अस्ट्रेलियामा आगलागी : राजधानी क्यानबेरामा आपतकाल घाेषणा


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

अस्ट्रेलियाकाे राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ । गएकाे सेप्टेम्बरयता फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गएको छ भने हजारौँ घरमा क्षति पुगेकाे छ ।  यस्तै एक करोड ११ लाख हेक्टर क्षेत्रफलकाे जमिन डढिसकेको छ ।  अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । आगलागीबाट मुख्य प्रभावित दक्षिणी क्षेत्रमा मात्र १८ हजार पाँच सयभन्दा बढी हेक्टर जमिन सखाप भैसकेको छ ।

अग्नि नियन्त्रकहरु ४० डिग्रीको तापक्रममा तीव्र गतिको हावाको वेगमा आगो निभाउन जुटिरहेका छन् । आगोलाई नियन्त्रणमा लिन कठिन भैरहेको अग्नि नियन्त्रकहरुले बताएका छन् । आगलागीको जोखिम कम नभएसम्म आपतकाल लागू हुने अधिकारीहरुले बताएका छन् । -एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com