुपयोग गर्ने निधो गरे । पश्चिमा देशमा पाइने सामानहरु लगेर त्यहाँ बेचेर अलिअलि आम्दानी गरेको अनुभव थियो उनीसँग । छुट्टीमा आउँदा व्यक्तिगत प्रयोजनका लागि भनेर लगेर कम्प्युटर, टिभी, म्युजिक सिस्टम, क्यासेट प्लेयर, रुसमा उत्पादन नहुने कपडा समेत लगेर बेचेर पकेट खर्च चलाएको अनुभव थियो । त्यही अनुभवलाई व्यवसायिक गर्ने निधो गरे जीवाले ।

Loading...

रुसले अमेरिकासँग अन्तरिक्ष र सैन्य क्षेत्रमा होडबाजी गरेपनि दैनिक उपभोगका सामानमा राम्रो उत्पादन थिएन । त्यसैले पश्चिमा उत्पादनमा जनताको आकर्षण थियो । सुरुमा साथीहरुसँग मिलेर चीनबाट कपडा लैजाने र ग्रोसरीहरु बेच्ने काम थाले । तर २ बर्ष यस्तैमा वित्यो । तर सन् १९९४ मा इलेक्ट्रोनिक सामानहरुको खुद्रा बिक्रि सुरुवात गरे । सोनी, पानासोनिक, क्यानन, निकन लगायतका उत्पादन आयात गरेर रुसी बजारमा बेच्न थाले । यो उनको जीवनको लागि दोश्रो टर्निङ प्वाइन्ट भयो ।

सन् १९९० मा जीवा

इलेक्ट्रोनिक सामानको ब्यापार निकै राम्रो भयो । सुरुमा आठ दशवटासम्म खुद्रा पसल गरेका उनीहरुले खुद्रा पसल बन्द गरेररुसको बजारमा होलसेल सुरुवात गरे । जीवाको कम्पनी वितरक भयो । उनीहरुले रसियाका ३ सय भन्दा धेरै स्टोरहरुलाई सामान सप्लाई गर्न थाले । रसियामात्र होइन, युक्रेन र बेलारुस लगायतका ठाउमा पनि सामान पठाउन थाले । यसरी सन् १९९४ देखि २०१४ सम्म झण्डै २० बर्ष रसियामा जीवाले इलेक्ट्रोनिकको व्यापार गरे । त्यसपछि उनी होटल विजनेशको शिलशिलामा जर्मनीमा बस्न थाले । जीवा भन्छन् – ‘रुसमा म विद्यार्थी बनेर गएको थिएँ, व्यापारी बनेर फर्र्किएँ ।’

‘व्यापारको पृष्ठभूमि पनि होइन । परिवारमा कसैले विजनेश गरेको पनि थिएन । सामान्य किसान परिवार थियो हाम्रो । तर यो अवशरलाई समाउनुपर्छ भन्ने लागेर इन्जिनियर भएपनि विजनेशतिर नै लागें । इन्जिनियर हुने सपना थियो । समय र अवशरले गर्दा बाटो नै मोडियो । समयले बाटो मोड्दोरहेछ ।’ –  जीवाले आफू विजनेशतिर लाग्नुको रहस्य खोले ।

उनी आफू विजनेशमा लाग्नुलाई संयोग भन्न रुचाउँछन् । शोभियत संघ विघटन हुनु र त्यही बेला आफ्ना औपचारिक शिक्षा सकिनुलाई निकै ठूलो संयोग मान्छन् उनी । भन्छन् – ‘एकदुईबर्ष अगाडि नै पढाइसकिएको भएपनि म फर्केर नेपाल गइसकेको हुन्थें । दुईतीनबर्ष पछाडि सकिएको भएपनि त्यो अवशर नआउन सक्थ्यो । तर मेरो जीवनमा यस्तो संयोग आयो, संयोग र अवशरलाई मैले पक्रें । जसका कारण जीवनको दिशा नै मोडियो ।’

रसियामै विहेबारी

Loading...

