मनोवाद : डिभी परेर रुदै अमेरिका आएपछिका दिनहरु…


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

 – रश्मी भट्ट

डिभी लोटरीको फाइनल नतिजाबाट अमेरिका आउन पाउने टुङ्गो लागेपछि टिकट काट्नु अगाडि मनमा जाने या नजाने बीच लाखौ , करोडौं सोच र चिन्ताका श्रृङ्खलाहरू छुटे , छुटीरहे । पूरा बन्दोबस्त मिलाएर दुई चार बर्ष बस्ने गरी जाने या छ, छ महिनामा आउने जाने गरी जाने ? यी दुई मुख्य बिन्दुमा पुगेपछि पहिलोले जित्यो ।

चाहे जस्तै सबै बन्दोबस्त त किन मिल्थ्यो र ? सक्दो मिलाउने प्रयास गरियो। मसँगै जाने मेरा प्रियजनहरूले के के सोंचे कुन्नी ? तर म भने मनमा छिटै बीच बीचमा फर्कने गरी टिकट काट्न राजी भएँ ।

मेरा मान्छेले अठार बर्षको राम्रै सरकारी जागिर राजिनामा पड्काए भने मलाइ झन् बोर्डिङ स्कूलको जागिर पड्काउन के आइतवार ? पड्काएँ । किन जाने ? के गर्न जाने अर्काको देशमा ? सधै बस्ने कि नबस्ने ? ईच्छा नलागे डिभी नै नभरेको भए हुन्थ्यो । भरेर परे पनि रिजेक्ट गरेर बसे भैहाल्थ्यो । जानी जानी माता र मातृभूमि छोड्नु एक प्रकारले अपराध हो कि जस्तो पनि लाग्यो ।

त्यसमाथि पच्चिस बर्ष लगाएर अनेकौं दुख पीडा र संघर्ष गरेर पढेको पढाइ , हुँदा खाँदाको जागिर, दुखले जोडेको रामझुपडी , जे जति पाएको , बनाएको पहिचान सबै गुमाएर फेरी शुन्यबाटै संघर्ष गर्न किन होमिने ? पीडै पीडाको भुमरीमा डुबीरहेको बेला मेरा हस्याङ्फस्याङ र भागदौड देखेर केही अन्तरमुखी मित्र जस्ताहरूबाट सोधनी पनि भयो । आफू त खुला किताब ! बताइदिएँ फररर – म डिभी परेर अमेरीका जॉदैछु ।

अमेरीका जान पाउँदा नि के को रूवावासी रे केको नखरा पारेको रे ! भित्र भित्र धेरै पटक अमेरीका आउने प्रयत्न गर्दा गर्दा गुल्टुङ खानु भएकोहरू हुनुहुँदोरहेछ ! यसै त विरलै शुभ चिन्तक भएकी म । झन् प्रष्ट पार्दाको आपत् ।

साँच्चै भन्ने हो भने वैज्ञानिकहरूले पनि जति धाक लगाए पनि आजसम्म भावात्मक कुरा नाप्ने मेशीन किन बनाउन नसकेकेका होलान् साँच्चै मान्छे भित्र ! के भाव चलिरहेको छ ! ऊ साँच्चै खुशी वा दुखी के छ कसरी थाहा पाउने ? जसले जे अनुमान गरेर प्याच्च भने भैहाल्यो ।

जीवनमा एक दुइपटक भएपनि नयाँ नयाँ ठाउँहरू , देश बिदेश घुम्ने देख्ने इच्छा कसलाई हुॅदैन र ? हुँदैमा पाइने , मिलीहाल्ने पनि होइन । देख्ने , घुम्ने चाह थियो मलाइ पनि । अहिले मिल्यो , जानैपर्छ , मन सकारात्मक भयो ।

संसारका धेरै मान्छेले हेर्न र बस्न मरिहत्ते गर्ने देश अमेरिका भाग्यले हेर्न देख्न पाइन्छ । दशौ करोड भएर पनि, मन्त्री, सांंसद , बलवान नेता जे भए पनि भिसा नलागेर जान नपाएर रूनेहरू हुँदारहेछन् । । आमा बाबु एकातिर , बच्चाबच्ची अर्कोतिर भेट्न जान लाख प्रयत्न गर्दा पनि नमिलेर तीन मुर्छा पर्नु पर्दोरहेछ ।

