सोमबारदेखि न्युयोर्कमा कागजपत्रविहिनले पनि लाइसेन्स र स्टेट आईडी पाउने


प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

आगामी सोमबारदेखि न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुले पनि ड्राइभर लाइसेन्स र स्टेट आईडी प्राप्त गर्ने भएका छन् । न्युयोर्क राज्यको दुबै सदनले पारित गरेको कागजपत्रविहिनलाई पनि लाइसेन्स प्रदान गर्ने नियमन सोमबारदेखि लागु हुनेछ । डिसेम्बर १४ देखि लागु हुने भनिएपछि डिसेम्बर १४ मा शनिबार परेकाले व्यवहारिक रुपमा भने सोमबारदेखि लागु हुने भएको हो ।

गत जुन १७ मा न्युयोर्क राज्यको तल्लो सदनले पारित गरेको कागजपत्रविहिनलाई पनि लाइसेन्स प्रदान गर्ने नियमन सिनेटबाट पनि पारित भएको थियो । विधयेकलाई डेमोक्रेटिक गभर्नर एन्ड्रयु कुमोले समर्थन गरेका थिए । यो विधयेकले न्युयोर्क राज्यमा जुनसुकै अध्यागमन स्टाटस भएको आप्रवासीले पनि ड्राइभर लाइसेन्स पाउने प्रावधानलाई ब्यूताएको थियो । यस्तो प्रावधान न्युयोर्कमा सन् २००१ भन्दा अगाडि विद्यमान थियो ।

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेकाहरुलाई १२ वटा राज्यले ड्राइभर लाइसेन्स प्रदान गर्दै आएकोमा न्युयोर्क १३ औं राज्य भएको छ । ड्राइभर लाइसेन्स एक्सेस एण्ड प्राइभेसी एक्ट अर्थात् ग्रिन लाइट न्युयोर्क नामको उक्त विधेयक पारित भएकाले अब न्युयोर्कमा ड्राइभर लाइसेन्सका लागि सोसल सेक्युरिटी नम्बर नचाहिने भएको छ ।

अब न्युयोर्कमा जो सुकैले पनि गैर ब्यापारिक ड्राइभर लाइसेन्स, लर्नर परमिट वा स्टेट आइडी प्राप्त गर्न सक्नेछन् । दुबै सदनबाट पारित यो विधेयक गर्भनरले झण्डै ४ महिना अगाडि नै हस्ताक्षर गरेका थिए ।

यो बीचमा न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स दिने राज्यका नीतिमा रोक लगाउन अदालतमा मुद्दा समेत दायर भएको थियो । तर त्यसरी दायर गरिएको मुद्दा न्यायाधिसले खारेज गरिदिएकी थिइन् । मुद्दाको खारेजीपछि कागजपत्रविहिनलाई लाइसेन्स दिनमा रोक लगाउने प्रयास असफल भएको थियो ।

रोचेस्टरकी संघीय न्यायाधिस एलिजाबेथ वेलफोर्डले ३२ पृष्ठ लामो निर्णयमा उनले कागजपत्रविहिनलाई ड्राइभर लाइसेन्स दिंदा कानुन कार्यान्वयनमा कुनै असर नपर्ने ठहर गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com