प्रवचनका नाममा फस्टाउँदो ब्यापार र जीवनको यथार्थता


प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार

– शेखर ढुंगेल

जुन प्रसङ्गमा यो लेख लेख्दैछु यो खोजिखाने होइन रोजी खानेकोहरुको लागि मात्र हो । अझै भनौ सामाजिक संजालदेखि नागरिक समाज एवं समाज सुधारक ,प्रेरक प्रवक्ता , प्रवाचक ,सकारात्मक सोंचका अभियन्ता योग ध्यानका गुरुबर्गको सेरोफेरोमा छ ।

कारण जहाँ बिहान बेलुका हात मुख जोर्ने दुख र पिडामा छन्, उनीहरुलाई के हो सकारात्मक सोंच ? के हो स्वस्थ्य ? के के हो स्वच्छता ? के हो खुसी ? के हो हाँसो ? कुनै परिभाषाको खोजि कहाँ हुन्छ ? बाँच्ने उपायको लागि हात मुख जोर्न पाउनु नै ठुलो हुन्छ ।

रोजी खाने यो बर्ग आजको ७ अर्बको मानव सागरमा ४५ प्रतिशत भन्दा कम छ । सामाजिक संजालमा पहुच ५५ प्रतिशतको छ । कलेजको पहुच ६ दशमलव ७ प्रतिशतको छ । मास्टर डिग्री पहुच १ दशमलव ३ प्रतिशतमात्र छ ।

झण्डै साढे १९ मिलियन नागरिक मिलिनियर छन्, जुन कुल विश्वको जनसंख्याको शुन्य दशमलव २६ प्रतिशत हो । अमेरिका जस्तो देशमा समेत ८ प्रतिशतले मात्र मास्टर डिग्री पुरा गर्छन् । २७ जना बिलिनियर हरुले आधा विश्वको भन्दा बढी सम्पति ओगटेका छन् ।

अमेरिकामा रहेका बिलेनियरहरु जसको सम्पति संयुक्त रुपमा जोड्दा ९ दशमलव ९ ट्रीलीयन हुँदो रहेछ, जुन बिस्वको अर्को आधा सम्पति बराबरको मालिक हुन् । विश्वमा आज ६५८ जना बिलिनियर छन् जस मध्य १०३ जना त चीनको बेइजिंगमा मात्र बस्छन् ।

मैले माथिको तथ्यांक किन प्रस्तुत गरेको भने जब हामी दुख सुख को कुरो गर्छौ, सकारात्मक हुनु पर्ने कुरो गर्छौ, प्रवचन दिन्छौ र सुन्छौ, प्रेरक एवं आदर्शका कुरो मात्र होइन दीर्घ जीवनको उपायहरु बताउने गर्छौं, लेख्ने गर्छौ, सुन्ने गर्छौ, अनि के भने जस्तो सुने जस्तो सुनाए जस्तो लेखे जस्तो व्यवहारमा पनि कार्यन्वयन गर्न सफल छौं त ?

बिलेनियर मिलेनियरहरुको सफलताको कथा, संघर्षको कथा सुनेर पढेर के अर्को मानिस प्रेरित भएर त्यस्तै हुन सक्छ त ? वा भएको छ ? यो अहम र गम्भीर प्रश्न हो ।

गीता, महाभारत, रामायण, बुद्ध दर्शन , बाइबल, कुरान लगायत धेरै सकारात्मक सोंच र व्यवहारका लेख अनि व्यक्तित्वहरुको प्रवचन समेत गहिरो अध्ययन गरिसकेको छु । ती समाजको पनि धेरैथोरै अनुभव गरिसकेको छु ।

चाणक्य, ओशो, साइबाबा, सदगुरु, आर्ट अफ लिभिंग अर्थात जिउने कलाका प्रेरक वाचक रविशंकर, बिके सिभ्वानी जस्ता हजारौ ऋषि, महर्षि, साधु एवं दाशर्निक लगायतका व्यक्तित्वहरुको, हामीले आदर्श मानेको व्यक्तित्वहरुको खुलेका र लुकेका धेरै कुराहरुको अर्थात अर्तिउपदेश, आदर्श सदाचार र आहार बिहारका कुरा बेद र बुद्धत्वबाट नै प्रेरित छन् ।

