पूर्व जरसा’बलाई सेनामै मस्ती


प्रकाशित मिति : फाल्गुन ३०, २०७३ सोमबार

आफ्नै हात जगन्नाथ’ भनेझैं नेपाली सेनामा पहुँचदार जर्नेल र कर्णेल (जरसा’ब–करसा’ब) लाई जागिरपछि पनि मस्ती छ। सेनामा दक्ष बहालवाला अधिकृतलाई पन्छाएर पहुँचकै आधारमा सयौं जर्नेल–कर्णेल अवकाशपछि पनि करार सेवामा जागिर खाइरहेका छन् । ‘आवश्यकता र दक्षता’ का नियुक्त गरिएका उनीहरुले एकातिर पेन्सन, अर्काेतिर विशेष भत्ता गरी दोहोरो सुविधा लिइरहेका छन् ।

यसरी अवकाशपछि पनि लाभको पदमा ‘लाइन मिलाएर’ जागिर खाने सयभन्दा बढी पूर्वअधिकृत छन्। केही त १५ वर्षदेखि एउटै पदमा करार नवीकरण गर्दै जागिर खाइरहेका छन् । सेनाभित्रै दक्ष जनशक्ति हुँदाहुँदै अवकाशप्राप्त अधिकृतलाई वर्षौंसम्म करारमा नियुक्त गरिँदा संगठनभित्र असन्तुष्टि बढेको स्रोत बताउँछ ।

रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागिला संगठनको आवश्यकता अनुसार अवकाशप्राप्त अधिकृतलाई करारमा नियुक्त गरिएको बताउँछन् । ‘आवश्कयता हेरेर अवकाशप्राप्तलाई करारमा नियुक्त गरिएको हो, यो स्वाभाविक पनि हो’, उनले भने ।

करारमा नियुक्त पेन्सन सुविधाबाहेक भत्ताका नाममा पहिलेको तलबसरह वा अझ बढी रकम सुविधाबापत बुझ्छन् । यसरी करारमा राखिएकालाई भत्ताका नाममा विभिन्न सुविधा दिइँदै आएको छ । सेनामा चार–चार वर्षमा नेतृत्व परिवर्तन भए पनि करारमा नियुक्तले लामो समयसम्म काम गर्दै आएका छन् । यसबाट सेनामा प्रवेश गरेको  पछिल्लो प्राविधिक जनशक्ति असन्तुष्ट छ ।

सैनिक कल्याणकारी कोषले सञ्चालन गरेका अस्पताल, पेट्रोलपम्प, स्कुलमा अवकाशप्राप्त सयभन्दा बढी सैनिक अधिकृतले करारमा काम गरिरहेका छन् । त्यस्तै प्रत्येक विकास क्षेत्रमा रहेका पृतना कार्यालयमा पाँच/पाँच जना अवकाशप्राप्त अधिकृत क्षेत्रीय सम्पर्क अधिकृतका नाममा करार सेवामा छन् । सैनिक कल्याणकारी कोषको कार्यालयमा ८ जना अवकाशप्राप्त अधिकृत करारमा कार्यरत छन् ।

कोष सञ्चालक समितिमा अध्यक्ष प्रधानसेनापति, संरक्षक प्रधानमन्त्री र सहसंरक्षक रक्षामन्त्री हुने प्रावधान छ । अर्थ र रक्षा मन्त्रायलका सहसचिव कोष सञ्चालक समितिको पदेन सदस्य हुन्छन् ।

कोषको प्रमुख कार्यकारी अधिकृतमा अवकाशप्राप्त चित्रबहादुर गुरुङ चार वर्षदेखि करारमा छन् । उनको मासिक  एक लाख रुपैयाँभन्दा बढी भत्ता मात्रै हुने त्यस कोषका कर्मचारी बताउँछन् । गुरुङ अवकाशप्राप्त रथी हुन् ।

पूर्वाञ्चल विकास क्षेत्र पृतनामा क्षेत्रीय सम्पर्क अधिकृतका रुपमा अवकाशप्राप्त महासेनानी साहजन खाँडसहित पाँच पूर्वअधिकृत करारमा छन् । मध्याञ्चल विकास क्षेत्र पृतना कार्यालयमा पूर्व महासेनानी अनन्तकुमार बस्नेतको नेतृत्वमा पाँच पूर्वअधिकृत क्षेत्रीय सम्पर्क अधिकृतमा करारमा कार्यरत छन् ।

