विदेशी नागरिकता लिएकाहरु जनसम्पर्क समिति सदस्य हुन नपाउने विधानले बढाएको अन्यौल


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

– पिताम्बर भुसाल

नेपाली काँग्रेस पार्टीले हालै संसारभर समयवधि सकिएका जन सम्पर्क समितिलाई ६ महिनाभित्रमा अधिवेशन गराउनका लागि अल्टिमेटमसहित पत्र पठाएको छ । कार्तिक ५ गते पार्टीले संसारभरका जन सम्पर्क समितिलाई पठाएको पत्रले यतिखेर सवैको ध्यान अधिवेशनमा केन्द्रीत हुनुपर्ने हो । तर त्यसो भएको छैन । बरु अन्यौल यथावत छ ।

अमेरिकाकै हकमा विगत ५ बर्षदेखि महाधिबेसन हुन नपाएको यो अवस्थामा पार्टीले जतिसक्दो छिटो ६ महिनाभित्रमा महाधिबेसन गर्न पत्र पठाएकोमा सवैलाई पक्कै खुसी लागेको हुनुपर्छ । तर नेपाली कांग्रेसको संसोधित विधानमा विदेशको जन सम्पर्क समितिको सदस्य हुनका लागी नेपाली नागरिकता हुनु पर्छ भनी उल्लेख गरिसकेपछि सवैलाई अन्यौलग्रस्त बनाएको छ ।

पार्टीले आफनो तर्फबाट समितिलाई जुन ढंगले पत्र पठाएको छ त्यो आफनो ठाउमा सही छ होला । तर अब प्रवासमा खोलिएका जन सम्पर्क समितिहरुमा अमेरिका, अष्ट्रिलिया, युके, क्यानडा लगायत अन्य युरोपेली देशहरुका नागरिकता लिएर बसेकाहरुमा नेपाली कांग्रेसको यो पत्रले ठूलो अन्यौल र संसय सृजना गरेको छ । त्यसैले यी देशहरूका जन सम्पर्क समितिहरू महाधिवेशनमा प्रवेश गर्ने कि न गर्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ । विधान अनुसार अब विश्वभरका कांग्रेसीहरू जो बाध्यताले त्यहॉको नागरिकता लिएका छन् उनीहरूलाइ सदस्यता लिनबाट बन्चित गराउने भएको छ ।

विधान अनुशार अब जन सम्पर्क समितिको साधारण सदस्य र क्रियासिल सदस्य मात्र नभई केन्द्रिय प्रतिनिधि भएर जानेहरुको पनि धेरैको बाटो रोकिने देखिएको छ । यस अनुसार अहिलेको जन सम्पर्क समितिमा नेपाली नागरिकता मात्र भएकाहरू सायद ३० प्रतिशत पनि छैन होला । यसले पार्टीलाई लामो समयदेखिन योगदान दिइरहेका बहुसंख्यक व्यक्ति समेत पाखा लाग्ने देखिन्छ ।

पत्र अनुसार विदेशमा जसरी पनि अधिवेशन गर्न सकिन्छ तर विदेशमा सम्बन्धीत मुुलुकको कानुन अनुसार दर्ता भएको जन सम्पर्क समितिहरुले यदि कानुनी ढंगले अधिवेशन गर्नु परेमा त्यो संम्भव हुदैन । पत्रमा नेपाल जाने प्रतिनिधिहरुको हकमा नेपाली नागरिकता भएकोलाई पठाउनु र सम्बन्धित देशमा सम्बन्धित देशको क़ानून र नियम अनुसार अघिवेशन गर्ने भनेर उल्लेख गरेको भए ठीक हुन्थ्यो । तर पार्टीले स्थानीय मुलुकको कानुनको बारेमा चासो नदिएको देखियो । पार्टीले विधान संसोधन गरे झै कुनै समयमा पार्टीलाई पनि सहयोग हुने र प्रवासी नेपाली समुदायको हितमा खोलेको जन सम्पर्क समितिको रुपरेखा फेरिनु पर्छ ।