चाणक्यको बाटो पहिल्याउने नै छन् ।

प्रस्तुतिकला अब्बछ छ । उहाँहरु आधुनिक शब्दमा उदाहरण, शब्दको पुनब्र्याख्याका आधुनिक आख्यानकार हुनुहुन्छ । उहाँहरुको यत्रो प्रभाव छ विश्वमा ।

यी सबै हुँदा हुँदै पनि किन वर्तमान विश्व थप अशान्ति, पिडा, तनाव, उन्माद, असहिष्णुता, अपराध बढी रहेको छ ? अझ बर्तमानमा त सामाजिक संजालको पहुचमा पुगेकाहरुमाझ एक से एक प्रेरक विचार, सकारात्मक सोचमा उदाहरणहरु, स्वास्थ्य लाभहुने खानेकुराको आदान प्रदानले यस्तो तीब्रता वा व्यापकता लिएको छ कि आफैले पठाएको विचारसमेत केही महिनापछि आफैलाई फर्केर आइपुग्छ ।

सामाजिक सञ्जाल सबै विषयको विश्व विद्यालय, अनुसन्धान कक्ष, मन्दिर, चर्च र मस्जिद झैँ बनेको छ । मेरो अहम प्रश्न दोहोरोउन चाहन्छु कि यसको बाबजुद किन आजको विश्व नकारात्मक र तनावग्रस्त हुँदै गएको छ ? कुरो स्पष्ट छैन । उपलब्ध सबै सकारात्मक र प्रेरक प्रसंग कथा उदाहरणहरु व्यवहारमा कार्यन्वयन गर्न असम्भव भएको छ वा हुन्छ ।

केही उदाहरण हेरौं ।

मासुजन्य बस्तु खानु हुन्न, हत्या गर्नुहुन्न, हास्नु स्वास्थयको लागि लाभदायक छ,सकारात्मक सोचौ, स्वस्थ रहने तरिका, लालच गर्नु हुन्न, सचरित्र हुनु पर्छ, मानवीय संवेदनाको कुरा आदि इत्यादी ।

कति असल आदर्श कुरा छ, मासु खानु हुन्न, हत्या गर्नु हुन्न । हो मैले पनि मासु खान छोडें । मासु खाद्यान्न अन्तर्गत पनि पर्दैन । तर यथार्तता ? यो बिषयमा प्रवचन दिनेहरु अपवाद बाहेक कोही छ छालाको जुत्ता न लगाउने ? पेटी न बाध्ने ? पैसा राख्ने हाते झोला न लिने ?

अर्को कुरो आज विश्व अर्थतन्त्रको ३५ प्रतिशत रोजगारी पशुजन्य उत्पादनमा आधारित छ । घर परिवार लगायतको व्यवहार चलेको छ । कुल खाने कुरोको ४० प्रतिशत स्थान मासुले ओगटेको छ । साथै यदि पशुपंक्षी, माछा नमारिने हो भने विश्वमा खानेकुराका साथै वातावरणमा कस्तो असर पर्ला ? अब भन्नुस यसको विकल्प छ ?

त्यस्तै हास्नु स्वास्थ्यको लागि लाभ दायक यो । एउटा स्वस्थ रहने राम्रो उपाय हो । एक छिन भन्न सजिलो छ । प्रवचन दिन सजिलो छ । व्यवहारमा के स्वयम् प्रेरक प्रवचन दिने हरुले कार्यन्वयन गर्छन ? गरेका छन् ? मैले यस्ता धेरै कार्यक्रम हेरेको छु । सहभागी भएको पनि छु ।

