राष्ट्रपतिका लागि अर्कान्सास डेमोक्रेटिक प्राइमरीमा ब्लुमबर्गको उम्मेदवारी दर्ता


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

न्युयोर्कका पूर्व मेयर तथा अर्बपति ब्यापारी माइकल ब्लुमबर्गले अर्कान्सासको डेमोक्रेटिक प्राइमरीका लागि समेत आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउँदै उनले जसरी पनि ट्रम्पलाई पराजित गर्नुपर्ने बताएका छन् ।

यस अगाडि उनले अलाबामाको डेमोक्रेटिक पार्टीको प्राइमरीका लागि उम्मेदवारी दर्ता गराएका थिए । ब्लुमबर्गले औपचारिक रुपमा अहिलेसम्म उम्मेदवारीको घोषणा गरेका छैनन् ।

आगामी मार्च ३ मा अलाबामा र अर्कान्सासमा डेमोक्रेटिक प्राइमरी हुँदैछ । उक्त दिन तर ब्लुमबर्गले सुरुका ४ प्राइमरी प्रतिस्पर्धाहरुमा सहभागी नहुने जनाइएको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् । ७७ वर्षीय ब्लूमबर्गले गत मार्चमा आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका थिए तर अन्ततः चुनावी दौडमा उत्रने भएका छन् ।

डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लूमबर्गको भिडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।अमेरिकी धनाढ्य ब्लूमबर्गको चुनावी दौडले हालसम्म डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ ।

न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईका साथमा अर्बपति ब्यापारी माइकल ब्लुमबर्ग ।

अमेरिकी वित्तीय राजधानी वालस्ट्रिट निकट मानिएका ब्लूमबर्गले राष्ट्रपतिको दौडमा रहका अर्का प्रभावशाली उम्मेदवारहरु एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई बामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन् ।

ब्लूमबर्गको विचारमा जो बाइडेन कमजोर छन् र स्यान्डर्स एवं वारेनले चुनाव जित्दैनन् । त्यसैले उनले आफू ट्रम्पसँग लड्नका लागि चुनावी मैदानमा आउने बताएका छन् । तर औपचारिक घोषणा भने भइसकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com