विदेशमा नेता आउदा लिन जाने, घुमाउने र आर्थिक संकलन मात्र गर्ने जन सम्पर्क समितिले अब अमेरिकी सरकारसँग लविङ गर्ने, नेपाली समुदायमा सामाजिक सेवाग्रही कार्यहरुसंगै नेपाली कांग्रेस पाटीसँग संयोजन गरि अमेरिका र नेपालबीच पुलको काम गर्न सक्नु पर्छ । अमेरिकामा नेता आउने वितिकै कार्यक्रम मात्र गरेर भन्दा पनि अब उत्पादनशील र दीर्घकालिन रुपमा नेपाल र नेपालीको साथै अमेरिकी सरकारसँग मिलेर कार्य गर्ने क्षमता राख्न सक्नुपर्छ ।

कुनै बेला नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह अमेरिका आउदा तत्कालिन राष्ट्रपति जर्जबुसले विशेष सम्मान गरेका थिए । त्यही किसिमको सम्मान अहिलेसम्म कुनै नेताले पाएका थिएनन् । पछिल्लो समय जति नेता आएपनि ससाना कार्यक्रममै सिमित हुनुपरेको छ ।

हुन त गणेशमान जतिको उचाई सवैले नलिएपनि पार्टीको नेता भइसकेपछि त्यो सम्मान पाउनु पर्छ । अब अमेरिकी सरकारले त्यो किसिमको सम्मान गर्न लायकको बनाउने जिम्मेवारी नेपाली कांग्रेस र जन सम्पर्क समितिको नेतृत्वको काधमा आइपुगेको छ । त्यस किसिमको भिजन भएको नेतृत्व अबको जन सम्पर्क समितिमा आउनु पर्छ । जसले नेपाल र अमेरिकी सरकारकोबीच पुलको काम गर्न सकोस् । जसले बिपि, गणेशमान, कृष्णप्रसाद र गिरिजाको सपना पुरा गर्नमा मद्दत गरोस् ।

हिजो पार्टीले बिघान संसोधनका लागि सुझाव मागेको बेलामा अमेरिकाबाट मेरो संयोजकत्वमा कार्य समितीका २१ जना साथीहरूको समर्थनमा पार्टीमा विधान संशोधनका लागि पठाइएको थियो । हामीले दिएका बुदाहरू मघ्ये ६ वटा बुदा पार्टीको विधानमा समेटिएका थिए ।

पार्टीको विधानमा भएको त्यो समस्यालाई हल गर्न बिश्व भरी स्थापना भएका नेपाली जनसम्पर्क समितीको गठन , निर्माण र सदस्यता लिने दिने प्रकिया, अन्य बिभिन्न प्रावधानमा लेखिएको कुराले बिश्व भरीका नेपाली कांग्रेसका कार्यकर्ताहरू सदस्य बन्न बाट बन्चित हुने गंभीर समस्यालाई लिएर नेपाली कांग्रेसका नेताहरूको घ्यान आकृष्ट गर्दै वर्तमान अवस्थामा बिघानमा गरिएको दफाहरूलाई परिमार्जन सहित केन्दीय समितीको बैठक बाट पास गर्नका लागि अनुरोध सहितको निवेदन नेपाली काँग्रेस केन्दीय कार्यालयमा २०७५साल मंसिर ६ गते दर्ता गरिएको थियो । जसको दर्ता नम्बर ९२ रहेको छ ।

यदि यही प्रकारले पार्टीले आफ्नो विधान सच्याएन भने विश्वभर नाममात्रका जनसम्पर्क समिती रहने छन् । नेपाली कांग्रेसका लाखौ समर्थक , कार्यकर्ताहरू काग्रेस हुनबाट बञ्चित हुनेछन् । जसले गर्दा काग्रेसलाई अझ ठूलो क्षती पुग्ने पक्का छ । अझै पनि समय घर्किएको छैन । काँग्रेस नेतृत्वले समयमै ध्यान देओस् । जय नेपाल ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com