अधिकांश एसाइलम आवेदकलाई वर्क परमिट नदिने प्रस्तावित नियम फेडरल रजिस्टरमा प्रकाशित


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिएकाहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा वर्क परमिट नदिने प्रस्तावित नियम आज फेडरल रजिस्टरमा प्रकाशित गरेको छ ।  उक्त नियमका लागि ६० दिनको कमेन्ट अवधि राखिएको छ । उक्त नियम लागु भएमा एसाइलम पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्न कठिन हुनसक्ने जनाइएको छ ।

त्यस्तै कानुनी रुपमा प्रवेश गर्नेहरुको एसाइलम आवेदन पनि वर्क परमिट प्राप्त गर्ने उद्देश्यकोमात्र देखिएको खण्डमा त्यस्ता आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट जारी नगर्ने प्रस्ताव युएससीआईएसले गरेको छ । प्रस्तावित नियममा एसाइलमको वर्क परमिटका लागि आवेदन दिनका लागि आवेदन दिएको मितिले ३६५ दिन कुर्नुपर्ने उल्लेख गरिएको छ । अहिलेसम्म एसाइलम आवेदन पेन्डिङ अवस्थामा रहेको १५० दिनपछि आवेदकले वर्क परमिट प्राप्त गर्नसक्ने नियम रहेको छ ।

त्यस्तै प्रस्तावित नियममा अध्यागमन अदालतमा एसाइलमको मुद्दा पुगेको ३६५ दिनपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिने उल्लेख छ । त्यस्तै आवेदकका कारण आवेदनको फैसला वा निर्णयमा ढिलो भएको सन्दर्भमा युएससीआईएसले वर्क परमिट अस्वीकार गर्नसक्ने प्रस्ताव गरिएको छ ।

फेडरल रजिस्टरमा प्रकाशित  नियमको पूर्ण पाठ यहाँ पढ्नसक्नुहुनेछ ।

त्यस्तै युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गर्ने समेत प्रस्तावित नियममा उल्लेख छ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्ट प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको छ ।

एसाइलम वर्क परमिटमा गर्न लागिएका ६ मुख्य परिवर्तन (एसाइलम आवेदकले पढ्नैपर्ने)

अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने वा गर्ने प्रयास गर्नेहरु एसाइलम आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्नका लागि योग्य नहुने प्रस्तावित नियममा जनाइएको छ भने अमेरिका प्रवेश गरेको एकबर्षभित्र एसाइलम आवेदन नदिएकाहरु समेत पेन्डिङ एसाइलम आवेदनका आधारमा वर्क परमिट प्राप्त गर्न अयोग्य हुनेछन् ।

त्यस्तै ३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य हुनेछन् । आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान नगरिने प्रस्तावित नियममा जनाइएको छ ।

यदि कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुने समेत प्रस्ताव गरिएको छ । युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिने जनाइएको छ । यदि अध्यागमन अदालतले आवेदन अस्वीकृत गरेको खण्डमा त्यसको तीस दिनमा वर्क परमिटको म्याद सकिने प्रस्ताव गरिएको छ । तर बोर्ड अफ इमिग्रेशन अपिलमा समयमै अपिल फाइल गर्नेहरुका सन्दर्भमा भने वर्क परमिट कायम हुनसक्नेछ ।

नियममा एसाइलमको आवेदन प्रकृया र अन्तरवार्ताका सनदर्भमा पनि परिवर्तनको प्रस्ताव गरिएको छ । त्यस्तै वर्क परमिटको म्याद २ बर्षभन्दा बढीको नहुने तर त्यो भन्दा कम म्याद भएको वर्क परमिट समेत जारी गर्न सकिने प्रस्ताव गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com