अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

सुरेन्द्र पाैडेल/मुनलाइट सर्भिसेस कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको ‘द बोइङ कम्पनी’ मा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।

छ वर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आएको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो।

मुनलाइट सर्भिसेस कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले मलेसियामा कार्यरत नेपालीबाट अहिले लाखौं रुपैयाँ असुलेर ठगी गरेका हुन्। पीडितसँग रहेको मुनलाइट सर्भिसेसको लेटरप्याडमा राणाले आफूलाई उक्त संस्थाको प्रबन्ध–निर्देशकका रुपमा प्रस्तुत गरेका छन्। राणाले अमेरिकाको इलिनोइस राज्यको सिकागो सहरस्थित द बोइङ कम्पनीमा ‘एयरक्राफ्ट फ्याक्ट्री हेल्पर्स’ पदमा जागिर लगाइदिने भन्दै तीन वर्षदेखि मलेसियामा कार्यरत नेपालीसँग पैसा उठाउँदै आएको पीडितले बताएका छन्।

राणाले भिसा प्रक्रियाका लागि भन्दै दुई किस्तामा प्रतिव्यक्ति ३ सय ३५ अमेरिकी डलर उठाएर सम्पर्कविहीन भएको गुनासो पीडितको छ। केहीले दुवै किस्ता बुझाइसकेपछि र केहीले पहिलो किस्ता बुझाएपछि आफूहरु ठगिएको थाहा पाएका थिए।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘हामी  ५५ जनाले अमेरिकाको बोइङ कम्पनीमा काम गर्न जान प्रतिव्यक्ति ३५ हजारका दरले कुल १९ लाख २५ हजार रुपैयाँ मुनलाइट सर्भिसेस कम्पनीका प्रबन्ध निर्देशक महेश राणालाई बुझाएका थियौं। रकम बुझेपछि उनी हाम्रो सम्पर्कमा आएका छैनन्’,  मलेसियामा कार्यरत पीडितमध्ये एक नारायण विष्टले फोनमा नागरिकसँग भने।  पीडितका अनुसार उनीहरुले राणालाई सन् २०१७ फेब्रुअरी ४ मा पैसा बुझाएका थिए।

राणाले पीडितलाई पठाएको ‘लेटरप्याड’ मा मुनलाइटको ठेगाना काठमाडौं, बानेश्वर उल्लेख छ। फेसबुक, टि्वटरलगायत सामाजिक सञ्जाल र स्थानीय अखबारमा विज्ञापन निकालेर मुनलाइटले मलेसियामा रहेका नेपालीलाई झुक्याउँदै आएको छ। मलेसियामा कार्यरत नेपाली पत्ता लगाई उनीहरूको फेसबुकमा व्यक्तिगत सन्देश पठाएरसमेत मुनलाइटले फसाउँदै आएको छ।

‘मलेसियामा कार्यरत हाम्रो सम्पर्कमा रहेका अन्य २ सय जना नेपालीले अमेरिकी भिसा प्रक्रियाका लागि भन्दै पहिलो किस्ताबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले ५० लाख रुपैयाँ राणालाई बुझाएका छन्। मलेसियाका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीको संख्या निकै ठूलो छ, अरु कति जना ठगिए, पत्ता लगाउन गाह्रो छ’, विष्टले भने।  मलेसियामा करिब ८ लाख नेपाली कार्यरत छन्।

मुनलाइटले आफूहरुलाई अमेरिका पुगेपछि पाँचवर्षे करारमा त्यहाँको बोइङ कम्पनीमा मासिक ३ हजार अमेरिकी डलर (करिब ३ लाख २४ हजार रुपैयाँ) तलब प्रदान गरिने प्रलोभन दिएको पीडितले बताए। कामका लागि अमेरिका जान ‘वर्किङ भिसा’ प्राप्त गर्ने प्रक्रियाका लागि भन्दै पहिलो किस्तामा २ सय ५० अमेरिकी डलर र दोस्रो किस्तामा सय अमेरिकी डलर गरी प्रतिव्यक्ति ३ सय ५० अमेरिकी डलर उठाउँदै आएको छ।

