Follow @khasokhasmag

अन्तर्राष्ट्रिय पुरस्कार विजेता केशा परियार गुन्द्रीको टुक्रामा हिसाब राख्थिन्


प्रकाशित मिति : फाल्गुन २८, २०७३ शनिबार

म नपढेको मान्छे पढेकासँग पनि डराउँदिनँ । किनकि मैले काममा डिग्री हासिल गरेकी छु ।’

अस्मिता खड्का / केही नपाएपछि गाउँका पुरुषले उनका श्रीमान्लाई ‘अपुतो’ भन्दै दोस्रो विवाह गर्न उक्साए । तर, केसा परियारका श्रीमान् गाउँलेको लहलहैमा लागेनन् । तिनै मान्छेहरूले टेक बहादुर परियारलाई जोइटिङ्ग्रेसमेत भने ।  केसाले सुरु गरेको अभियान ठीक लागेपछि टेक बहादुरले घरको कामदेखि छोरीहरूलाई स्कुल पुर्याउने र ल्याउने जिम्मा लिए ।
केसालाई सामाजिक कामका लागि झन् धेरै समय मिल्यो जसले गर्दा उनी ‘ओस्लो बिजनेस फर पिस’ अवार्डबाट पुरस्कृत हुन पुगिन् ।

बाग्लुङ बिनामारेमा जन्मिएकी केसा परियारले एक दिन अन्तर्राष्ट्रिय पुरस्कार मिल्छ भन्ने सोचेकी पनि थिइनन् । ‘समाजमा केही गरेर देखाउनुपर्छ भन्ने लागेको थियो, तर यति ठूलो सम्मान होला भन्ने कल्पना थिएन,’ उनले भनिन् ।
केसाले उन्नतिशील महिला समूह पर्वतको अध्यक्ष भएलगत्तै गाउँमा रक्सी र सिनोविरोधी आन्दोलन चलाइन् । यसले गर्दा उनले धेरै समस्या झेल्नुपर्यो ।

उनकै नेतृत्वमा गाउँका दिदीबहिनी मिलेर सरसफाइ अभियान चलाए । उनको कामबाट रुष्ट बनेका पुरुषले उनको कुरा काट्न न्वारानदेखिको बल लगाए ।

केसा भन्छिन्, ‘रक्सीविरोधी आन्दोलन चलिरहेका बेला गाउँका केही पुरुषले स्वास्थ्यचौकीमा पुगेर अस्थायी साधनसमेत मागे । पटक–पटक मेरो चरित्र हत्या गरियो । तर, मेरा लागि उनीहरूको वचन प्रेरणाजस्तै बन्यो । त्यसले मलाई अझ बल दियो समाजमा केही गरेर देखाउनका लागि ।’

उनको पहिलो उद्देश्य महिलालाई आर्थिक रूपमा बलियो बनाउनुपर्छ भन्ने थियो । ‘काँडैकाँडाको समाजमा हिँड्न र काम गर्न सजिलो छैन । समाजले दिएको वचन सेतो कपडामा रगतको टाटाजस्तै छातीमा बसेको छ । म जुन दिन यो संसार छोड्नेछु त्यही दिन ती वचन मेटिनेछन्,’ उनले भनिन् ।

उनको संस्था उन्नतिशील महिला समूहले महिलामाथि अन्याय गर्नेलाई सजाय गर्दथ्यो । उनको नेतृत्वमा गाउँमा रक्सीविरोधी आन्दोलन चलिरहेकै बेला माओवादीले पनि सोही आन्दोलन देशव्यापी बनायो त्यसपछि उनीहरू पछि हटे ।

समाजमा दलित समुदायका छोरी पढाउने चलन नभएकाले उनी स्कुल गइनन् । ‘लघु उद्यम महासङ्घको अध्यक्षमा निर्वाचित हुँदा मैले औँठाको छाप लगाएँ । तर, अहिले नेपाली राम्ररी पढ्न आउँछ,’ उनले बताइन् । कान्छी छोरी नौ वर्षकी भएपछि उनी पढ्न थालिन् । बाह्रखरी सिक्न उनलाई एक महिना मात्र लाग्यो ।

उनको पढ्ने तरिका पनि अनौठो छ । सामाजिक काममा हिँड्दा ढुङ्गामा र माटोमा क ख लेखिन् । ‘चन्द्र नेपालीले ऋणको किस्ता बुझाउन आउँदा मात्र होइन, काममा जाँदा उकाली बिसाउँदा पनि ढुङ्गामा समेत पढाए र बिर्सिएँ भने नरिसाई सिकाए । ढुङ्गा नभएको ठाउँमा काठको सानो टुक्राले माटोमा लेख्ने गर्दथेँ,’ ‘छोरीहरूको सल्लाहमा ठूलो वर्णमाला किनेर ल्याएँ,’ उनले भनिन् ।