केही हप्ता अगाडिकै कुरो हो । हाम्रो समाजको सामाजिक संजालमा चर्चित एक प्रेरक वक्ताको प्रवचनमा सहभागी हुने अवसर मिलेको थियो । सकारात्मक सोंचको कुरो कुनै मौलिकता थिएन । सामाजिक संजालबाट प्रतिलिपि गरिएका थिए । कारण त्यहाँ खास एक विषयलार्य नभएर सम्पूर्ण विषयलाई उठाइएको थियो । प्रतिलिपि प्रवचन थियो ।

स्वस्थ रहने कुरो भन्दै गर्दा चार सेतो भान्सामा नहुल्नु भन्ने भनाइ भयो । ४ सेतो अर्थात् चिनी, नुन, चामल र मैदा सबैमा लागु हुन्छ र ? नुनको कमी हुनु हुँदैन शरीर लाई । चिनीको पनि कमि हुनु हुँदैन । तर बढी पनि हुनुहुँदैन ।

चामल किन खानु हुँदैन ? कुनै तर्क पूर्ण कारण छैन । मैदा ग्यास्ट्रिक को घर ? तर कुन परिणाममा खाने भन्ने कुरो बुझाउने क्षमता त देखिएन । ठाडै भान्सामा न छिराउनु रे ? कति व्यवहारिक छ ?

अझ हास्नु पर्छ भन्दै जबर्जस्ती हँसाए । हाहाहा हिहिहि गर्दै सबैले साथ दिए । उनले नहाँस्नेलाई मनोरोगी भने । यो कस्तो सकारात्मक सोचको प्रवचन हो ? कस्तो असहिष्णुता ? कसैको घरमा आफन्त बिरामी होलान् । कोही आफै अस्वस्थ होलान् । कोही कुनै पिडामा होलान् । वा शोकमा होलान् । उनले हास्नुपर्छ हास्नुस भन्दा नहासेकोलाई मनोरोगी भनिदिने ?

मनोरोगी नै रहेछन् भनेपनि कसैको मानसिक स्वास्थ्य अवस्थालायृ लिएर हाँस्नु सकारात्मक सोंच हो ? मैले महामानव बुद्धको शन्देश सम्झें, कसैप्रति आफ्नो विचार जबर्जस्ती लाद्न खोज्नुपनि ठूलो मानसिक हिंशा हो ।

यसर्थ यस्ता प्रवचन पनि एउटा जीवन धान्ने व्यापार हो, जुन उसको कर्ममा लेखिएको छ । अर्थात् ऊ त्यही कर्मको लागि खटिएर आएको हो । सकारात्मक सोंच आफैमा नहुनुले देखाउँछ कि प्रवचन गर्न वा दिन सजिलो छ । व्यवहारमा कार्यन्वयन गर्न ठुलो त्याग र साहस जरुरी हुन्छ ।

जब कोही सकारात्मक, प्रेरक, क्षमाशिलताको सोंच र मर्मभन्दा टाढा छ । अर्थात् सिद्धान्त एकातिर, प्रवचन एकातिर, व्यवहार अर्को तिर ।

सृष्टिकर्ताले मानिसलाई दयाकरुणा, सेवा र संवेदनशिल प्राणी वा आफ्नो प्रतिनिधिको रुपमा बनाएको हुन् । तसर्थ जहाँ आवश्यकता देखिन्छ, त्यहाँ जहिले सम्भावना हुन्छ । विनातर्क, वितर्कविना, आफ्नो पराइको परिचयविना, फाइदा वेफाइदाको हिसावविना, सुविधा असुविधाको वहानाविना, दयाभाव देखाईहाल्नुपर्छ । सहयोगको हात बढाई हाल्नुपर्छ । जहाँ आवश्यकता हुन्छ । त्यहाँ आफैलाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक विवेकशिल आदर्श नागरिक हुनुको उदाहरण हो ।

बुद्धको सन्देशको बारेमा प्रवचन त हजारौं भिक्षु भिक्षुणीहरुले दिए । तर बुद्ध त कोही बन्न सक्दैन । अर्थात् त्याग, स्नेह, प्रेम सद्भावको शितल छाया त प्रदान गरेको पाइदैन । द्रब्यलाई इन्कार गरेको सुविधालाई परित्याग गरेको लालचको बध गरेको त पाइदैन । होइन र ?

