खतरासँग खेल्दै खड्का (फाेटाे फीचर)


प्रकाशित मिति : फाल्गुन २८, २०७३ शनिबार

 ललितपुर इमाडोलकी सुलक्क्षणा खड्का साधारण परिवारकी छोरी हुन् । सानै उमेरमा राष्ट्रिय खेलाडी बन्न सफल खड्का पैसा भन्दा नामको लागि खेल्ने बताउँछिन् ।

उनीको खेलको नाम ‘स्टन्ट’ हो । खेल मैदानमा स्कुटर लिएर सुलक्क्ष्णा जब उत्रिन्छन्, हेर्नेहरुको मुटुको धड्कन बढ्न थाल्छ । खड्का भन्छिन्, ‘केटीले बाइक चलाएको देखेपछि लाइन लागेर हेर्नेहरु धेरै हुन्छन् । अझ हात छोडेर र खुट्टै नटेकेर चलाउँदा उनीहरुको आवाज मात्र होइन, दिमागले पनि कामगर्न छोड्छ ।’

यति सम्मकि उनका बुबा आमाले समेत अहिलेसम्म डरले उनको स्टन्ट खेल हेरेका छैनन् । हुनपनि स्टन्ट गर्दा तालमेल नमिले ज्यान समेत जाने खतरा हुन्छ । यस्तो जोखिम खेल देखाउने सुलक्क्षणाले भनिन् ‘नेपालमा स्टन्ट गर्ने ठाँउनै छैन । मैले त रोडको छेउमा सिकेको हो ।’
नेपालमा १४ जना स्टन्ट गर्ने राष्ट्रिय खेलाडी महिला छन् । तर, आर्थिक अभावका कारण अहिले धेरैले अर्कै क्षेत्रमा लागेको सुलक्क्षणाले बताइन् । कुनै ठाउँमा स्टन्टको लागि जानु पर्याे भने त्यहाँ लाग्ने  सबैखर्च आफै बेर्होनु पर्ने बाध्यता छ ।

स्टन्ट गर्दा, स्कुटर तथा बाइक विग्रने सम्भावना हुन्छ, त्यसको मर्मत गर्नेखर्च समेत आफैले जुटाउनु पर्ने विडम्बना यो क्षेत्रका खेलाडीले भोगिरहेका छन् ।  सुलक्क्षणा महिलामा आत्मविश्वास बढाउनका लागि युवाहरुको नयाँ समुह तयार गर्ने सोचाइमा छन् । भन्छिन् ‘खेल महंगो हुन्छ, स्टन्ट गर्न खोज्ने महिलासँग स्कुटर वा बाइक नै हुँदैन ।’

स्टन्ट गरेपछि दर्शकहरुले ओ..हो..,‘साहसी केटी’ भनेको सुन्दा सबैभन्दा आन्नद आउँछ उनलाई । उनले भनिन्, ‘केटीहरु केहि गर्न सक्दैनन् भन्नेहरुको मुखबाट साहसी भन्ने शब्द सुन्न पाउँदा कति आनन्द आउँछ, सोच्नुस त ?’

 

प्रस्तुत  : अस्मिता खड्का

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com