उपराष्ट्रपति पुन र सार्कका नवनियुक्त महासचिव बिच भेटवार्ता


प्रकाशित मिति : चैत्र २, २०७३ बुधबार

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव अजमद हुसेन बी सियाल (Mr. Amjad Hussain B. Sial) ले शिष्टाचार भेट गर्नुभएको छ । आज उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवले शिष्टाचार भेट वार्ता गर्नुभएको हो ।

भेटमा उपराष्ट्रपतिले सार्कको काम गराइको गति बढाउनुपर्ने बताउनुभयो । उहाँले विगतमा सार्कको काम गराइको गति सुस्त भए पनि सार्कको विकल्प नभएको बताउनुभयो । उपराष्ट्रपतिले विभिन्न चरणमा सार्कमा भएका सहमति संझौता तथा निर्णयहरु कार्यान्वयनमा जोड दिनुभयो । उहाँले पाकिस्तानमा गत नोभेम्बरमा तय भएको १९ औं सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद भएको बताउनुहुँदै १९ औं शिखर सम्मेलन छिटो हुनुपर्ने बताउनुभयो ।

भेटमा उपराष्ट्रतिले सार्कको महासचिवमा नियुक्त हुनुभएकोमा अजमद हुसेन बी सियाललाई बधाई दिनुभयो । उहाँले नवनियुक्त महासचिवको कार्यकालमा सार्कले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिसँगको शिष्टाचार भेटमा सार्कका नवनियुक्त महासचिवले १९ औं सार्क शिखर सम्मेलन छिट्टै हुने र सार्कले गति लिनेबताउनुभयो । उहाँले विगतमा सार्कको गतिविधि सुस्त भए पनि अब सार्कलाई कसरी पुनर्जागरण गर्न सकिन्छ भनेर आफूले पहल थालेको बताउनुभयो । सार्क महासचिवले गत नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा १९ औं शिखर सम्मेलन नहुनु दुःखद भएको बताउनुभयो । उहाँले दक्षिण एशियाको सामाजिक आर्थिक विकासमा सार्कको महत्व बढेको बताउनुभयो ।

आजै  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका राजदूत माश्फी बिन्टे शाम्स (Mrs. Mashfee Binte Shams) र पाकिस्तानका कार्यबहाक राजदूत जावेद अह्मद उमरानी (Mr. Javed Ahmed Umrani) ले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग बंगलादेश र पाकिस्तानका राजदूतले छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको हो ।

उपराष्ट्रपतिले दुवै देशका राजदूतसँगको भेटमा दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको र सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले राजदूतहरुमार्फत बंगलादेश र पाकिस्तानको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा त्यहाँको सरकार र जनतालाई बधाई तथा शुभकामना दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com