साधारण तारेखमा छुटिन नायिका शिल्पा


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

बहुविवाहको मुद्दामा नायिका शिल्पा पोखरेललाई काठमाडौं जिल्ला अदालतले शुक्रबार साधारण तारेखमा छाड्ने आदेश दिएको छ । आज अदालत हाजिर भएकी पोखरेलको बयान सकिएसँगै थुनछेक बहस भएको थियो । जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलाशबाट साधारण तारेखमा रहने आदेश भएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

गत २६ कात्तिकमा सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेलले दायर गरेको रिट निवेदन खारेज गरेको थियो । पोखरेलले आफूलाई पक्राउ गर्ने जिल्ला अदालत र उच्च अदालतको आदेशविरुद्ध गत २९ साउनमा दर्ता गरेको रिट निवेदन सर्वोच्चले खारेज गर्ने फैसला सुनाएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले सुनाएको फैसलासँगै पोखरेललाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो । तर, शिल्पा आफै अदालत उपस्थित भएकी थिइन् ।

निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह गरेको भन्दै छवि र शिल्पाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न आदेश दिएसँग शिल्पा फरार थिइन् । जिल्ला अदालतले दिएको आदेशविरूद्ध शिल्पा सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन् । गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर ग¥यो । सो आदेशविरूद्ध उनले आफ्नो वारेसमार्फत गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com