यस्तै, पश्चिमाञ्चल विकास क्षेत्र पृतना कार्यालयमा पनि अवकाशप्राप्त महासेनानी विनोदकुमार अधिकारीसहित ५ पूर्वअधिकृतले क्षेत्रीय सम्पर्क अधिकृतको रुपमा करारमा काम गरिरहेका छन् । मध्यपश्चिम विकास क्षेत्र पृतना कार्यालयमा पूर्वमहासेनानी राजीश शाहको नेतृत्वमा पाँच पूर्वअधिकृत क्षेत्रीय सम्पर्क अधिकृतका रुपमा करारमा छन् ।

यसैगरी, सुदूरपश्चिामञ्चल विकास क्षेत्र पृतना कार्यालयमा पनि अवकाशप्राप्त प्रमुख सेनानी गणेशबहादुर पालको नेतृत्वमा पाँच  पूर्वअधिृकत क्षेत्रीय सम्पर्क अधिकृतका रुपमा करार सेवामा छन् ।

सैनिक अस्पतालमा पनि अवकाशप्राप्त पूर्वउपरथी भिक्टरजंग राणा करारमा कार्यरत छन् । ललितपुर, लगनखेलस्थित राजदल गणमा सहायकरथीबाट अवकाशप्राप्त तेजमानसिंह बस्नेत करारमा छन् । प्रमुख सेनानीबाट सेवानिवृत्त चन्द्रकुमार आचार्य पनि सैनिक  कल्याणकारी कोषअन्तर्गत करारमा सेवामा छन् । आठ वर्षअघि अवकाश पाएका दिलीपशमशेर राणा पनि केही समय अघिसम्म कल्याणकारी कोषमै करार सेवामा थिए ।

यसैगरी पूर्वसहायक रथीहरू देवबहादुर घले, दीपक कार्की, दीपक गुरुङ पनि सैनिक कल्याणकारी कोषअन्तर्गत करारमा कार्यरत छन् । गुरुङले सात वर्षअघि अवकाश पाएका थिए । औषधि, उपचार, बजेट तर्जुमा गर्नेजस्ता संवेदनशील ठाउँमा पनि पूर्वअधिकृतलाई करारमा राखिएको स्रोत बताउँछ ।

सेनानीबाट अवकाश पाएका पवित्रजंग कार्की १५ वर्षदेखि करार सेवामा कार्यरत छन् । उनी हाल सेनाको आर्थिक प्रशासन महाशाखामा छन् । आर्थिक प्रशासन महाशाखा सेनाको संवेदनशील अंग मानिन्छ । आर्थिक प्रशासन महाशाखामा काम गर्न सक्ने दर्जनौैं बहालवाला अधिकृत सेनामै भए पनि अवकाशप्राप्त एकै व्यक्तिलाई निरन्तरता दिइँदा सेनाभित्रै असन्तुष्टि बढेको स्रोतको दाबी छ ।

सहायकरथीबाट सेवानिवृत्त रमिन्द्र क्षत्री दुई वर्षदेखि सेनाको राष्ट्रिय सेवा दलमा करारमा छन् । उनी सैनिक पोसाकमै कार्यालयमा आउने गरेको सैनिकस्रोतको भनाइ छ । अवकाशप्राप्त सैनिक अधिकृतले  राष्ट्रिय पर्वबाहेक अरु दिनमा सैनिक पोसाक लगाउन नमिल्ने सेनाको नियमावलीमा छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीका दाइ पर्ने रमिन्द्र नेपाली सेनाका मनार्थ उपरथी पनि हुन् ।

नेपाली सेनाका सहप्रवक्ता महासेनानी रामनाथ ढुंगाना आवश्यकता र क्षमता हेरेर अवकाशप्राप्त पूर्वअधिकृतलाई करार सेवामा नियुक्त गरिने बताउँछन् । ‘आवश्यकता र क्षमता हेरेर पूर्वअधिकृतलाई करार सेवामा नियुक्त गरिएको हो, सबैलाई होइन’, ढुंगानाले भने । नागरिक दैनिकबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com