बीके सिवानीजीको प्रवचन कति मिठो छ । कति जायज छ । कति मार्मिक छ । कति बौद्धिक छ । करोडौले उहाँलाई पछ्याउँछन् । तपाई हाम्रो वरपर उहाँको बखान गर्ने हज्जारौ हुनुहुन्छ । तर के उहाँको प्रवचनपछि हामीले हाम्रो दैनिक जीवनशैली परिवर्तन गरेका छौं ? वा गर्न सक्षम भयौ ?

खुबै अध्ययन गरेर विभिन्न पुस्तक र प्रवचनको आधारमा आफुलाई स्वस्थ्य राख्न आवश्यक खानेकुराको सुची हेरें । १० दाना भिजाएको देशी, बदाम १० दाना उम्रेको मेथी, यसरी प्रत्येक दिन खानु पर्ने मात्रा जोड्दै लग्यो भने ५५ के जी हुँदो रहेछ दैनिक खानु पर्ने ।

के यो सम्भव छ त ? अनुकुलतामा मौसम हेरी खाने न हो । जो सबैले खाइ रहेछन् ।

लालच गर्नु हुन्न भन्ने कुरा सबै भन्दा बढी हाँस उठ्ने र ढोंगी सकारात्मक सोचको प्रवचन लाग्छ । कारण एक त शुल्क नतिरी प्रवेश निषेध छ, दोस्रो कार्यक्रममा निश्चित रकम र खाने बस्ने यात्राको भाडा समेत लिएर आउनुछ । अर्को तिर लालच गर्नु हुन्न रे । के त्यो लालच होइन ? यही कर्म गरेर परिवार पाल्ने पेशा बनाएपछि शुल्क तोक्नु र पाउने आशा राख्नु लालच होइन ? प्रवचनको कुरा व्यवहारमा कार्यान्वयन गर्न कति सहज छ ? मुख्य कुरा त्यही हो ।

लालच गर्नु हुन्न भनेर प्रवचन दिने धर्म गुरुहरु, प्रेरक अभियन्ताहरु, दक्षिणा कम भयो भनेर रिसाउँछन् । न रिसाउने कोही छ कि भनेर खोज्दा आजसम्म भेटेको छैन । बरु अब त दर नै तोकिएको हुन्छ । सकारात्मक सोचको प्रवचन गर्न घण्टाको यति, बस खर्च, प्लेन खर्च, होटेल, खाना ।

पक्कै हो सचरित्र हुनु पर्छ कुनै विवाद छैन । धेरै कथा घटनाबाट हामीले अनुभब गरिसक्यौं । जो बढ़ी सचरित्रको कुरो गर्छ वा प्रवचन गर्छ उही नै बढ़ी दुश्चरित्रको देखिएको छ । जे हुन्न भनेर जोड दिइरहेको हुन्छ, त्यसमा त्यही कुन्ठाले वास गरेको हुँदो रहेछ ।

एउटा चर्चित प्रसँग उठाऔं । एक ऋषि आफ्ना शिष्यहरुको अगाडि सधै एक नगरबधुको बारेमा गाली गरिरहँदा रहेछन् । एक दिन दुबैको मृत्यु भएछ । यमलोकमा पुगेपछि चित्र गुप्तले ऋषिलाई नर्क र नगरबधुलाई स्वर्ग पठाउने निर्णय सुनाए ।
ऋषि रिसले आगो भए । र चित्रगुप्तलाई भने, प्रभु यो के अन्याय ? म सधै प्रभुको सन्देश गाउँलेहरुलाई सुनाएर जय जय गाएर बसें । त्यो नगरबधु सधै व्यभिचार गरेर बसिन् । ऊ स्वर्ग म नर्क ?

