दाजुभाई दिदीबहिनी ग्रिनकार्ड पाउने अवधि ६ महिना बढ्यो, अब साढे १३ बर्ष
प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार
अमेरिकी नागरिकता प्राप्त व्यक्तिले आफ्ना दाजुभाई दिदीबहिनीहरुका लागि दिएको ग्रिनकार्ड आवेदनका लागि लाग्ने अवधि जनवरी महिनाका लागि ठ्याक्कै १३ बर्ष रहेकोमा फरबरीका लागि ६ महिना बढेर १३ बर्ष ६ महिना पुगेको छ । आज जारी भिसा बुलेटिनमा फाइनल एक्सन डेट ६ महिना बढाइएको छ ।
दाजुभाई दिदीबहिनीहरुका लागि दिएको ग्रिनकार्ड आवेदनको अन्तिम कार्यमिति जनवरी महिनामा २००७ को फेब्रुअरी १ अगाडि तोकिएको थियो । फरबरी महिनाको भिसा बुलेटिनमा भने यो मिति अगाडि बढनुपर्नेमा ६ महिना पछाडि धकेलिएर सन् २००६ को जुलाई १ अगाडि तोकिएको छ ।
फरबरी महिनाका लागि आज जारी भिसा बुलेटिन अनुशार २२ जुलाई २००७ भन्दा अगाडि आवेदन दिएका अमेरिकामा नै रहेका दाजुभाई दिदीबहिनीहरुले जनवरी महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् । जनवरी महिना पनि यही मिति नै कायम थियो । तर अमेरिकामा नै रहेका दाजुभाई दिदीबहिनीहरुको गैरकानुनी उपस्थीति भने भएको हुनुहुँदैन ।
अमेरिकामा परिवारमा आधारित ग्रिनकार्डहरुमा सबैभन्दा लामो समय लाग्ने दाजुभाई तथा दिदीबहिनीहरुको ग्रिनकार्डका लागि हो । जसलाई परिवारमा आधारित एफ फोर श्रेणीको ग्रिनकार्ड भनिन्छ । यदि दाजुभाईदिदीबहिनीहरुका लागि आवेदन फाइल गरिएको छ भने जसका लागि आवेदन दिइएको हो उक्त व्यक्तिले भिजिटर वा अन्य गैर आप्रवासी भिसा प्राप्त गर्नमा समस्या हुनसक्छ ।
सामान्यतया कुनै व्यक्तिका लागि परिवारमा आधारित ग्रिनकार्ड आवेदन दिइएको छ भने उक्त व्यक्ति भिजिटर वा अन्य गैर आप्रवासी भिसामा अमेरिका जान खोज्दा भिसा अस्वीकार गरिदै आएको छ । ग्रिनकार्ड आवेदन अमेरिकामा स्थायी रुपमा बस्नका लागि फाइल गरिने र गैर आप्रवासीभिसा अमेरिकाबाट फर्कने आधार भएकालाईमात्र प्रदान गरिने भएकाले दुईप्रकारका आवेदनमा भएको विरोधाभासका कारण भिजिटर लगायतका गैरआप्रवासी भिसा अस्वीकृत गरिदै आएको छ । तर पाउँदै नपाउने भने होइन ।
नेपालीहरुले दाजुभाई दिदीबहिनी श्रेणीको ग्रिनकार्ड प्राप्त गर्नका साढे १३ बर्षको अवधि लाग्ने गरेको छ । के यो श्रेणीको ग्रिनकार्डका लागि आवेदन गरेपछि १३ बर्षसम्म अमेरिका जान नै नपाइने हो त ? यसबारे काठमाडौंमा रहेको अमेरिकी दूतावासले भनेको छ – ‘यदि तपाईको ग्रिनकार्ड आवेदन पेन्डिङ अवस्थामा छ भने उक्त आवेदनका कारण अमेरिकाको भिजिटर भिसाका लागि स्वत अयोग्य भईदैन ।’
दूतावासले भनेको छ – ‘तर आप्रवासी भिसा आवेदनको अर्थ तपाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने आशय मानिन्छ । तर पर्यटक भिसाको एउटा प्रावधानमा तपाई अमेरिका घुमेपछि नेपाल फर्कने बलियो आधार र सम्बन्ध हुनुपर्छ ।’
आप्रवासी भिसा आवेदन पेन्डिङ अवस्थामा रहेपनि वर्तमान समयमा आफू अमेरिकामा बस्ने वा बसाईसराई गर्ने योजना नरहेको कारण भिसा अन्तरवार्ताका समयमा व्याख्या गर्न सकेमा भने अमेरिकाको पर्यटक भिसा पाउन सकिने अमेरिकी दूतावासले जनाएको छ । यद्यपी आप्रवासी भिसा आवेदन पेन्डिङ अवस्थामा रहेको अवस्थामा भिजिटर लगायतका गैर आप्रवासी भिसा पाउने सम्भावना भने निकै न्यून रहदै आएको छ ।