सँगै यात्रा गरेका श्रीमान र छोरीको शव पनि हेर्न नपाउँदा मुर्छा पर्छिन् कल्पना


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै, काखमा छोरी, डडेल्धुरा जिल्लाको सदरमुकाममा बसाइ । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देख्नुभएको थिएन अमरगढी नगरपालिका–४ कि कल्पना विष्टले तर अहिले उहाँसँग त्यस्तो सुखी र खुशी परिवार छैन । सबै खोसियो । आफैँ पनि अर्काको सहाराबिना बाँच्न सक्ने अवस्थामा हुनुहुन्न ।

उहाँ घाइते मन र शरीर लिएर बाच्नुभएको छ । भन्नुहुन्छ– त्यो खुशी आज यो पीडामा बदलिएको छ । तर बाँच्नुबाहेकको अर्को विकल्प पनि छैन । विसं २०७१ असोज २० गते डोटीको जोरायल गाउँपालिका, २ ९तत्कालीन छतिवन गाविस वडा ५० कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले श्रीमान् र छोरी गुमाउनुभयो र आफू पनि कहिल्यै निको नहुने गरी घाइते हुनुभयो । दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्र सँगसँगै खुशीसाथ जीउने वाचासहित डडेल्धुराका लक्ष्मण ठकुराठीसँग विवाह गर्नुभएकी कल्पनासँग अहिलेसँगै जिउने कल्पना मात्र छ । भन्नुहुन्छ– सँगै जिउनेसँगै मर्ने वाचा थियो, तर न जिउन नै पाएँ र नत सँगै मर्न नै । उहाँ अहिले काभ्रेको ‘स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ मा हुनुहुन्छ ।

माइतीघर जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दशैँको टीका थापेर सपरिवार घर फर्किरहेका बेला भएको उक्त बस दुर्घटनाले अनायास कल्पनाको जीवनमा यो विछोड ल्याइदियो । उहाँको जीवन क्षणभरमै उजाड बनाइदियो । मेरुदण्डमा चोट लागेपछि पक्षाघात भएकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको घाइते शरीर पनि हेर्न पाउनुभएन । दुर्घटनामा घाइते भइसकेपछि कल्पनाले जीउने आश पनि मारिसक्नुभएको थियो तर अहिले सामान्य रुपमा हिँडडुल गर्न सक्नुहुन्छ । त्यसो त चिकित्सकको आश्वासनले उहाँ पहिलेजस्तै हिँड्डुल गर्नसक्ने आशमा हुनुहुन्थ्यो । “तत्कालै सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नु, विस्तारै ठीक भइहाल्छ भनेर फिर्ता पठाएका थिए”, कल्पना भन्नुहुन्छ, । “तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसेँ, तर निको भएन”, कल्पना भन्नुहुन्छ ।

एक महिनासम्म विभिन्न अस्पतालमा जाँच गराउँदा मात्र कल्पनालाई थाहा भयो कि अब उहाँ कहिल्यै हिँड्न सक्नुहुने छैन । मेरुदण्डको पक्षाघातको उपचार सम्भव नभएको कुरा उहाँलाई नयाँ दिल्लीमा केही समयको उपचारपछि थाहा भयो । भारतको नयाँ दिल्लीबाट फर्केपछि उपचारका लागि कल्पना काभ्रे जानुभयो । दिसा पिसाब भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पूर्णरुपमा निस्कृय भएकी कल्पनालाई पुनःस्थापना केन्द्रमा मेरुदण्ड पक्षघात भएकाले कसरी जिउने भन्ने कला सिकाइयो । अहिले उहाँ त्यही पुनःस्थापना केन्द्रमा परामर्शदाताका रुपमा काम गरिरहनुभएको छ ।आफ्नो विगत सम्झिन त म लाग्दैन तर भक्कानिँदै कल्पना भन्नुहुन्छ, “यो अवस्था होला भन्ने सोचेकी थिइन, हासीखुशी जीवन बित्ला भन्ने कत्रो आशा थियो तर अहिले आएर यसरी अर्काको सहारामा बाच्नुपर्ने भयो ।” परिवार गुमाउनुभएकी कल्पनाले तर हिम्मत भने हार्नुभएको छैन । भन्नुहुन्छ, “मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ, जे भयो त्यसैलाई सधैँभरि सम्झेरमात्र के गर्नु रु”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कल्पनाको जस्तै कष्टप्रद जीवन जिउनुभएको छ ३५ वर्षीया कृष्णा शाहीले पनि । कैलालीको तेघरीमा बस्दै आएकी कृष्णाको परिवार पनि दशैँ मनाउन जिल्लाको जोरायल गाउँपालिकामा जाँदै थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैँ मनाउन आएका उनी र श्रीमानलाई पनि यही दुर्घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो । कृष्णाका श्रीमान राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भयो । कृष्णा पनि कल्पनाजस्तै मेरुदण्ड पक्षाघात भएर बाँचिरहनुभएको छ । “यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौँ”, कृष्णाका भतिज शेरबहादुर शाही भन्नुहुन्छ, “काकाहरुको जीवन हाँसीखुशी बितेको थियो तर दैवले एका एक उजाड गरिदियो ।”

मेरुदण्ड पक्षाघात भएर दिसा पिसाब भएकोसमेत थाह नपाउने कृष्णालाई अहिले उहाँका नाबालक छोराछोरी र भतिजा बुहारीले बाँच्ने सहारा दिइरहेका छन् । विसं २०७१ असोज महिनामा विजयादशमीको भोलिपल्ट ना ३ ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी स्थानीय २९ ले अकालमै ज्यान गुमाएका थिए भने ६८ घाइते भएका थिए ।बसमा १२५ भन्दा बढी यात्रु रहेको प्रहरीको भनाइ छ । यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको बताइएको थियो । त्यस दुर्घटनाग्रस्त बसका चालक विष्णु साहु अहिले कारागारमा कैद भुक्तान गरिरहेका छन् । जिल्लामा वर्षेनी दशैँ तथा तिहारको समयमा ठूला दुर्घटना हुने गरेका छन् । चाडबाडको समयमा बढीजसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा कडाइ गर्दै आए पनि चालकको लापर्वाही भने भइरहन्छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम बढ्न थालेको दिपायलका स्थानीय समाजसेवी घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वकै बेलामा जिल्लाका ठूला सवारी दुर्घटना हुन्छन, प्रहरी पनि यसैबेला बढी सक्रिय हुन्छन् तर पनि दुर्घटना भने रोकिँदैन ।”चाडपर्वमा भएका सवारी दुर्घटनामा मात्र जिल्लामा १०० भन्दा बढीले अकालमै ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको तथ्याङ्क छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामी गाउँका सडकमा ट्राफिक प्रहरी नहुने तथा चालकले सवारीमा आफूखुशी क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनी दुर्घटना हुने गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हाम्रो जनशक्ति ग्रामीण सडकमा छैन, चालकले मनपरि गर्ने गरेका कारण दुर्घटना बढ्ने गरेको हो ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com