ट्रम्पलाई सैन्य बजेटको साढे तीन बिलियन पर्खाल निर्माणमा लगाउनबाट अदालतको रोक


प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार

अमेरिकाको सैन्य बजेटबाट ३ दशमलव ६ बिलियन डलर सिमानामा पर्खाल निर्माणका लागि स्थानान्तरण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अमेरिकी अदालतले रोक लगाएको छ । अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेर सैन्य बजेटबाट रकम स्थानान्तरण गर्न लागेकोमा अदालतले स्थायी रुपमा रोक लगाएको हो ।

टेक्सास एल पासोका न्यायाधिस डेभिड ब्राइवन्सले २१ पृष्ठ लामो फैसला जारी गर्दै सैन्य बजेट स्थानान्तरण गरेर पर्खाल लगाउन रोक लगाएका हुन् । यो फैसला सन् २०२० को नोभेम्बरसम्म ४५० माइल लामो पर्खाल बनाउने ट्रम्प प्रशासनको योजना अन्यौलमा परेको छ ।

अमेरिकी न्याय मन्त्रालयका प्रवक्ताले भने ट्रम्प प्रशासनले यो फैसलाकाबिरुद्ध पुनरावेदन गर्ने बताएका छन् । अमेरिकी संसदबाट पर्खाल निर्माणका लागि बजेट पारित नभएपछि राष्ट्रपति ट्रम्पले गत फरबरीमा पेन्टागनको बजेट पर्खाल निर्माणमा स्थानान्तरणका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका थिए ।

गतबर्षको डिसेम्बरमा ट्रम्पले संसदलाई पर्खाल निर्माणका लागि ५ दशमलव ७ बिलियन डलर विनियोजन गर्न आग्रह गरेका थिए । जसका कारण ३५ दिनसम्म अमेरिकी सरकार शटडाउन भएको थियो ।

गत जुलाईमा सर्वोच्च अदालतले पेन्टागनको लागु औषधबिरुद्धको रकमबाट साढे २ बिलियन डलर पर्खाल निर्माणमा लगाउन सक्ने फैसला गरिदिएको थियो । बाँकी रकम ट्रम्पले सैन्य निर्माणको बजेटबाट पर्खाल निर्माणमा लगाउन खोजेका थिए । तर अदालतले सैन्य निर्माणका लागि संसदले छुट्याएको बजेट पर्खाल निर्माणमा लगाउनु गैरकानुनी हुने फैसला गरिदिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com