एसाइलम वर्क परमिटमा गर्न लागिएका ६ मुख्य परिवर्तन (एसाइलम आवेदकले पढ्नैपर्ने)


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकामा एसाइलमका लागि आवेदन दिएका र दिनेहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा दिइने वर्क परमिटका सन्दर्भमा केही मुख्य परिवर्तनको प्रस्ताव गरेको छ । युएससीआईएसबाट प्रस्तावित उक्त नियम भोलि बिहिबार फेडरल रजिस्टरमा प्रकाशित हुनेछ ।

प्रस्तावित नियम लागु भएमा के हुनेछ ?

१.  प्रस्तावित नियममा एसाइलमको वर्क परमिटका लागि आवेदन दिनका लागि आवेदन दिएको मितिले ३६५ दिन कुर्नुपर्ने छ । यसको अर्थ अहिलेजस्तो १५० दिन एसाइलम आवेदन पेन्डिङ रहेरमात्र वर्क परमिट प्राप्त हुनेछैन । त्यसका लागि एकबर्ष कुनुपर्नेछ । तर आवेदकका कारण आवेदनको फैसला वा निर्णयमा ढिलो भएको सन्दर्भमा भने युएससीआईएसले वर्क परमिट अस्वीकार गर्नसक्नेछ ।

२,  युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गरिनेछ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्टहर प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको छ ।

३,  अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने वा गर्ने प्रयास गर्नेहरु एसाइलम आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्नका लागि योग्य हुनेछैनन् । तर पहिले नै गैरकानुनी रुपमा अमेरिका आइसकेका र एसाइलम आवेदन पेन्डिङ रहेकाहरुको सन्दर्भमा वर्क परमिट नविकरण गर्दा के हुने भन्ने स्पष्ट छैन । यसबारेमा स्पष्ट पार्न युएससीआईएस कानुन व्यवसायीसँग छलफल गर्नेछौं । 

४,  भिसा लिएरै आएकाहरुले अमेरिका प्रवेश गरेको एकबर्षभित्र एसाइलम आवेदन नदिएमा पेन्डिङ एसाइलम आवेदनका आधारमा वर्क परमिट प्राप्त गर्न योग्य हुनेछैनन् । त्यस्तै वर्क परमिट लिने उद्देश्यलेमात्र फाइल गरिएका एसाइलमका सन्दर्भमा पनि वर्क परमिट अस्वीकृत गर्न सकिनेछ ।

५,  ३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य हुनेछन् । त्यस्तै आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान गरिनेछैन ।

६,  कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुनेछ । युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिनेछ । यदि अध्यागमन अदालतले आवेदन अस्वीकृत गरेको खण्डमा त्यसको तीस दिनमा वर्क परमिटको म्याद सकिनेछ । तर बोर्ड अफ इमिग्रेशन अपिलमा समयमै अपिल फाइल गर्नेहरुका सन्दर्भमा भने वर्क परमिट कायम हुनसक्नेछ ।

हामी १६२ पृष्ठ लामो उक्त नियम गहन रुपमा अध्ययन गरिरहेका छौं, त्यसका महत्वपूर्ण अशंहरु क्रमश अपडेट गराउँदै जानेछौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com