अमेरिकामा ४१ इन्चसम्म हिमपात, कम्तीमा ७ को मृत्यु


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा हिमपातसहित आएको हिमआँधीबाट कम्तीमा सातजनाको मृत्यु भएको छ । आँधी एटलान्टिकतिर अगाडि बढेको जनाइएको छ ।

हिमपात र हिमआँधीका कारण असामान्य बनेको जनजीवन सामान्य भइसकेको छ । बुधबारका लागि पनि १ हजार उडानहरु रद्द गरिएपनि अधिकांश उडानहरु साविक बमोजिम हुन थालेका छन् ।

बोस्टनमा बुधबारपनि विद्यालयमा कक्षाहरु संचालन गरिएको छैन । त्यहाँ मंगलबार ८ इन्चसम्म हिमपात भएको थियो ।

हिमपात र हिमआँधीका कारण ज्यान गुमाउनेहरु ६ जना अमेरिकाका र १ जना क्यानडाका रहेको सीएनएनले जनाएको छ । विसकन्सिनमा दुईजनाको हिउँ सफा गर्ने क्रममा चिसोका कारण मृत्यु भएको जनाइएको छ भने मासाचुसेट्सको लंगमेडोमा हिउँपन्छाउने एकजना ड्राइभर हिउँ पन्छाउने एमट्रयाक ट्रेनको ठक्करबाट मारिएका छन् ।

न्युयोर्कको स्टेटन आइल्याण्डमा हिउँ पन्छाउने क्रममा हृदयघात भई एकजना ४७ बर्षका पुरुषको मृत्यु भएको छ भने कनेक्टटिकटको इस्ट हार्डफोर्डमा हिउ पन्छाउने गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । न्यु ह्याम्पशायरमा पनि १६ बर्षकी किशोरीको मौसम सम्बन्धित दुर्घटनामा निधन भएको छ ।

मंगलबार पेन्सिलभेनिया र न्युयोर्कको अप स्टेटमा ३० इन्चसम्म हिमपात भएको थियो । न्युयोर्कको ब्रिजवाटरमा सबैभन्दा धेरै ४१ इन्चसम्म हिमपात भएको थियो । तर न्युयोर्क सिटीमा भने अनुमान गरेजति हिमपात भएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com