यो सुनेर चित्रगुप्तले भने, ऋषि तिमीले अरुलाई मेरो बारेमा सुनाए पनि तिम्रो मन हमेसा त्यही नगरबधुको सुन्दरतामा आकर्षित हुन्थ्यो । तिमी शारीरिक भोग र कुंठाले ग्रसित थियौ । तर यी नगरबधु हमेसा हे भगवान मलाई यो नरकबाट पार गर्नुस मलाई कुदृष्टि राख्नेहरुबाट बचाउनुस भनेर प्राथना गर्थिन् । उनले त तिमीहरु जस्तो पाखंडी गुरुहरुको कारण नरक भोगीसकिन् । अब पालो स्वर्ग जाने, तिमी नरक ।

यसको अर्थ के भने आदर्श सकारात्मकका प्रवचन सुनाउने र सुन्नेहरुको मन मस्तिष्क तदनुरूप हुनु पर्यो । जुन व्यवहारमा कार्यान्वयन हन सक्दैन भने त्यो तनावग्रस्तहरुको भावना किन्ने बेच्ने व्यापारमात्र हो ।

मानवीय संवेदनशिलता र सेवाको कुरा वास्तवमा अति गम्भिर र पूर्ण असल समाजको लागि अनिवार्य पनि छ । समयले मानिस, समाज र देश (शासक )लाई यस्तो क्रुरतातर्फ धकेली सक्यो कि प्रत्येक प्राकृतिक उपहार अर्थात् प्रकृतिले मानिसलाई बाँच्नका लागि दिएको प्रत्येक बस्तुको अभाव भैसक्यो यो ब्रम्हाण्डमा ।

स्वस्च्छ हावापानीको समेत अभाव भएको छ । पानीको लागी व्यक्ति, टोल र देशको लड़ाई चलेको छ । केहीबर्ष अगाडीसम्म पानी माग्दा मोही दिने हाम्रै समाज थियो । ठाउँठाउँमा चौतारो बनाएर बटुवालाई गाग्रोमा पानी राख्ने चलन थियो । तर अहिले त समाज फोहोर पानी खान बाध्य छ भने पानीपनि मिटर भएर झर्छ ।

आज सेवा यस्तो गम्भीर र कलंकित बनि सकेको छ कि दाँया हातले दिएको दान बाँया हातले थाहा न पाओस भन्ने त्यागको सिद्धान्त राख्ने समाज अर्कोसँग जबर्जस्ती माग्छ । आफ्नो स्वार्थको परिपूर्ति गर्न खुराफाती सोंच लगाउँछ । बाँकी रहेको जति बाँडेर तीन गुना खर्च देखाउने गर्छ ।

आफूसँग भएको र आफूलाई पुग्ने गरेर राखेर अन्य आवश्यक पर्नेलाई मानवता दशाई बाँड्ने वा सेवा दिनेहरु लालटिन बालेर खोज्नुपर्ने अवस्था छ ।

रक्सी, चुरोट परपुरुष वा परस्त्रीगमन वा वेश्याबृत्ति सम्बन्धमा धेरै अध्ययन भयो । दार्शनिक एवं मनोचिकित्सकहरुले यस विषयलाई समाजको एक अनिवार्य हिस्सा अन्तर्गत राखेका छन् । किनभने समाजशास्त्री हरुको भनाइ छ कि यदि यस्ता मन भुलाउने वा बहकाउने बस्तु नहुने हो भने विश्वमा अहिलेको भन्दा ३०० गुणा बढी आत्महत्या हुन्थे । साथै आर्थिक पाटो हेर्ने हो भने रक्सीचुरोट लागु औषध र नगरबरबधु कतिले रोजगारी पाएका छन् । कति राजस्व उठ्छ ।

तथ्यांक हेर्दा रक्सीको बार्षिक व्यापार करिब १७०० बिलियन डलर को छ । राज्यले ठुलो राजस्व उठाउने गर्छ । त्यही रकम फेरी गरिवको सेवा सुविधामा राज्यले खर्च गर्छ । चुरोट रक्सीको कारण उत्पन्न अस्वस्थताको कारणले गर्दा आज विश्वमा करोडौ डाक्टर, नर्स र वैज्ञानिक प्रयोगशाला र अस्पताल क्लिनिकमा अर्बौले रोजगार प्राप्त गरेका छन् ।