जीवा पढाई सकेर व्यवसायमा नै व्यस्त थिए । त्यतीबेला उनी ३२ बर्षका भइसकेका थिए । उनको विहेको कुरा उठ्न थाल्यो । उनले नेपालतिर गएर आफन्तसँग सल्लाह गरेर विहे गर्ने कुरा गरे । मिल्दो जोडी भेटिए रसियामा नै विवाह गर्न पनि तयार थिए उनी ।

यत्तिकैमा डाक्टर धर्म सुवेदीले आफ्नी साली पनि रसियामै रहेको र पढाई गरिरहेको बताए । उनीहरु पढाईसकेर नेपाल फर्कन लागेकाले सालीको विवाह गराएर जान पाए हुन्थ्यो भन्ने आशय थियो । त्यसपछि विन्दिता पोखरेलसँग परिचय भयो जीवाको । परिचय भएको एकबर्षपछि सन् १९९६ मा रसियामा नै विहे भयो ।

विवाह हुँदा विन्दिता दोश्रो बर्षमा अध्ययन गर्दै थिइन् । ७ बर्षको कोर्समा उनले एमबीबीएस उत्तिर्ण गरिन् । त्यतीबेलासम्म एउटा एउटा बच्चा भइसकेको थियो । सन् १९९८ मा पहिलो छोरा अनुराग लामिछानेको जन्म भयो । सन् २००० मा दोश्रो सन्तान अनुकृत लामिछानेको जन्म भयो । पढाई सकेपछि डाक्टर विन्दिता नेपाल गएर केही बर्ष काम गरिन् । तर पछि उनीपनि मस्को फर्किन् । र सपरिवारमा मस्कोमै बस्न थाले ।

रसियाबाट जर्मनीतिर

झण्डै २८ बर्ष विताए जीवाले रसियामा । उमेर र इनर्जी दुवै हिसावले जीवनको उर्वर समय रसियामा वित्यो । सन् २०१० सम्म त इलेक्ट्रानिकको व्यापार निकै फस्टाएको थियो । तर पछिल्लो समयमा बजारमा स्मार्टफोनको जमाना आएकाले इलेक्ट्रोनिकको व्यापार खस्कदै गयो । जीवा भन्छन् – ‘हरेक विजनेशको एउटा समय हुने रहेछ । पछिल्लो समयमा हामीले गरेको परम्परागत विजनेश खस्कदै गयो ।’

Loading...

व्यापार खस्कदै गएपछि जीवा अन्य वैकल्पिक व्यापारको सोंचमा लागे । उनले दुबईमा रियल स्टेटको काम पनि सुरुवात गरें । तर त्यहाँ उनलाई अलिक जोखिमपूर्ण लागेको थियो । यसैबीचमा उनको कैयन पटक जर्मनी आउने जाने क्रम चल्यो । जर्मनीमा कुमार पन्तसँग सम्पर्क थियो । पन्तले होटल विजनेशको सम्भावनाबारे कुरा गद विजनेश विस्तारको प्रस्ताव राखे । जीवालाई यो कुरा मन पर्यो । अनि दुबैजना मिलेर सन् २०१२ मा फ्रैकफर्टमा एउटा होटल लिए । अनि क्रमश बढाउँदै लगे ।

रसियामा व्यापार खस्कदै थियो भने जर्मनीमा व्यापारको सम्भावना बढ्दो देखियो । त्यसपछि जीवा सन् २०१४ मा रसिया छाडेर सपरिवार जर्मनी आए । उनी भन्छन् – ‘यो पनि मेरो जीवनको अर्को टर्निङ प्वाइन्ट भयो । इलेक्ट्रोनिकको ब्यापार गरिरहेको मान्छे होटल विजनेशमा आउनु पनि अर्को टर्निङ प्वाइन्ट थियो ।’

यस्ता टर्निङ प्वाइन्टमा सही निर्णय गर्नका लागि के हुनुपर्छ ? जीवा भन्छन् – ‘यो संयोग नै हो । मैले अन्तरआत्माको आवाज सुनें । र त्यसैमा लागिपरें । जसका कारण म रसियामा सफल भएँ ।’