उन्नतिशील महिला समूह पर्वतको अध्यक्ष हुँदा समूहको हिसाबकिताब राख्न उनलाई कठिन भयो । जहाँ समस्या त्यहाँ उपाय भनेझैँ समूहको हिसाब राख्न उनले आफ्नै विधि बनाइन् । लघु विकास उद्यमद्वारा गाउँमा वितरण गरिएका बाख्राको मासिक किस्ता उठाउने चारजना कर्मचारी थिए । ती कर्मचारीले उठाएको पैसा छोरीको पुरानो हिसाबभित्र चारवटा पन्नामा राखिन् ।

आफ्नो हिसाब राख्ने विधि सुनाउँदै भनिन्, ‘सबैमा फरक–फरक चिह्न लगाएँ । कर्मचारीको नामअनुसार गुन्द्रीको टुक्रा, कपडाको टुक्रा र कागजको टुक्राले हिसाब छुट्याउँथेँ ।’

उनकोे हिसाबकिताबमा सुका–मोहोर तलमाथि परेन । सामाजिक काममा लागेपछि पढाइ नभएको कहिलेकाहीँ खट्कन्छ । उनले भनिन्, ‘म नपढेको मान्छे पढेकासँग पनि डराउँदिनँ । किनकि मैले काममा डिग्री हासिल गरेकी छु ।’
आमाको काखमा हुर्किएकी केसाले बुबाकोे माया भने पाइनन् । केसा ६ महिनाकी हुँदा घर छोडेका बुबा फर्केर आएनन् । उतै अर्को बिहेबारी गरेर बसे ।

‘अहिले आमा बितिसक्नुभयो । ‘ओस्लो बिजनेस फर पिस’बाट पुरस्कृत भएपछि आमाको झझल्कोले हरेक पल रुवाउँछ,’ आमालाई सम्झँदै उनले भनिन्, ‘मेरी आमा अरू केही दिन बाँचेको भए मेरो खुसीमा कति खुसी हुनुहुन्थ्यो होला ।’  आफूले लगाएको साडीको आँचलले आँसु पुछ्दै केसाले सुनाइन्, ‘चौध वर्षसम्म बिरामी आमाको सेवा गरेँ, तर आफ्नो सबैभन्दा ठूलो खुसी बाँड्न पाइनँ । मेरो सफलता मेरी आमालाई जान्छ । मेरी आमा बाँचेकी भए मलाई सम्मान गर्ने हरेक ठाउँमा लिएर हिँड्ने थिएँ ।’ केसाको विवाह पर्वतको खानी गाउँमा भयो ।

समाज परिवर्तनका लागि महिलाले धेरै नै सङ्घर्ष गर्नुपर्छ । कुनै पुरुष नर्वेमा पुरस्कृत भएर घर फर्केको भए एयरपोर्टमा स्वागतका लागि पत्रकार र अन्य मान्छेहरूको घुइँचो लाग्थ्यो होला, तर उनलाई लिन उनका श्रीमान् मात्र पुगे ।

उनीले भनिन्, ‘हाम्रो वर्गको मान्छे, त्यसमा पनि महिलाले विदेशमा नेपाललाई चिनाएको कुरासँग राष्ट्रका मान्छेलाई कुनै वास्ता भएन ।’
सानो खटाइले सफलता पाइँदैन । उनीसँगै महिलाको आर्थिक उन्नति गर्नुपर्छ भन्ने हजारौँ महिला बाटोमै छुटे । तर, उनले कामलाई आफ्नो धडकन बनाइन् ।

महिलालाई समाजले दिएको पीडा र अहिले त्यही समाजले दिएको सम्मान देख्दा अच्चम लाग्छ उनलाई । उनले अहिले पनि आफ्नो सिलाइ प्रशिक्षण केन्द्र सञ्चालन गरेकी छिन् । उनको केन्द्रमा पाँचजनाले काम पाएका छन् ।

०५६ देखि गाउँमा लघु उद्यम विकास कार्यक्रम लागू भएको थियो । ०६२ मा केसा परियार लघु उद्यम महासङ्घको अध्यक्ष बनिन् । यो महासङ्घमा ६० हजार सदस्य छन् ।  नेपालमा आर्थिक उन्नति गर्ने र समाज परिवर्तन गर्ने हो भने लघु विकास उद्यम सबैभन्दा उत्तम हो भन्ने केसा परियारलाई लागेको छ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com