यो रकम प्राप्त गर्नेबित्तिकै मुनलाइटका प्रबन्धनिर्देशक राणा सर्म्पकविहीन हुने र उनले मोबाइल नम्बर पनि परिवर्तन गर्ने गरेको पीडितहरुको भनाइ छ। ‘महेश राणालाई मलेसियामा रहेका धेरै नेपालीले पैसा दिइसकेका छन्। हामीसँग यो मान्छेको नागरिकता स्क्यान र औंठाछाप लगाइदिएको तमसुक पनि छ। यस्ता मान्छेलाई कानुनी कारबाही हुनुपर्‍यो, नत्र हामीजस्ता धेरै नेपाली मलेसियामा लुटिने छन्,’ मलेसियाको क्वालालम्पुरबाट महेन्द्र राईले भने।

अमेरिकाको बोइङ कम्पनीमा काममा लगाइदिने भन्दै मुनलाइटका प्रबन्धनिर्देशक राणाले मलेसियामा कार्यरत ९ सय ३५ नेपालीसँग कुल ३ करोड २७ लाख रुपैयाँ उठाएको दाबी गरेपछि राईले पनि उनलाई ३५ हजार बुझाएका थिए।

‘मैले महेश राणालाई पैसा बुझाएको एक वर्ष बित्यो। मेरा साथीहरूसँग पनि अमेरिकामा काम लगाइदिने भन्दै पैसा उठाएका रहेछन्। अहिले उनी हाम्रो सम्पर्कमा छैनन्। पैसा फिर्ता पाउने हो कि होइन, केही पत्तो छैन’, राईले भने। यसरी ठगिएकाले राणालाई भेटेरै पैसा बुझाएका भने होइनन्। उनीहरूले वेस्टर्न युनियन मनी ट्रान्सफर, आइएमईमार्फत पैसा बुझाएका हुन्।

 मुनलाइटले मलेसियामा रहेका नेपालीलाई लक्षित गरी निकालेको विज्ञापनमा ‘मलेसियाको भिसामा कुनै पनि अवस्थामा काम गरिरहेका इच्छुक नेपाली कामदारको माग भई आएको’ उल्लेख छ। ‘कार्यरत देश मलेसियाको भ्यालिड भिसाको आधारमा बिनाअंग्रेजी भाषा परीक्षा अमेरिका गई वर्किङ भिसामा काम गर्न इच्छुक व्यक्तिले मात्र नेपालस्थित ठेगानामा पत्राचार गर्नुहोला’, मुनलाइटले ठगी गर्न बनाएको विज्ञापनमा उल्लेख छ। पत्रचारका लागि काठमाडौंको पोस्ट बक्स नम्बर १०७७ र इमेल ठेगाना ‘एमएलएसअफिस२००१ एट याहुडटकम’ दिइएको छ।

प्रबन्धनिर्देशक राणाको सम्पर्क मोबाइल नम्बर ९८०८०३५२०७ र ल्यान्डलाइन नम्बर २२९४३०७ दिएका छन्। यी दुवै नम्बर अहिले स्विच अफ छन्। ‘तपाईंको राहदानीको फोटोकपी, कार्यरत देशको भ्यालिड भिसाको फोटोकपी, स्क्यान गर्दा नबिग्रिने सफा एक पासपोर्ट साइजको रंगीन फोटो र भिसा प्रक्रिया सुरु गर्दा लाग्ने शुल्क वेस्टर्न युनियन मनी ट्रान्सफर वा आइएमई वा कुनै पनि मनी एक्सचेन्जबाट मुनलाइट सर्भिसेसका म्यानेजिङ डाइरेक्टर महेश राणाका नाममा सम्बन्धित निवेदकको आफ्नै नामबाट शुल्क रकम पठाएको रसिदको फोटोकपीसहित शीघ्र सम्पर्क राख्नुहोला’, विज्ञापनमा उल्लेख छ।

