एसाइलम आवेदनमा कुनै पनि प्रश्नको जवाफ खाली राखे स्वत अस्वीकृत


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

अमेरिकी सरकारले एसाइलम वा देशनिकाला स्थगित गर्ने आवेदनका लागि आवश्यक आई ५८९ फर्ममा आवेदकले कुनै पनि सेक्सन खाली छाडेमा त्यस्ता आवेदन स्वत अस्वीकृत गर्न थालेको छ । पछिल्ला दिनमा कुनै प्रश्नको जवाफ नदिई खाली छाडिएका आवेदनहरु सिधै अस्वीकृत गर्ने दर अत्यन्तै बढेको छ ।

एसाइलम आवेदनका लागि भर्नुपर्ने फर्म यस्तो छ ।

युएससीआईएसले भनेको छ यदि तपाईले कुनै क्षेत्र खाली छाड्नुभएमा हामीले त्यस्ता आई ५८९ फर्म स्वीकार गर्नेछैनौं । तपाईले फर्ममा हरेक प्रश्नको जवाफ दिनैपर्छ, चाहे जवाफ नन अननोन वा नट एप्लीकेवल नै किन नहोस् । हामीले तपाईले किन एसाइलम आवेदन दिदै हुनुहुन्छ भन्ने व्याख्या नगरेका आवेदन पनि स्वीकार गर्नेछैनौं । वा तपाईको आवेदका कुनै परिशिष्ट छुटेको भएमा पनि हामीले स्वीकार गर्नेछैनौं ।

एसाइलमको फर्म भर्नका लागि तरिका हेर्न यहाँ क्लिक गर्नुहोला ।

एसाइलमको यो फर्ममा आवेदकका बारेमा २५ वटा विवरणहरु मागिएका छन् । त्यस्तै आवेदकका दम्पत्ति र छोराछोरीका बारेमा २४ वटा विवरणहरु मागिएका छन् । त्यस्तै एसाइलम आवेदनबारे विभिन्न प्रश्नहरु सोधिएका छन् । त्यसमध्ये कुनै पनि प्रश्नको जवाफ खाली छाड्न पाइनेछैन । यो फर्म १२ पेज लामो रहेको छ ।

एसाइलमको आवेदन आफू बसेको राज्य अनुशार फरक फरक ठेगानामा पठाउनुपर्छ । टेक्सास, क्यालिफोर्निया, नेब्रास्का र भर्मोन्ट सर्भिस सेन्टरमध्ये एउटामा यो फर्म पठाउनुपर्छ । तर कुनमा पठाउने भन्ने कुराको निर्धारण तपाई बसेको राज्य अनुशार हुन्छ ।

अमेरिकामा एसाइलम खोज्नेलाई ग्वाटेमाला लगायतका देशमा पठाउने नीति कार्यान्वयन

अमेरिकी सरकारले अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई सुरक्षीत तेश्रो देश सहमति अनुरुप ग्वाटेमाला लगायतका देशमा पठाउने नीतिको कार्यान्वयन सुरु गरेको छ । नोभेम्बर १९ देखि यो नीति कार्यान्वयनमा आएपछि सिमाक्षेत्रमा आएर विना भिसा अमेरिकामा एसाइलम खोज्नेलाई ग्वाटेमाला लगायतका देशमा पठाउन सुरु गरिएको छ ।

बिहिबार विहान १ जना होण्डुरसका नागरिकलाई ग्वाटेमाला सिटी पठाइएको छ । उनी त्यहाँ पुगिसकेको जनाइएको छ । उनी उक्त जहाजमा यसरी पठाइएका एकमात्र आप्रवासी रहेको र ग्वाटेमाला पुगेपछि उनलाई शिविरमा पठाइएको जनाइएको छ ।

सुरक्षित तेश्रो मुलुक सहमति अनुरुप अमेरिकामा विनाभिसा आएर एसाइलम गर्नेको एसाइलम दावी उचित लागेको खण्डमा उनीहरुलाई थप प्रकृयाका लागि तश्रो मुलुक पठाइने र उक्त मुलुकमा नै एसाइलम दिइनेगरी अमेरिकी एसाइलम नीतिमा ठूलो परिवर्तन आएको छ ।