सुरुमा ६ बर्ष विद्यार्थी भिसामा रसिया बसेका थिए जीवा । त्यसपछि हरेक बर्ष विजनेश भिसा नविकरण गर्दै बसे । पहिले रुसमा विदेशीलाई नागरिकता दिने प्रावधान थिएन । तर पछि लामो समय बसेका, व्यापार गरेकालाई पीआर हुँदै नागरिकता दिने व्यवस्था भयो । तर जीवा त्यो प्रकृयामा नै लागेनन् । एकएकबर्षमा भिसा नविकरण गर्दै बसे । उनी भन्छन् – ‘म नेपाली भएर जन्मेको हुँ र नेपाली नै भएर मर्छु भन्ने भित्रैदेखिको चाहना हो मेरो । त्यसैले रसियामा पीआर लिएर बस्ने प्रकृयामा नै लागिन ।’

५ बर्षमा युरोपमा ३० होटल

सन् २०१४ मा जर्मनीमा आएपछि कुमार पन्तसँग मिलेर होटल व्यवसाय बढाउँदै लगे जीवाले । अहिले ट्रिप इन अन्तरगत ३० वटा होटलहरु संचालनमा छन् । अरु ५ वटा सुरुवातको प्रकृयामा छन् । २८ वटा होटलहरु जर्मनीको विभिन्न सिटीमा रहेका छन् भने धेरैजसो फैंकफर्ट नै छन् । त्यो बाहेक स्वीटरल्याण्डको जुरिकमा एउटा र बेल्जियमको एन्ट्रपमा एउटा होटल संचालनमा छ ।

नेपालमा रहेको सानिमा ग्रुपमा पनि जीवा सहभागी छन् ।  मस्कोमा यो ग्रुप स्थापना भएको हो । सुरुका दिनमा जीवा र उनका भाइ मिलेर ईलेक्ट्रोनिक ब्यापार सुरु गरे । तर सन् २००० पछी भने मस्कोमा व्यवसाय गरि रहेका अरु नेपालीहरु सहित सानिमा ग्रुपका रुपमा काम सुरु गरे । त्यो ग्रुपले नेपालमा बैंक, हाइड्रोपावर, इन्सुरेन्स कम्पनीहरुमा लगानी गरिरहेको छ । नेपालको सानिमा ग्रुपले गत बर्षदेखि धुम्बाराहीमा ‘अकामा’ होटल पनि सुरु गरेको छ ।

सफलताका शुत्र

‘सफल हुनका लागि त्यस्ता धेरै शुत्रहरु हुन्छन् जस्तो लाग्दैन । मेरो अनुभवका आधारमा भन्दा विजनेशमात्र होइन कुनै पनि काम गर्दा कामप्रति लगनशिल र समर्पण हुनुपर्छ । इमान्दारिताका साथ लाग्नुपर्छ ।’ –  सफलताका शुत्रबारे जीवा भन्छन् । तपाईको सफलताको शुत्र के हो ? विजनेशमा लाग्नेहरुका लागि सफलताका शुत्र के छन् ? यस्ता प्रश्नहरु धेरैले सोध्छन् जीवालाई ।

उनी भन्छन् – ‘जे काममा लागे पनि इमान्दारिताका साथ र समर्पित भएर लाग्नुपर्छ । सफलताको अरु कुनै शुत्र छैन । सपर्मण र इमान्दारिता भएमा भाग्य आफै आउँछ । अवशर नै भाग्य हो । त्यसलाई पक्रन सक्नुपर्छ ।’

जीवा अनावश्यक ठाउँमा खर्च गर्न रुचाउँदैनन् । उनलाई त्यती भडकिलो भएर हिड्न पनि मन पर्दैन । उनी भन्छन् – ‘चाहिने ठाउमा खर्च गर्नुपर्छ । पर्दा हिरा पनि फोर्नपर्छ । फजुल खर्च गर्नुहुँदैन ।’