म त बिदेशै बस्ने हो , बिदेशै जाने हो । मेरो अनुहार , हाउभाउ , पढाइ लेखाइ , सबै बिदेशमा बस्ने जस्तो छ । मेरो चाहना , सपना , जपना विपना विदेश हो भनेर तीन मुर्छा खेल्नेले पनि अमेरीका सजीलै आउन नपाउने नै रहेछन् ।

आएर सुख दुख जे भोग्नु परेपनि आउन पाउने हुनु नै एउटा महाभारत रहेछ । भााग्यले दियो , हेरेरै छाडौं । आफ्नै हातले नभरे पनि भाग्यले मेरै नाममा पठाएको डिभी चिठ्ठा खेर फाल्ने मन भएन । म जाने कुराले ‘हामी जस्ता पाइण्ट टिसर्ट लाउने , मोर्डन , स्मार्ट सुन्दर सुन्दरी विकशितहरुलाई नपरेर त्यस्ता सिम्पललाई पर्ने’ भनेर निकै खासखुस चल्यो रे वरीपरी । र अलिक टाढा टाढा पनि । कसै कसैले सामुन्नेमै भनेकाले विश्वास पनि लाग्यो ।

म जाने कुराले धेरैलाई दुख होइन ईर्ष्या जस्तो भयो । मनलाई दर्हो गरेर आफूले दुखले जोडेका ,जगेर्ना गरेका, सम्पुर्ण वस्तुहरूलाई ,आमा , देश र सहोदरलाई केही समयका लागि परित्याग गरेर निस्कँदा आँखाबाट झर्ने बर्षालाई रोक्न सकिन ।

घर अगाडिको सानो कौसी जस्तो बारीको माटो , गमलाको तुलसीको माटो हातमा लिएर ढोगें र कसैलाई नहेरी आँखा चिम्म गरेर ट्याक्सी हुॅदै एअरपोर्ट भित्र पुगें । सन् २०१३ को जुलाई २६ का दिन सपरिवार अमेरिका उडियो । प्लेनको यात्रा पहिलो नभएकोले थोरै डर र पीर बाहेक कुनै उत्साह भएन । छोरीहरू आमा बाबुका साथमा रमाए, उत्साही देखिए ।

सकुशल आइयो , यसैमा सबै भन्दा खुशी लाग्यो । एअरपोर्टमा लिन आउँछु भनेर नआउने , होटलमा खाने बस्ने व्यवस्था गर्न नसकेर, डलर खर्च गर्न नसकेर तथा डलरै डलर भएपनि साथी तथा आफन्तको सहयोग विना वित्यास पर्ने अनेकौ अवस्थाको सामना हामीले गर्नुपरेन ।

निकटतम आफन्तको मीठो आतिथ्य ग्रहण गरियो । बसीयो खाइयो । केही दिन घुमियो, फिरीयो, रमाइलो लाग्यो । मोटामोटी न्युयोर्क शहर चिनियो । जसले जति नै मायाँप्यार वा आड आधार दिए पनि सधै त हुँदै हुँदैन । त्यसमाथि जस्तो भएपनि मान्छेलाई आफ्नै चाहिन्छ । अव आफ्नै गास बास कपासको लागि काम खोज्न पर्यो । तव शुरू भयो बिदेश केहो ?

आफ्ना देशको पढाइ लेखाइ र सर्टिफिकेट अनुसार कुनै काम नपाउने , जहाँ जुन काम गरेपनि चित्तै नबुझ्ने । सबै नयाँ शिराबाट सिक्नै पर्ने । गर्न मिल्ने जुनसुकै काम गर्न तयार हुँदा पनि भनेजस्तो काम नपाउने ! पाइहाले पनि कति दिन, कति घण्टा कुन समय भनेर कैल्यै , कैल्यै एकीन नहुने ! राती दिउॅसो ,बिहान उनीहरूकै मर्जी ।

एक हप्ताको लागि मात्र एउटै समय पाए पनि फनफनी नाचे हुन्छ । पढ्नै सकिन्न । भाषा राम्रो छैन । भएपनि , सकेपनि एउटा सानो स्तर पढ्नलाई पनि चार बर्ष र कम्तिमा पचास हजार डलर काँधमा ॠण बोक्न तयार हुनुपर्ने । चुक्ता नगर्दा सम्म ब्याजको भारी ।

