पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो ।

‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताए। “हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौँ, अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौँ”, उनले भने। नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो सङ्ख्यामा आम नागरिक तथा सवारी साधनहरु अलपत्र परेको पत्रकार राहत शिन्वारीले सिन्ह्वालाई जानकारी दिए । “नाका अहिले बन्द अवस्थामा रहेको छ”, शिन्वारीले भने ।

अफगानिस्तानको पूर्वी नानगार्हार प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन् । नानगार्हारका प्रवक्ता अतुल्लाह खोग्यानीले दुवै देशका अधिकारीहरुका बीचमा कुराकानी भइरहेको जानकारी दिए । उनीहरुले नाका पुनः खुला गर्ने बारेमा पनि कुरा गरेका खोग्यानीको भनाइ छ ।-सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com