जीवा कहिले पनि जुवातास खेलेनन् । क्यासिनो गए तर हेर्नका लागिमात्र । कहिले क्यासिनोमा खेलेर एक डलर पनि खर्च गरेनन् । उनी भन्छन् – ‘जुवातासमा एकपैसा पनि खर्च गरेको छैन । मलाई कुनै तास खेल्न पनि आउँदैन । मनोरञ्जनको चीज नै होइन त्यो । त्यो कुलत हो । मलाई बाले कुलत भनेर सिकाउनुभएको थियो म त्यही सिद्धान्त लिएर अहिलेसम्म बसिरहेको छु ।’

जीवालाई धेरै रवाफ देखाउन पन पर्दैन । उनी भन्छन् – ‘म गाडीको शोखिन पनि होइन । गाडीलाई एकठाउबाट अर्को ठाउँ जानका चाहिने साधनका रुपमामात्र लिन्छु । म कुनै पनि चीज अरुलाई रवाफ देखाउनका लागि प्रयोग गर्दिन ।’

सरसर्ती संसारदेखि देश देशावरसम्म

जीवा घुम्नमा विशेष रुची राख्छन् । यही घुमफिरकै यात्रा संस्मरण सरसर्ती संसार निकै चर्चित भयो । उनको दोश्रो पुस्तक देश देशावर बजारमा आउने तयारीमा छन् । दुवै पुस्तकमा उनका यात्रा अनुभवहरु समेटिएका छन् । अहिलेसम्म कति देशको भ्रमण गर्नुभयो ? जीवा भन्छन्  -‘मैले ठ्याक्कै गनेको छैन । त्यस्तै सबा एकसयजति भए होला ।’

हरेक स्थानका आफ्ना विशेषता र सौन्दर्य छन् जस्तो लाग्छ उनलाई । भन्छन् – ‘विश्वमा धेरै सुन्दर ठाउँहरु छन् । आधुनिक शहरहरु पनि छन् । ऐतिहासिक शहरहरु पनि छन् । टापुहरुको आफ्नै विशेषता छ । समुन्द्री किनारामा रहेका शहरहरुको आफ्नै विशेषता छ । उजाडै लाग्ने भएपनि त्यहाँको आफ्नै सौन्दर्य हुन्छ । तर मलाई विदेशमा सर्वाधिक मनपर्ने सिंगापुर हो । सानो चिटिक्क परेको बगैचाजस्तो । एकैछिनमा घुम्न सकिने । बाहिर निस्कनेबित्तिकै बगैचामा प्रवेश गरेजस्तो लाग्छ ।’

जीवाको प्रकाशोन्मुख पुस्तकको कभर ।

तर नेपालमा भने जीवालाई पोखरा मनपर्छ । खासगरी ताल र हिमालको सौन्दर्यले उनलाई त्यहाँ आकर्षित गर्छ । उनलाई इलाम पनि नेपालको मनपर्ने स्थान हो ।

नयाँ ठाउँ घुम्ने रुची उनमा बच्चैदेखि थियो । एउटा गाउँबाट अर्को गाउँमा जाँदा पनि निकै उत्साहित हुन्थें उनी । उनी भन्छन् – ‘पदमपुरबाट टाँडी आउँदा पनि उत्साहित हुन्थें । क्याम्पस पढ्दा नेपालका अरु जिल्लाहरुमा घुमफिर गरें । शोभियत संघमा गएपछि विदामा कहिले एक्लै त कहिले साथीहरुसँग युरोपका धेरै ठाउँ घुमें । नयाँ ठाउँ हेर्ने लत बस्यो ।’

तर घुम्ने क्रममा केही नमिठा अनुभव पनि छन् । यद्यपी अहिले सम्झिदा र अरुलाई बताउँदा भने रमाइलै लाग्छ । दुईसाताका लागि सपरिवार स्वीटजरल्याण्ड, स्पेन, पोर्चुगल र जर्मनीको भ्रमणमा निस्केको बेला जेनेभाको ट्रेन स्टेशनमा बच्चाहरुको सामान भएको झोला नै चोरी भयो । एकपटक पोल्याण्मा पनि सामान चोरी भयो । ताजकिस्तानमा गएको बेलामा त कुटाई नै खानुपरेको थियो ।