अमेरिकामा मात्र २ मिलियन नगर बधु छन् । विश्वमा करिब ४४ मिलियन । यसको पछाडिको आर्थिक पाटो पूजी परिचालनले समाज मात्र होइन राज्यले समेत फाइदा लिइ राखेको छ ।

समाजशास्त्रीहरुले औल्याएका खराब चीजले पनि राज्यलाई सहयोग गरिरहेको हुन्छ । सबै सकारात्मक सोचका भए, सबै शाकाहारी भए, सबै सदाचारी भए सबै असल भए, सबै चुरोट, रक्सी र मासु नखाने भए भने विश्वमा के हुन्छ ? यीसँग सम्बन्धित सबै रोजगारी समाप्त भयो भने के हुन्छ ?

तसर्थ सकारात्मक र नकारात्मक दुवै पाटो मानव जीवनमा सिक्काको दुइ भाग झैँ हो । सृष्टिकर्ताको लक्ष हो, उद्देश्य हो । अलग अलग मानिस अलग अलग कर्म, भाग्य र भूमिकाको लागि खटिएको हुन्छ ।

एकै परिवारका सन्तानको कर्म र भाग्य र सोंच एक हुँदैन । हातको ५ औला बराबर हुँदैन ।

सकारात्मक सोच एक प्रकारको विचार क्रान्ति हो, जुन करोडौ अर्बौमा एक दुइ जन्मन्छन् । जस्तै महामानव गौतम बुद्ध लगायत योगी ऋषिहरु । तर उहाँहरु पनि जीवनको पूर्ण सत्य होइन । उहाँहरु आफु कष्ट सहेर अरुको भलो सोच्ने र आफ्नो दुखलाइ मारेर रमाउन सक्ने क्षमताको हुनु भएको भए मात्र पूर्ण हुनु हुन्थ्यो ।

सृष्टिकर्ताले जो कोहीलाई केही न केही दुख पिडा दिएकै हुन्छ । ता कि उसले इश्वरलाई नबिर्सोस् ।

कुनै पनि दर्शन सोच विचार समय सापेक्षित हुन्छन् । कुनै सामाजिक परिवेश, कुनै धर्म परिवेश र चेतनाको स्तरमा आधारित हुन्छन् । बुद्ध, प्लेटो, चाणक्य ओशो, साइराम, लामा धर्म गुरुहरु ,बिके सिवानी, रवि शंकर आदि इत्यादि फरक समय र फरक सामाजिक परिवेसका हुन् ।

त्यसैले बर्तमानमा एउटा मानबले के सबै आदर्शलाई ग्रहण गर्न सक्छ ? सम्भव छैन ।

त्यसमा पनि माथि उल्लेख गरी झैँ प्रत्येक मानिस अलग कर्म र भाग्य लिएर अलग भूमिकाको पात्रको रुपमा निश्चित समयको लागि जन्मिएको हुन्छ । के ऊ बुद्ध, प्लेटो ओसो, सिवानी वा अन्य प्रेरक वाचक झैँ बन्न सक्छ ?

व्यक्तिको अलग पारिवारिक, सामाजिक, आर्थिक, शैक्षिक अवस्थाले प्रभाब पारेको हुन्छ । प्रत्येकमा गुण र अवगुण ,असल खराब तत्व हुन्छ । सबै सबै जस्तो भैदिए सृष्टिको निरन्तरता ठप्प हुँदैन र ? व्यक्ति कर्तब्यको सिमा रेखा भित्र जकडिएको हुन्छ । त्यही भित्र रहेर क्षमता दक्षता र योग्यताको आधारमा सकारात्मक हुने हो ।

प्रेरक अभियन्ता वाचक गुरुहरुको प्रवचनहरुले क्षणिक उर्जा दिने हो । यथार्थमा फरक हुन्छ । हेर्नुस न योगी गुरु प्रेरक व्यक्तित्वहरु लाई नजिकबाट । गरिव नजिक जान खोज्यो भने गुरुका सेवकले धकेल्छन तर चर्चित ब्यापारी नेता गए भने गुरुहरु स्वयम् उठेर स्वागत गर्छन्, फोटो खिच्छन् । के यो आत्मप्रचार होइन ? स्वार्थको खेल होइन ? कहाँ छ सकारात्मक सोच ? समान मानवीय मुल्य र मान्यताको व्यवहार ?अनि सेवा ?

