नेपालीले सिधै भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने नियमले कस्लाई पार्छ असर ?


प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार

नेपाली नागरिकले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेश गरी भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने भएका छन् । यो नियमले कसलाई कति प्रभाव पार्छ भन्नेबारेमा अन्यौल श्रृजना भएको छ ।

यसबारेमा कसलाई असर पार्छ ? कसलाई पार्दैन ? यसबारेमा हामीले नेपालको परराष्ट्रमन्त्रालयका अधिकारीसँगको कुराकानीका आधारमा हामीले बुंदागत सुझाव तयार पारेका छौं ।

१, म नेपालमा बस्छु । तर विदेश घुम्न जाँदैछु । म स्थलमार्गबाट भारतीय विमानस्थलमा गएर त्यहाँबाट तेश्रो मुलुकमा जान सक्छु ?

यदि तपाई नेपालमा बस्नुहुन्छ र कुनै देशको भिसा लगाएर घुम्न जाँदै हुनुहुन्छ भने तपाई सबैभन्दा धेरै यो नियमबाट प्रभावित हुनुहुनेछ । यस्तो अवस्थामा तपाई स्थलमार्गबाट भारतीय विमानस्थलमा गएर त्यहाँबाट विमान चढेर तेश्रो मुलुक जानमा समस्या आउनेछ ।

२, म नेपालमा बस्छु । विदेशको आप्रवासी भिसा लिएर उतै बसोबासका लागि जाँदैछु । म स्थलमार्गबाट भारतीय विमानस्थलमा गएर त्यहाँबाट तेश्रो मुलुकमा जान सक्छु ?

यदि तपाई नेपालमा बस्नुहुन्छ र तेश्रो मुलुकमा ग्रिनकार्ड वा पीआर लिएर उतै बस्न जाँदै हुनुहुन्छ भने तपाई सबैभन्दा धेरै यो नियमबाट प्रभावित हुनुहुनेछ । यस्तो अवस्थामा तपाई स्थलमार्गबाट भारतीय विमानस्थलमा गएर त्यहाँबाट विमान चढेर तेश्रो मुलुक जानमा समस्या आउनेछ ।

यदि तपाई विदेशमा बस्नुहुन्छ र नेपाल जाँदा नेपालको त्रिभुवन विमानस्थलमा झर्नुभएको छ । तर विदेश फर्कदा स्थलमार्गबाट भारतीय विमानस्थलमा गएर त्यहाँबाट आउन चाहनुभएको खण्डमा समस्या आउनेछ ।

३, म साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बराइन, इराक, लिबिया र लेबनानमा कामका लागि जाँदैछु तर मसँग नो अब्जेक्सन लेटर छैन । मलाई म स्थलमार्गबाट भारतीय विमानस्थलमा गएर त्यहाँबाट तेश्रो मुलुकमा जान समस्या हुन्छ ?

समस्या हुन्छ । यदि तपाई साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बराइन, इराक, लिबिया र लेबनानमा काममा लागि जाँदै हुनुहुन्छ तर तपाईसँग श्रम स्वीकृति र नो अब्जेक्सन लेटर छैन भने तपाई स्थलमार्गबाट भारतीय विमानस्थलमा पुगेर ती देशहरुमा जान सक्नुहुनेछैन ।

४, म साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बराइन, इराक, लिबिया र लेबनानमा कामका लागि जाँदैछु तर मसँग नो अब्जेक्सन लेटर र श्रम स्वीकृति छ । मलाई म स्थलमार्गबाट भारतीय विमानस्थलमा गएर त्यहाँबाट तेश्रो मुलुकमा जान समस्या हुन्छ ?

यदि तपाई साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बराइन, इराक, लिबिया र लेबनानमा काममा लागि जाँदै हुनुहुन्छ तथा तपाईसँग श्रम स्वीकृति र नो अब्जेक्सन लेटर छ भने तपाई स्थलमार्गबाट भारतीय विमानस्थलमा पुगेर ती देशहरुमा जान सक्नुहुनेछ । तर भारतीय विमानस्थलमा हुनसक्ने समस्या, सोधपुछ र झमेलाबाट बच्न सकभर सिधै नेपालको विमानस्थल प्रयोग गरेर जान सुझाव दिइएको छ ।

५, म विदेशमा बस्छु । मसँग नेपाली पासपोर्ट छ । म भारतीय विमास्थलमा झरेर बाहिर निस्केर त्यहाँबाट विमान चढेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जान चाहन्छु र फर्कदा स्थलमार्गबाट भारतीय विमानस्थलमा आएर विदेश फर्कन चाहन्छु । के समस्या हुन्छ ?

समस्या हुनसक्छ । यदि तपाई भारतीय विमास्थलमा झरेर बाहिर निस्केर त्यहाँबाट विमान चढेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानुहुन्छ भने तपाईको पासपोर्टमा नेपालको अध्यागमनले आगमनको छाप लगाउँछ । तर फर्कदा स्थलमार्गबाट भारतीय विमानस्थलमा आउने क्रममा नेपालको अध्यागमनले प्रस्थानको छाप लगाउँदैन । प्रस्थानको छाप नभएका कारण तपाईलाई स्थलमार्गबाट भारतीय विमानस्थलमा आएर विदेश फर्कन समस्या हुनसक्छ ।

६, म विदेशमा बस्छु । मसँग नेपाली पासपोर्ट छ । म भारतीय विमास्थलमा झरेर बाहिर निस्केर स्थलमार्गहुँदै नेपाल जान चाहन्छु र फर्कदा पनि स्थलमार्गबाट भारतीय विमानस्थलमा आएर विदेश फर्कन चाहन्छु । के समस्या हुन्छ ?