जीवा सम्झिन्छन् – ‘अफगानिस्तनको सिमाक्षेत्रमा रहेको ताजकिस्तानमा थियौं । साँझमा हिडिरहेको अचानक एक हुल केटाहरु आएर हामीलाई भकाभक कुटे । हामी तीनजना थियौं । उनीहरुले विनाकारण भकाभक कुटे । एकजना साथीलाई त अस्पताल नै लैजानुपरेको थियो । पछि बुझ्दा त्यहाँ दुईवटा गिरोहको झगडा भएको रहेछ । उनीहरुले हामीलाई अर्को गिरोहको ठानेर कुटेका रहेछन् ।’

यो अनुभव उनको पुस्तक सरसर्ती संसारमा पनि समेटिएको छ ।

साहित्यमा जीवालाई बाल्यकालदेखि नै रुची थियो । स्कुलमा पढ्दादेखि नै पुस्तकहरु पढ्ने र निबन्ध प्रतियोगितामा भाग लिने गर्थे । पुरस्कारहरु पनि जित्थे । त्यो रुची यथावत नै थियो । उनी भन्छन् – ‘पछि सामाजिक सञ्जालमा घुमेका स्थानबारे शेयर गर्दै जाँदा साथीहरुले अलि विस्तारमा लेख्न र यसबारे पुस्तक नै निकाल्न सुझाव दिए ।’

त्यसपछि निस्कियो सरसर्ती संसार, जुन पुस्तक एउटा गतिलो यात्रा टिप्स समेत बन्न सफल भयो ।

नयाँ ठाउँ जाँदा पहिले त्यो ठाउँको बारेमा केही अध्ययन गरेर जाने गरेको बताउँछन् जीवा । यात्राका क्रममा गाइड र चालकसँग पनि कुराकानी गर्दा उनीहरुका जीवन्त अनुभव सुन्न पाइने जीवाको अनुभव छ । अरुलाई पनि यात्रा गर्नुअगाडि त्यसक्षेत्रको सुचना लिएर जान सुझाव दिन्छन् उनी । कम्तीमा त्यहाँका व्यक्तिको चालचलन, अभिभावदन सिकेर जाँदा राम्रो हुने उनको सुझाव छ । त्यस्तै यात्राका क्रममा पैसा, क्रेडिट कार्ड, पासपोर्ट लगायतका सामानहरु सुरक्षित राख्नुपर्ने सुझाव दिन्छन् उनी ।

अब एकदुई बर्षमा नेपाल नै फर्कन्छु

अबको एकदुईबर्षमा नै नेपालमा फर्केर स्थायी बसोबास गर्ने योजना बनाएका छन् जीवाले । अहिले जर्मनी बसेर बेलाबेलामा नेपाल जाने गरेजस्तो एकदुईबर्षपछि नेपाल बसेर बेलाबेलामामात्र विदेश आउने योजना बनाएका छन् उनले । सामाजिक कृयाकलापमा रुची भएकाले र नेपालमा समेत व्यवसाय भएकाले उनले नेपालमा नै बस्ने योजना बनाएका छन् ।

उनी भन्छन् – ‘अब त ५५ बर्ष हुन लागें । मान्छे आफ्नो लागि पनि बाँच्ने हो । म नेपालमै रमाउँछु । त्यसैले मान्छे जहाँ रमाउँछ त्यही बस्ने हो । म नेपालमा रमाउने भएकाले छिट्टै नै नेपाल जान्छु ।’

पहिलो पुस्ताको डायस्पोराको सन्दर्भमा बाल्यकाल जहाँ वित्यो त्यो कहिले पनि विर्सन नसिकने जीवाको अनुभव छ । उनी भन्छन् – ‘विदेशमा बसेपनि म बेलाबेलामा बाल्यकालका सपनाहरु देख्छु । आफ्नै गाउतिर घुमिरहेका सपना देख्छु । आफ्नो गाउ टोल समाज छिमेक, दौतरी, गुरु, नातेदारहरु सम्झनामा आइरहन्छन् । म त्यही नै रमाउँछु ।’

सिक्दैछु…..