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा आएर एसाइलम गर्नेहरुलाई उत्तरी त्रिभुज देशहरु ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोर पठाउने अमेरिकाले पछिल्ला महिनाहरुमा छलफल तीब्र पारेको थियो । ती देशहरुसँग भएको सहमति अनुरुप अमेरिकामा एसाइलम खोज्ने र एसाइलम उचित जस्तो लागेकालाई ती तीनमध्ये कुनै पनि देशमा पठाउन सकिनेछ ।

यसअगाडि अमेरिकी सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई अदालती प्रकृयासम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाउने र बाटोमा पर्ने देशमा एसाइलम दावी गरेर अस्वीकृत नभएकाहरु अमेरिकामा एसाइलमका लागि योग्य नहुने नीति कार्यान्वयनमा आइसकेको छ ।

अमेरिकामा एसाइलम अफिसरहरुले नयाँ नीति अनुशार आप्रवासीहरु ग्वाटेमाला पठाउन योग्य भए नभएको जाँच्न तालिम लिइरहेको जनाइएको छ । खासगरी होण्डुरस र एल साल्भाडोरका आप्रवासीहरु ग्वाटेमाला पठाउन योग्य हुने श्रोतले जनाएका छ ।

अमेरिकामा ९ लाख ८७ हजार १ सय ९८ एसाइलमका आवेदनहरुको ब्याकलग रहेको र एउटा एसाइलमको मुद्दा टुंगो लाग्न ८१६ दिन लाग्ने गरेकाले एसाइलमको भार कम गर्न नयाँ नियम ल्याइएको जनाइएको छ । जसमध्ये ४ लाख ७४ हजार ३ सय २७ एसाइलमका मुद्दाहरु अध्यागमन अदालतमा रहेका छन् ।

आर्थिक बर्ष सन् २०१९ को सेप्टेम्बर अन्त्यसम्म युएससीआईएसमा ३ लाख ४० हजार ८ सय आवदेनको ब्याकलग रहेको फेडरल नोटिसमा उल्लेख छ । यसरी ब्याकलग श्रृजना गर्नेहरुमा सबैभन्दा धेरै योगदान ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोरका नागरिकको रहेको सरकारी भनाई छ ।

 

एसाइलम आवेदनका लागि ५० डलर शुल्क लिने तयारी

अमेरिकी सरकारले फर्म आई ५८९ एसाइलम आवेदनका लागि ५० डलर शुल्क लिने तयारी गरेको छ । यसबारेको प्रस्तावित नियम  फेडरल रजिस्टरमा औपचारिक रुपमा प्रकाशित भएको छ । अहिलेसम्म अमेरिकामा एसाइलम आवेदन निशुल्क दिनसकिने प्रावधान रहेको थियो ।

इरान, फिजी, अष्ट्रेलिया लगायतका देशमा एसाइलमका लागि शुल्क लिने गरिएको उल्लेख गर्दै अमेरिकामा पनि शुल्क लिने प्रस्ताव गरिएको युएससीआईएसले जनाएको छ । अष्ट्रेलियामा २५ डलर, फिजीमा २२१ डलर र इरानमा २९२ डलर लाग्ने उदाहरण युएससीआईएसले दिएको छ । युएससीआईएसले आवेदकले बुझाउने शुल्कबाट चल्ने भएकाले शुल्कमा समायोजन गर्नुपरेको युएससीआईएसले जनाएको छ ।

त्यस्तै अमेरिकी नागरिकताका लागि दिइने आवेदनको शुल्क पनि बढाउन प्रस्ताव गरिएको छ । अहिलेसम्म अमेरिकी नागरिकताको आवेदन शुल्क ६४० डलर रहदै आएकोमा अब ११७० डलर बनाउन प्रस्ताव गरिएको छ । नागरिकताको फर्म एन ४०० का लागि प्रस्तावित नयाँ शुल्क अहिलेको तुलनामा ८३ प्रतिशत बढी हो ।