निम्न आय र डिभी लोटरीबाट प्राप्त ग्रिनकार्डको सुविधा मार्फत पढेपनि बसेको दुई बर्ष हुनुपर्ने । दुइबर्ष सम्म खाने बस्ने बाँच्ने के ले ? त्यो पनि पुरा निशुल्क होइन ।

यस्तै , यस्तै अनेकौं कारणले पढिएन । नढाँटी भन्दा पढ्ने ईच्छा भएन , सकिएन , पढिएन । साना तिना काममै जिन्दगी चलीरहेछ । होटल , रेष्टुरेन्ट , लन्ड्री , बेबीसिटिङ्ग , हाउसकिपिङ्ग , क्लिनिक, टेक केयर अनेकौं पेशामा हात हालियो , छोडियो । बस् गुजारा चल्ने बाहेक केही गर्न सकिएन ।

हप्तामा कुनै पनि गर्न हुने , सक्ने र पाँच दिन पुरा काम र तलब पाए धन्य भयो । यसैमा मन खुशी । यही खुशी पनि टिकाउन कहाँ पाउनु ? त्यसमााथि पनि कुन दिन कति बेला के कारणले कामबाट हात धुनुपर्ने थाहै नहुने ।

काममा पाएका अपमान , धोका धपेडी ,दुख कष्टहरूले थुइक्क अमेरीका भनेर पनि भन्न पर्छ कहिलेकाँही । खुशी पनि भएँ, सुखी पनि भएँ तर थोरै मात्र । दुखकै पाटाहरू धेरै भोग्नु पर्यो ।

त्यसैले सुखै सुख छ आउ आउ बिदेश भनेर कसैलाई धाक लाउन चाँही सक्दिन । आउँदै नआउनुस , दुख मात्रै छ भनेर भन्न पनि सक्दिन । फेरी कोही मेरो अर्थात् अरूको लहैलहैमा आउने नआउने होइन । समस्यासँग जुध्न सके अमेरिका हेर्दै बॉच्न सम्म चाहिं सकिन्छ ।

विदेश बसेको छ भनेर आफन्तले डलरै डलर टिपेका छन् भनेर पैसा नमागे , जताततै चन्दा , समाजसेवा तथा ठगीका रूपमा साथीभाइले नठगे जीवन भनेकै गुजारा गर्ने त हो नि । कर्म गरेर आफ्नो पेट पाल्नु , त्यो पनि बिदेशी भुमीमा के यो ठूलो कुरा होइन र ? आफ्नो बाल बच्चालाई पाल्नु , हुर्काउनु पढााउनु , लेखाउनु के ठूलो होइन र ?

बृद्ध र धन नभए आमा बाबु ,दिदी बहीनी दाजु भाइलाई सहयोग गर्नुपर्छ तर सधै सकिंदैन । दाजु भाइले आफू मात्र नभएर छोरा नाती पनाति सम्मका लागि पनि मागीरहने हो भने माग्नेकै संस्कार बस्छ ।

बिरामी हुँदा , दैवी विपत्ति पर्दा सहयोग माग्नु नराम्रो होइन तर अरूले अहो रात्र पसिना बगाएर कमाएको पैसाले भड्किला विवाह , ब्रतबन्ध भोज भतेर गर्नु एक प्रकारले अपराध मात्र नभएर पाप पनि हो ।यस्ता कर्म गर्न हामीले परीवारका सबैलाई पैसा दिन नसकेर हामी किन दुखी हुने ?

उनीहरूले हामीलाई किन दुखी बनाउने ? सबैको ठेक्का त हामी लिन सक्दैनौं ।पैसा धेरै कमाउन सके माग्नै पर्दैन , दिएरै खाइन्छ ।

हो निराश भइरहे, नकरात्मक विचार मात्र पालिरहे यो सॅसार र मनुष्य चोला दुख बाहेक केही होइन । थोरै भए पनि सुखकै पाटोलाई हेरौं ।

के यस अघि जीवनमा सुख मात्र थियो त ? उच्च पहाडको जन्म , घनघस्याका जस्ता उकालो र ओरालो , काठमाण्डौंबाट बसमा एक दिन पैदल र एक दिन हिॅडेर जन्म घर पुग्नु सुखद थियो त ? र त्यहाँ सबै कुराको भने जस्तो सुख थियो त ?