जीवनका कहिले पनि सिकेर नसकिने जीवाको अनुभव छ । उनी भन्छन् – ‘सिक्ने कुरा अनन्त रहेछ । म हरेक दिन सिकिरहेको हुन्छु ।’

अहिलेको पुस्ताबाट धेरै कुरा सिक्न सकिने बताउँछन् जीवा – ‘म छोराहरुलाई धेरै कुरा सिकाउँथें । अब त उनीहरु पनि मेरा गुरु भइसके । विजनेशको मेरो अनुभववाहेक पछिल्लो प्रविधि र अन्य कुरामा उनीहरुले मलाई सच्याउँछन् ।’

उनी भन्छ्न – ‘सिक्ने चिज यस्तो अनन्त रहेछ कि हरेक क्षण जिन्दगीमा जोबाट पनि सिक्न सकिन्छ । मेरा लागि जुनसुकै व्यक्ति पनि गुरु हुनसक्छ । बाआमा मेरो पहिलो गुरु हुनुहुथ्यो । त्यसपछि भेटिएका हरेक मान्छे जसले केही नयाँ कुरा शेयर गर्छन्, उनीहरुबाट पनि सिकिरहेको हुन्छु । यो अनन्त रहिरहने प्रकृया हो । त्यसैले सधै सिकिरहेको जस्तो लाग्छ ।’

सफल हुनका लागि दैनिक कति घण्टा काम गर्नुपर्छ ? जीवाको जवाफ छ – ‘कसैलाई देखाउन काम गरेमा १८ होइन, २४ घण्टा काम गरेपनि परिणाम नआउनसक्छ । तर आफै रमाएर काम गरेमा १८ घण्टा काम गरेको पनि पत्तो हुँदैन । आफूले गरेको काममा रमाउनुपर्छ । इमान्दारिताका साथ काम गर्नुपर्छ । आफैप्रति र अरुप्रति इमान्दार हुनुपर्छ । आफूलाई रुची भएको काममा समर्पित भएर लाग्नुपर्छ ।’

रसियामा विजनेश सुरु गर्दा राती १२ बजेसम्म काम गरेको अनुभव छ उनीसँग । विहान ७ बजे नै उठेर काममा हिडिहाल्थे उनी । तर पनि १८ घण्टा काम गरेको अनुभव हुदैनथ्यो । चुर्लुम्म डुबेर र रमाएर काम गरेकाले समय वितेको पत्तो हुँदैनथ्यो ।

यसरी सफलतामा अगाडि बढिरहेका जीवा आफूलाई सेल्फ मेड भन्न भने रुचाउँदैनन् । उनी भन्छन् – ‘म यहाँसम्म आउनका लागि मेरो बाआमा, परिवार, गुरुहरु, नातेदार, समाज सबैको योगदान छ । म आफै एक्लै भएँ भन्न मिल्दैन ।’

आमासँग टिका ग्रहण गर्दै जीवा

सपना सम्भव हुनेमात्र देख्नुपर्छ

दुईजना दाजु, एकजना दिदी र एकजना भाईसँगै चितवनको पदमपुरमा जन्मे हुर्के उनी । पिता स्व. खेमलाल लामिछाने र आमा हरिकला लामिछानेको चौथो सन्तानका रूपमा जन्मिएका थिए उनी ।  त्यहीकै सरकारी विद्यालयमा पढे । कक्षा ३ सम्म राष्ट्रिय प्राथमिक पाठशाला पिपरियामा पढेका उनले कक्षा ७ सम्म भिमोदय निम्नमाध्यामिक विद्यालयमा पढे । त्यसपछि नेपालमाध्यामिक विद्यालयबाट २०३८ सालमा एसएलसी दिएर प्रथम श्रेणीमा उत्तिर्ण गरे । तर उनी कहिलेपनि अनावश्यक रुपमा महत्वाकांक्षी भएनन् । पुरा हुन नसक्ने सपना पनि कहिले देखेनन् ।

