गौतमबुद्ध विमानस्थल आयोजनाको समय ३ महिना थप


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न ३ महिनाको समयावधि थप गरिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले जनवरी ७, २०२० अर्थात ०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समयसहित ठेक्का पाएको थियो । ठेकेदार पक्षले तोकिएको समयमा ८६ प्रतिशत मात्रै भौतिक काम सम्पन्न गरेको देखिएको छ ।

ठेकेदार पक्षले अझै तीन महिना म्याद थपको माग गरे अनुसार एशियाली विकास बैंक (एडिबी) को सहमतिमा प्राधिकरण सञ्चालक समितिले समय थप गरेको राष्ट्रिय गौरवको आयोजना निर्देशक प्रदीप अधिकारीले बताए । उनले भने, ‘मार्च ३१, २०२० अर्थात आगामी चैत १८ गतेसम्म म्याद थप भएको छ ।” सन् २०१४ डिसेम्बर ३१ मा कार्यादेश पाई त्यसै अनुरुप विमानस्थलको स्तरोन्नतिका लागि सन् २०१७ जुन २ अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी बोलपत्र आह्वान भएको थियो । विश्वव्यापी बोलपत्र आह्वानमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ‘टेन्डर’ पारी आवश्यक सम्झौता गरी २०७१ माघ १ गतेदेखि निर्माण गरेको थियो । शुरुमा कूल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको भए पनि उक्त रकममा पुनः ‘भेरिएसन’ भएको छ ।

निर्धा्रित समयमा काम नसकिएपछि पुनः सन् २०१८ जनवरी १ सम्मका लागि म्याद थप भए पनि थपिएको म्यादमा काम सम्पन्न नभएपछि फेरि २०१९ जुन २८ सम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः जनवरी ७, २०२० अर्थात ०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समय सीमा दिइएको थियो । उक्त अवधिमा पनि काम सम्पन्न नभएपछि प्राधिकरणले अन्तिम सीमा भन्दै तीन महिना समयावधि थपेको छ । आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अब ४ प्रतिशत सिभिलको काम र १० प्रतिशत विद्युतीय तथा उपकरणसम्बन्धी काम बाँकी छ ।

यसैगरी आइसिपी–२ मा उपकरण जडान र फाउन्डेसनको काम बाँकी रहेको आइसिपी–२ हेरिरहेका उपनिर्देशक प्रवीण न्यौपानेले बताए । उनले भने, “सञ्चार (कम्युनिकेशन), पथ प्रदर्शन (नेभिगेशन) जहाजलाई कुन दिसामा लाने भन्ने र मौसम मेटेरोलोजी सम्बन्धी काम आइसिपी–२ मा हुन्छ । त्यसका लागि उपकरण ९० प्रतिशत आइसकेको छ । तर आइसिपी १ र २ अन्तरसम्बन्धित छन् ।” आइसिपी–१ कै कारण आइसिपी–२ को काममा ढिलाइ भएको न्यौपानेले बताए । उपनिर्देशक न्यौपानेले सबै काम सक्दा पनि अझै कम्तीमा तीन महिना लाग्ने बताए । विमानस्थल निर्माणका क्रममा बारम्बार समायवधि थपिँदा भेरिएसनसमेत बढेर गएको छ । अहिले नौ दशमलव ६२ प्रतिशत भेरिएसन भई ६ अर्ब ८२ करोड २६ लाख १८ हजार ७६ रुपैयाँ ८५ पैसा हुन पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्झौता अनुसार २०१९ डिसेम्बर ३१ सम्म आइसिपी–१ र २०२० जनवरी ७ सम्ममा आइसिपी–२ को सबै काम सम्पन्न गर्नुपर्ने थियो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै नसकिनुको पछिल्लो कारण खुल्न सकेको छैन तथापि ठेकेदार पक्षले चाडपर्व र मौसमी कारणले ढिलाइ भएको बताएको छ । यसअघि तीन पटकसम्म समयावधि थप्दा विद्युतलाई मुख्य समस्या देखाइएको थियो । गत मङ्सिर १८ गते नेपाल विद्युत् प्राधिकरण भैरहवाले ११ हजार भोल्टेजको चार मेघावाट क्षमताको डेडिकेटेड लाइन विमानस्थलमा जडान गरिसकेको छ । विद्युत् जडान भए पनि अहिलेसम्म विद्युतीय काम भने हुन सकेका छैन ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदारले कामबापत अहिलेसम्म रु तीन अर्ब ७६ करोड बुझिसकेको छ । विमानस्थलको कन्सलट्यान्टको जिम्मा युसीन कोरियन कन्सलट्यान्ट र आयोजना क्यानले संयुक्तरूपमा गर्दै आएका छन् । विमानस्थल निर्माणका लागि ६२५ घर परिवार यतिबेला मुआब्जा रकम बुझेर अन्यत्र गइसकेका छन् । सरकारले मुआब्जाका लागि मात्रै २३ अर्ब ५९ करोड विनियोजन गरेको मध्ये २१ अर्ब वितरण गरिसकेको छ । आयोजना प्रमुख अधिकारी भन्छन्, “मुआब्जा ९३ प्रतिशत वितरण भइसकेको छ । अब कुनै समस्या छैन । तथापि समयमा काम नसकिएकोले म्याद थप गरिएको छ ।”

वि.सं. २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । वि.सं २०६१ अघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकामा २०६३ सालमा २१३ बिघा चार कठ्ठा १५ दशमलव ७५ धुर थप भएको थियो । पछि थप ५०० बिघाको मुआब्जा वितरण भएको थियो । यसरी निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्वमा ७८७ बिघा सात कठ्ठा १५ दशमलव ७५ धुर हुन पुगेको छ । अहिलेसम्म पोखरामा तीन हजार ७०० रोपनी र काठमाडौँमा सात हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहँदा भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो । नयाँ थपिएको जग्गामा राडार, सुरक्षा, ह्यङ्गर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिङ, अर्को पार्किङ स्थल र अझै एउटा टर्मिनल भवन बनिरहेका छन् । –रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com