न्युयोर्कमा हिमपात सुरु, संकटकालको घोषणा


प्रकाशित मिति : चैत्र १, २०७३ मंगलबार

जीवन नै जोखिममा पर्नसक्ने हिमआँधीको जोखिमपछि न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । मंगलबार न्युयोर्कमा २० इन्चसम्म हिमपात हुने र हिमआँधी आउने मौसमविद्हरुको चेतावनीपछि संकटकालको घोषणा गरिएको हो ।

सोमबार रातीपछि हिमपात सुरु भइसकेको छ भने मंगलबारविहानसम्म २० इन्चसम्म हिमपात हुने जनाइएको छ । हिमपात मंगलबार बेलुकासम्म हुने मौसमविदहरुले चेतावनी दिएका छन् ।

न्युयोर्कका मेयर बिल डे ब्याजिओले संकटकालको घोषणा गरेका छन् भने न्युयोर्कसहरभर ७ सय वटा नुन छर्ने गाडीहरु र १६ सय वटा हिउँ खन्ने गाडीहरु परिचालन गरिने भएको छ । हिमपातपछिको अवस्थाको सामना गर्न २४ सय जना सिटी कामदारहरु खटाइएको छ ।

न्युयोर्क सहरभित्रका सबै विद्यालयहरु मंगलबारका लागि बन्द गरिएको छ । जमिनमाथि चल्ने रेलसेवापनि मंगलबार अबरुद्ध हुनेछ । सम्भावित हिमआँधीका कारण न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा संकटकाल घोषणा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com