उनी भन्छन् – ‘जीवनमा सपना देख्नुपर्छ । त्यो सपनालाई पछ्याउनुपर्छ । तर सपना जागै भएको बेला देख्नुपर्छ । र सम्भव हुनसक्ने सपना देख्नुपर्छ । सम्भव हुने सपना देखेमा सपनाहरुको मृत्यु हुँदैन । सम्भव नहुने सपनाले मान्छेलाई केवल दुखी बनाउँछ । मैले सधै सम्भव हुने सपना मात्र देखें ।’

तीनकक्षामा पढ्दा चारकक्षा संचालन भएको स्कुल जाने सपना देखेको र त्यो स्कुलपछि हाइस्कुल जाने सपना देखेको स्मरण गर्छन् उनी । एसएलसीपछि इन्जियिनर बन्ने सपना थियो उनको । त्यसैले उनी पुल्चोक क्याम्पसमा पढ्न आए । त्यहाँ पढ्दा छात्रबृत्तिमा शोभियत संघ जाने सपना थियो, त्यो पनि पूरा भयो । उनी इन्जिनियर त भए तर त्यसको अभ्यास गरेनन् । तर आफ्नै मिहिनेतले सफल विजनेशम्यान बने । उनी भन्छन् – ‘म चमत्कारमा विश्वास गर्दिन । जे हुन्छ आफ्नै मिहिनेतले हुन्छ ।’

एनआरएनए अध्यक्षदेखि प्रवल जनसेवाश्री पदकसम्म

जीवा लामिछाने सन् २०११ देखि २०१३ सम्म एनआरएनएको अध्यक्ष समेत भए । रूसनेपाल उद्योग वाणिज्य संघको संस्थापक सदस्य रहेका उनी गैरआवासीय नेपाली संघको पनि संस्थापक सदस्य हुन् । हाल उनी एनआरएनको संरक्षक र सल्लाहकार हुन् ।

खेमलालहरिकला प्रतिष्ठान, चितवनका अध्यक्ष रहेका उनलाई नेपाली समुदायप्रति गरेको योगदानको कदरस्वरूप नेपाल सरकारबाट सन् २०१३ मा प्रवल जनसेवाश्री पदकबाट विभूषित समेत गरिएको थियो ।

नेपालमा सन् २००३ मा उनले कान्तिपुर टेलिभिजनमा लगानी सुरु गरेका उनी कान्तिपुर टेलिभिजन नेटवर्कको कार्यकारी निर्देशक थिए ।
उनी एनआरएन इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, नेपालका अध्यक्ष हुन् ।

जीवा लामिछाने व्यापार व्यवसायमा मात्र सीमित छैनन् । उनको योगदान समाजसेवा र साहित्यलेखनमा पनि उत्तिकै छ । आफ्नो बाबुआमाको सम्मानमा खेमलालहरिकला लामिछाने प्रतिष्ठानको स्थापना गरेका छन् । उनी संरक्षक रहेको उक्त प्रतिष्ठानले साहित्यका क्षेत्रमा प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गर्ने गर्छ ।

उनको अनुभव तथा योगदानको कदर गर्दै सन् २०११ नोभेम्बरदेखि २०१३ मार्चसम्म तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक सल्लाहकार परिषद्को सदस्यमा उनलाई नियुक्ति गरेका थिए । नेपाल र प्रवासी नेपालीहरूलाई र्पुयाएको योगदानको कदरस्वरूप सन् २०१३ मा उनले तत्कालीन नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट प्रवल जनसेवाश्री पदक प्राप्त गरे । सन् २०१८ देखि प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार परिषद सदस्यका रुपमा रहेका छन् ।

भिडियो हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com