त्यसैले स्वयमले अन्तरात्मालाई जगायन सकेमा, त्याग गर्न सिकेमा र सेवामा प्रेरित हुन् सकेमामात्र खुसि र शान्ति प्राप्त गर्न सम्भव हुन्छ । आफ्नो अलग कर्म र भाग्य अनुरुप आफैमा रमाउन सिकौं । अरुलाई नहेरौ । आफुलाई अरुसँग दाँज्ने काम नगरौं ।

आफैमा रमाउन प्रत्यक दिन सृष्टिकर्तालाई मानव जुनी दिएकोमा आभार व्यक्त गरौं । खुशी र शान्तिको एकमात्र उपाय हो । नियतबस कसैको नोक्सान नगरौं, सके सहयोग गरौं ।

सकारात्मक व्यक्तिको सोंच घर, परिवार, समाज, आर्थिक, सामाजिक दक्षता र योग्यता तथा चेतनाको स्तरको लागि अध्ययन अनिवार्य हुन्छ । सकारात्मक सोचको नीति सिद्धान्त प्राबिधिक जस्तो होइन कि खास प्रबिधिबाट प्रशिक्षण दिएर डाक्टर इन्जिनियर वा अन्य प्राबिधिक उत्पादन गरे जस्तो ।

वर्तमान विश्व भौतिक सुविधाको लालच एवं आडम्बरको साेंच र प्रतिष्पर्धाको महासागरमा चुर्लुम्म डुबेको छ । सकारात्मक सोचका प्रेरक वाचक, अभियन्ताहरुको दैनिकी हेर्नुस्, सुविधाका आडम्बर हेर्नुस । प्रेरक वा सकारात्मक सोचमा वाचक अभियन्ताहरु पनि त्यति बेलासम्म हासेको देखिन्छ, जति बेला सम्म प्रतिप्रश्न गर्ने कोही हुन्न । अगाडि रहेकालाई भ्रममा पार्न सफल छु भन्ने विश्वस्त हुँदासम्म र माग बमोजिम दक्षिणा प्राप्त हुँदासम्म ।

सकारात्मक सोचको व्यहावरमा कार्यन्वयन त आत्मबोध, गहन अध्ययन, सकारात्मक एकाग्रता र कठोर प्रतिबद्धताबाट सम्भव हुन्छ । थोपरिएको प्रवचनबाट होइन । त्यसका लागि आत्माबाट अभिप्रेरित हुनुपर्छ । त्यागको आवश्यकता पर्छ ।

प्रेम के हो ? सेवाभाव कस्तो हुन्छ ? जीवन मृत्यु को रहस्य के हो ? म र मेरो कर्तब्य के हो ? मेरो जन्मको सार के होला ? सत्यलाई कसरी पाउने ? कसैको आँखामा न बिझाउन मैले के कति त्याग गर्न सक्छु ? क्षमाशिलता भनेको के हो ?

यी र यस्तै प्रश्न हरुको जवाफ स्वयम् खोज्न थालेको दिन शुख र शान्तिको बिहानी वा सुर्योदय मनमा हुन्छ । विचारमा ज्योतिले प्रवेस गर्नेछ । जीवन सहज र सरल एबम तनावमुक्त हुनेछ । आफुले आफैलाई चिन्ने क्षमताको पहुचमा पुगेर आत्मबोध भएको दिन जीवनको यथार्थताको अनुभूति हुन्छ जुन समय मानव जीवनको अन्तिम र निरिह अवस्था हुनेछ ।

लेखकका कृतिहरु ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com