भिसा शुल्क भन्दै ३ सय ५० अमेरिकी डलर उठाउन ‘द बोइङ कम्पनी’ को नक्कली लेटरप्याडमार्फत सिधै पीडितलाई सम्बोधन गरेर पत्राचारसमेत गरिएको छ। पीडितलाई बोइङ कम्पनीले लेखेको पत्रमा डेनियल ए. फिरेस्ट नामका व्यक्तिलाई वरिष्ठ मानव संशाधन व्यवस्थापकका रुपमा देखाइएको छ र पत्रमा उनैको हस्ताक्षर छ। गत फेब्रुअरी २४ मा मात्र बोइङ कम्पनीले पीडितलाई पठाएको पत्रमा ५५ जना नेपालीको नाममा भिसा निस्कीसकेको दाबी गरिएको छ। अमेरिकामा रोजगार लगाइदिने भन्दै मलेसियामा कार्यरत सयौं नेपालीलाई मुनलाइटका राणाले ठगिसकेको भनाइ पीडितको छ।

मलेसियामा कार्यरत अधिकांश नेपालीको पासपोर्ट उनीहरुले काम गर्ने कम्पनीले राखेको हुन्छ। घर फर्किने बेला मात्र कम्पनीले कामदारलाई पासपोर्ट दिने गर्छन्। करार अवधि नसकिएसम्म कम्पनीले पासपोर्ट फिर्ता दिँदैनन् तर मुनलाइटले भने करार अवधि नसकिए पनि अमेरिका जान पासपोर्टमा कुनै समस्या नआउने आश्वासन दिँदै नेपालीलाई फसाउँदै आएको छ।

‘मलेसियामा कार्यरत कामदारले मात्र अमेरिकाको रोजगारीका लागि आवेदन गर्न पाउने र आवेदक कामदारलाई अमेरिकाको भिसा लागिसकेपछि बिनासंकोच/बिनासर्त अमेरिका वैधानिक रुपमा सिधै जान पाइनेछ’, मुनलाइटले विज्ञापनमा भनेको छ, ‘तपाईंको राहदानी कम्पनीले नदिए अदालतको सहयोगले प्राप्त गर्न सकिनेछ।’

लेटरप्याडमा मुनलाइटले आफ्नो ठेगाना काठमाडौं, बानेश्वर उल्लेख गरे पनि दर्ता भने अमेरिकाको सिकागोमा गरेको उल्लेख छ। प्याडमा उसको दर्ता नम्बर ७००२००९ उल्लेख छ।

राणाले पीडितलाई उपलब्ध गराएको आफ्नो प्रतिलिपि नागरिकताको फोटोकपीमा काठमाडौंबाट २०५५ माघ ५ गते जारी गरिएको देखिन्छ। त्यसमा राणाको जन्म २०३२ साल उल्लेख छ भने नागरिकता नं. ७७३४/६४३२७ छ।

राणाले पीडितलाई उपलब्ध गराएको नागरिकता पनि नक्कली रहेको स्पष्ट हुन्छ। २०५५ सालमा जारी भएको नागरिकताको पछिल्लो भागमा ‘नेपाल नागरिकता ऐन, २०६३ बमोजिम यो नागरिकताको प्रमाणपत्र दिइएको छ’ उल्लेख छ।

सन् २०११ र २०१२ मा मुनलाइट सर्भिसेस कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले यसरी नै खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई), कुबेत, कतार, बहराइन र साउदी अरेबियामा रहेका नेपालीलाई ठगेेका थिए। त्यतिबेला पनि अमेरिकाको सिकागोस्थित विमान उत्पादन कम्पनी ‘द बोइङ कम्पनी’ मा रोजगारी लगाइदिने प्रलोभन उनले दिएका थिए। उनले बोइङ कम्पनीको एयरक्राफ्ट उत्पादन गर्ने बोइङ एभरेट फ्याक्ट्रीमा मासिक २ हजार ४ सय अमेरिकी डलरदेखि ४ हजार ५ सय डलरसम्म तलब दिने प्रलोभन देखाई खाडी राष्ट्रमा कार्यरत नेपालीलाई ठगेका थिए।

खाडी राष्ट्रस्थित नेपाली दूतावासमा पीडितले उजुरी गरेपछि अनुसन्धान गर्दा मुनलाइट कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता नै नभएको पाइएको थियो। खाडी राष्ट्रमा रहेका नेपालीलाई ठग्दा मुनलाइटले पत्राचारका लागि आफ्नो ठेगाना पोस्ट बक्स नम्बर ११९५१ उल्लेख गरेको थियो। नागरिक दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com