त्यस्तै अहिलेसम्म ग्रिनकार्ड आवेदन आई ४८५ का लागि १४ बर्ष मुनीका बालबालिकाका लागि ७५० डलर शुल्क रहेको छ भने १४ बर्षभन्दा माथिका आवेदकका लागि ११४० डलर शुल्क रहेको छ । तर यो शुल्क बराबर बनाउन समेत प्रस्ताव गरिएको छ । सबै आवदेकका लागि आई ४८५ का लागि ११२० डलर शुल्क प्रस्ताव गरिएको छ । तर आई ४८५ आवेदन, बायोमेट्रिक र सबै अन्तरिम सुविधाका लागि अहिलेसम्म प्याकेजमा १२२५ डलरमात्र लाग्ने गरेकोमा प्रस्तावित शुल्क अनुशार २१९५ डलर लाग्नेछ । अर्थात् अहिलेको तुलनामा ७९ प्रतिशत बढी लाग्नेछ ।

वर्क परमिटका लागि अहिलेको शुल्क ४१० डलर रहेकोमा प्रस्तावित शुल्क ८० डलर बढाएर ४९० डलर रहेको छ । ट्राभल डकुमेन्टका लागि भर्ने आई १३१ फर्मका लागि अहिले ५७५ डलर शुल्क रहेकोमा प्रस्तावित शुल्क ५८५ डलर रहेको छ ।

बायोमेट्रिक शुल्क ८५ डलर लिइदै आएकोमा अब बायोमेट्रिक शुल्क शीर्षकमा छुट्टै रकम नलिइने प्रस्ताव गरिएको छ । बायोमेट्रिक आवश्यक पर्ने सबै आवेदनका सन्दर्भमा मुल आवेदनमा नै यो शुल्क समावेश गरिएको छ ।

अहिले बायोमेट्रिक र आई ४८५ आवेदनका लागि १२२५ डलर लाग्दै आएकोमा प्रस्तावित शुल्क अनुशार दुबै सुविधाका लागि ११२० डलरमात्र लाग्नेछ । तर आई ४८५, वर्क परमिट, बायोमेट्रिकका लागि प्याकेजमा ११२५ डलर लाग्दै आएकोमा प्रस्तावित शुल्क अनुशार १६१० डलर लाग्नेछ ।

कुन आवेदनका लागि अहिले कति शुल्क छ ? प्रस्तावित शुल्क कति छ ? सम्पूर्ण विवरण ।

त्यस्तै आई ४८५, बायोमेट्रिक र ट्राभल डकुमेन्टका लागि अहिलेसम्म १२२५ डलर लाग्दै आएकोमा प्रस्तावित शुल्क अनुशार १७०५ डलर लाग्नेछ । आई ४८५, बायोमेट्रिक, ट्राभल डकुमेन्ट र वर्क परमिट लगायत पूर्ण प्याकेजका लागि पनि अहिले १२२५ डलर नै लाग्दै आएको छ तर प्रस्तावित शुल्क लागु भएमा त्यसका लागि २१९५ डलर तोकिएको छ ।

गैरआप्रवासी कामदारका लागि फाइल गरिने आई १२९ का लागि अहिलेको शुल्क ४६० डलर रहेको छ । तर प्रस्तावित शुल्क अनुशार त्यसलाई विभिन्न श्रेणीमा विभाजन गरेर ८६० डलरसम्म लिने उल्लेख छ ।

शीघ्र प्रकृयाको आवेदन अर्थात प्रिमियम प्रोसेसका लागि १४१० डलर शुल्क लाग्दै आएकोमा सरकारले उक्त आवदेनका लागि भने नयाँ शुल्क प्रस्ताव गरेको छैन । तर अहिलेसम्म १५ क्यालेण्डर दिनमा प्रिमियम प्रोसेस गर्ने प्रावधान रहेकोमा त्यसलाई १५ बिजनेश दिन बनाउन प्रस्ताव गरिएको छ । १५ बिजनेश दिन भन्नाले संघीय विदा, सप्ताहन्त बाहेकका काम गर्ने दिनहरुमात्र बुझाउँछ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com