अहँ पटक्कै थिएन तर मनमा सुखको आभाष गर्ने एउटा ठूलो तागत थियो त्यतिबेला ।

जीवन कम बुझेका थियौं , स्वर्गीय आनन्द थियो बस् त्यो आज छैन । त्यस्तै काठमाडौंका संघर्षका दिनहरू र संघर्ष पछिका दिनहरू सबै सुखमय नै थिए त ? अवश्य थिएनन् ।

कर्म नगरी कहॉ खान पाइन्छ र ? कर्मको प्रकारहरू मात्र फरक त हो नि । जागिरै खाएर घरै बनाए पनि पानीको हाहाकार , बिजुलीको हाहाकार , महङ्गी , अराजकता , हिंसा लुटपाट , चोरी ठगी । के यो सब सह्य थियो र ?

त्यस्तै धुलो , धुवॉ , अस्त ब्यस्त सडक , ठगी , भ्रष्टाचार के राम्रो छ र ? थियो र ? त्यो त यहाँ हामीले भोग्न पर्दैन । बिदेश सधै बस्ने हाम्रो चाहना थिएन , होइन । तर आएपछि सन्तानको मोहले र आफ्नै अनेकौं कारणले हामी छिटै फिर्न सक्दैनौं ।

बस्दा , बस्दा यहीं बुढो भइयो र मर्नु पर्यो भने ? अधिकाँश विदेशिएका नेपालीको चिन्ता नै यही हो । यसका बारे पनि किन चिन्ता लिनु ? यहीं बृद्ध भइसकेकाहरूलाई पनि चिन्ता नलागोस् , जहाँ मरे पनि मर्नै हो ।

आफ्नो स्टाटस साम्रो गरी बसेका छौं भने औषधी उपचार राम्रै मिल्ला । युवा उमेरकैहरूले यसबारे झनै चिन्ता नगरौं । जब के कर्म गर्ने , कहॉ गर्ने ,कहाँ बाँच्ने ? कति दिन बॉच्ने ? कहिले र कसरी मर्ने ? कुनै पनि हाम्रो वशमा नभएपछि यसको चिन्ता पनि बेकारै हो ।

विस्तृत दिमागले सोच्ने हो भने माटो सबैको साझा हो , पृथ्वी सबैको साझा हो । पृथ्वी भित्रका ईश्वर निर्मित सम्पूर्ण वस्तु पनि साझा हो ।समस्त ब्रम्हाण्ड नै एउटा सिङ्गो घर हो ।

कर्म गतिले , भाग्यका खेलले मान्छे विदेशिन्छ । नआएको भए आकाशको फल ऑखा तरी मर भन्ने पनि हुन सक्थ्यो । यो एउटा सुअवसर मान्यौ भने अवश्य चित्त बुझ्छ ।

पृथ्वीलाई रेखाङ्कन नगर्दा , थोरै थोरै भागवणडा नगर्दा , सीमारेखा नकोर्दा अस्त ब्यस्त हुन्छ , त्यसैले मात्र होला । आखिर धारा , खोला , खोल्सा , छहरा नदी , कुवा , पोखरी तलाउ आदिका थोपा थोपा पानी पनि आएर मिल्ने भनेको समुद्रमै हो । यही महासागरमै हो । हामी यही महासागरीय देशमा नै बसीरहेका छौं ।

मरेका हाम्रा सम्पूर्ण आफन्त , अग्रज , अनुज , साथीभाइ , ईष्टभित्र सबै अस्तुका रूपमा पनि यही महासागरमा आइसके । जिउॅदै कर्म गर्न , घुम्न जो आउँछन्, उनीहरूसँग भेट हुने पनि यही हो ।

अकाल त थाहा छैन ,समय पुगेरै कथम्कदाचित देश फर्कन नसकी यही समाप्त भइयो भने पनि यही सबैसँग भेट हुने नै छ । के को चिन्ता ? जति दुख पीडा , वैराग्य भए पनि तिनीहरूलाई हटाउन एउटा सानै खुशी र थोरै भए पनि आत्मबल , हिम्मत साहस र सकरात्मकता नै काफी हुन्छ ।

लेखिका: रश्मी भट्ट

 

कभर फोटो : काठमाडौं पोष्ट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com