यदि तपाई भारतीय विमास्थलमा झरेर स्थलमार्गबाट नेपाल जानुहुन्छ भने तपाईको पासपोर्टमा नेपाल गएको र फर्केको प्रमाण वा रेकर्ड हुनेछैन । तपाईले भारतीय अध्यागमनलाई आफू भारतमामात्र घुम्न गएको भनेर झुठो बोल्नुभयो र सोधपुछका क्रममा तपाईले झुठो बोलेको आशंका भएमा तपाईलाई भारतीय अध्यागमनले भारतीय विमानस्थलको प्रयोग गरेर फर्कनमा रोक लगाउनसक्छ । खासगरी अमेरिका लगायतका मुलुकमा एसाइलम गरेर भारतीय विमानस्थलमा झरेर स्थलमार्गहुँदै नेपाल गएर फर्कनेहरुलाई यसबाट समस्या हुनसक्छ ।

७, म विदेशमा बस्छु । मसँग नेपाली पासपोर्ट छ । म भारतीय विमास्थलमा झरेर भारतमा आफन्तहरुलाई बोलाएर भेटेर भारतबाटै फर्कन चाहन्छु । के समस्या हुन्छ ?

यदि तपाई भारतीय विमास्थलमा झरेर भारत घुमेर वा त्यहाँ आफन्तलाई भेटेर फर्कनुहुन्छ भने तपाईलाई नियमत समस्या हुनेछैन । तर तपाईले भारतीय अध्यागमनलाई आफू भारतमामात्र घुम्न आएको कुरा पुष्टी गर्नुपर्ने हुनसक्छ । तपाईले भारतमा नै बसेको र घुमेको प्रमाण देखाउनुपर्ने हुनसक्छ । सोधपुछका क्रममा तपाईले भारतमामात्र घुमेको प्रमाणित गर्न नसक्नुभएमा तपाईलाई भारतीय अध्यागमनले भारतीय विमानस्थलको प्रयोग गरेर फर्कनमा रोक लगाउनसक्छ । खासगरी अमेरिका लगायतका मुलुकमा एसाइलम गरेर भारतमा गएर आफन्त भेटेर फर्कनेहरुलाई समस्या हुनसक्छ ।

८, म विदेशमा बस्छु । मसँग नेपाली पासपोर्ट छ । म भारतीय विमास्थलमा झरेर बाहिर निस्केर त्यहाँबाट स्थलमार्गबाट नेपाल गएर फर्कदा काठमाडौंको विमानस्थलाबाट विदेश फर्कन चाहन्छु । के समस्या हुन्छ ?

तपाईलाई कुनै समस्या हुनेछैन । तपाईले नेपाली पासपोर्टमा नेपालको विमानस्थल प्रयोग गरेर तेश्रो मुलुक जानमा समस्या हुनेछैन, चाहे तपाईले नेपाल जाँदा भारतीय विमानस्थलमा झरेर स्थलमार्गबाट नै किन नजानुहोस् । नेपालको सरकारले पनि नेपालबाट स्थलमार्ग प्रयोग गरी तेश्रो मुलुक उडान गर्न खोज्दा आइपर्ने समस्याबाट बच्नका लागि नेपाली नागरिकलाई काठमाडौंस्थीत अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न नै विशेष अनुरोध गरेको छ ।

९, यो नियम किन ल्याइएको हो ?

खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करी समेत हुनेगरेकाले नेपाली नागरिकको प्रस्थान अनुमति सम्बन्धमा नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपाली नागरिकको पासपोर्टमा प्रस्थान छाप नदिने र नलगाउने व्यवस्था ल्याएको हो । यसको कार्यान्वयन गर्न विभागले निर्देशन दिइसकेको छ । स्थलमार्गबाट जाँदा नेपालको अध्यागमन कार्यालयले प्रस्थान छाप नलगाउने भएपछि उनीहरुको पासपोर्टमा भारतीय अध्यागमन विभागले समेत आगमन छाप नलगाउने भएको छ । जसका कारण उनीहरुलाई भारतीय विमानस्थलको प्रयोग गरी उड्न दिइनेछैन ।

१०, यो नियमबाट सबैभन्दा बढी को प्रभावित हुनेछन् ?

भारतीय विमास्थलको प्रयोग गरेर विदेश घुम्न जानेहरु प्रभावित हुनेछन् । त्यो बाहेक विदेशमा स्थायी बसोबासका लागि पहिलोपटक जानेहरु प्रभावित हुनेछन् । भारतीय विमानस्थलमा अवतरण गरेर स्थलमार्गहुँदै नेपाल जाने र स्थलमार्ग हुँदै भारतीय विमानस्थलमा आएर अमेरिका आउने नेपालीहरु समेत ठूलो संख्यामा रहेका छन् । उनीहरुले भारतीय विमानस्थलमा अनावश्यक सोधपुछ र झमेलाको सामना गर्नुपर्ने हुनसक्छ । भारतसँग सिमा जोडिएका क्षेत्रका कैयन नेपालीहरुलाई भारतीय विमानस्थलको प्रयोग गरेर विदेश जाँदा सस्तो र सजिलो हुँदै आएकोमा उनीहरु प्रभावित हुनेछन् ।

नोट : भारतीय विमानस्थलको प्रयोग गरेर तेश्रो मुलुक जाने नेपालीहरुलाई भारतीय अध्यागमन अधिकारीहरुले अनावश्यक सोधपुछ गर्ने, दुख दिने, फर्काइदिने जस्ता समस्याहरु आउने गरेकाले विदेश जाँदा आउँदा नेपालकै विमानस्थलको प्रयोग गर्न सुझाव दिइएको छ । त्यस्तै भारतीय नागरिकहरु पनि स्थलमार्गबाट काठमाडौं आएर तेश्रो मुलुक जान नपाउने नियम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com