भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।

प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’ मा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीबारे जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, “भ्रमण वर्षको व्यापक तयारी भइरहेको छ, भ्रमण वर्ष सचिवालयले प्रदेश सरकार र विदेशस्थित सबै कूटनीतिक नियोगलाई पत्राचार गरिसकेको छ । हामी (सरकार) ले ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा पठाएका छौँ, विदेशका चर्चित कलाकारको पनि सहभागिता रहनेछ । सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथ निजी क्षेत्रको सक्रियतामा भ्रमण वर्षलाई भव्यरूपमा शुभारम्भ गरिनुपर्छ ।”

सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । विदेशस्थित सबै कूटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम तय गरिएको पर्यटनमन्त्री भट्टराईले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ । सङ्घीय सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले पनि भ्रमण वर्षलाई सफल बनाउन गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सेवा स्तरीकरणलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।

सम्भवतः भ्रमण वर्षको उघाटन समारोह दशरथ रङ्गशालामा गरिनेछ । शुरुमा टुँडिखेलमा गर्ने योजना रहे पनि रङ्गशाला निर्माण सकिएको र व्यवस्थित हुने भएकाले सोही स्थानमा भ्रमण वर्षको उद्घाटन गर्ने गरी भ्रमण वर्ष सचिवालयले तयारी गरिरहेको छ ।

भ्रमण वर्ष सचिवालयका बच्छुनारायण श्रेष्ठले भ्रमण वर्षको शुभारम्भसहित भ्रमण वर्ष अवधिमा गरिने काम डिसेम्बर १५ भित्र सार्वजनिक गर्नेगरी तयारी थालिएको बताउनुभयो । “भ्रमण वर्षको उद्घाटन स्थल र प्रमुख अतिथिको विषयमा टुङ्गो लागि सकेको छैन । दशरथ रङ्गशाला तयारी अवस्थामा हुने हुँदा सोही स्थानमा उद्घाटन समारोह हुन्छ, उद्घाटनका लागि राष्ट्रपति या प्रधानमन्त्री कसलाई बोलाउने भन्नेबारे छलफल गरी निर्णयमा पुग्छौँ,” उहाँले भन्नुभयो ।

उहाँले भ्रमण वर्ष अवधिमा २० लाख पर्यटक सङ्ख्यामा मात्र नभई यसलाई आधार वर्ष बनाएर एक दशकसम्म भ्रमण वर्ष मनाएर सङ्ख्यासँगै गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

त्यसो त पर्यटनमन्त्री भट्टराई पनि भ्रमण वर्षमा २० लाख पर्यटक पुग्ने आधार तयार भइसकेको तर त्यही नै अन्त्य नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले विमानस्थल र स्थल मार्गबाट प्रवेशाज्ञाधारी पर्यटकको मात्रै गणना भएको छ, प्रवेशाज्ञा नलिने भारत, चीन तथा तेस्रो मुलुकका पनि धेरै पर्यटक छन्, तिनको हिसाब गर्ने हो भने विभिन्न सिलसिलामा आउने विदेशी करिब ५० लाख पुग्छन् । त्यसैले २० लाख ठूलो कुरा होइन । पाँच वर्षपछि प्रत्येक वर्ष ३५ लाख पर्यटक आउने वातावरण बनाउनेतिर ध्यान जान जरुरी छ ।”

पन्ध्रौँ पञ्चवर्षीय योजनाले पर्यटनलाई राज्यको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रूपमा लिएको र अहिलेको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई उक्त योजना अवधिभर १० प्रतिशत पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको मन्त्री भट्टराईको भनाइ थियो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको आर्थिक समृद्धिलाई सार्थक तुल्याउने आधार पर्यटन, कृषि, ऊर्जालगायत भएकाले यसको प्रभावकारी प्रवद्र्धनमा जोड दिनुभयो । उहाँले भ्रमण वर्षलाई सफल बनाउन तथा समग्र पर्यटनमैत्री वातावरण तयार गर्न प्रदेश सरकार क्रियाशील रहेको भन्दै पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सक्रिय ढङ्गले लाग्न आग्रह गर्नुभयो ।

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले भ्रमण वर्षलाई सफल बनाउन सबै क्षेत्रको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो ।

प्रदेश नं ३ को भ्रमण वर्षको तयारी

नेपाल भ्रमण वर्ष अभियानलाई प्रभावकारी तुल्याउन तथा उक्त अवधिमा गरिने कार्यक्रमको तयारीस्वरूप प्रदेश ३ को पर्यटन मन्त्रालयले आज ललितिपुरमा भ्रमण वर्षको पूर्व तयारी भेला ग¥यो ।

पर्यटनमन्त्री भट्टराई, प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल, प्रदेश पर्यटनमन्त्री नेपाल, उपत्यकाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यहरू, प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिका प्रमुख एवं प्रतिनिधि, पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

सहभागी प्रतिनिधिले भ्रमण वर्षलाई भव्य र सभ्यरूपले सफल बनाउन अन्तरसरकार तथा सरोकार भएका निकायबीच समन्वयका साथ योजना कार्यक्रम लैजानुपर्नेमा जोड दिए ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले भ्रमण वर्षलाई देशको आर्थिक समृद्धिसँग जोड्दै स्थानीय उत्पादन प्रवद्र्धन गरिनुपर्ने धारणा राख्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदीले भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबै क्षेत्रको सक्रियता चाहिने औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेश ३ को विविध पर्यटकीय गन्तव्यलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । उक्त वृत्तचित्र ११२ वटा भिडियो क्लिप आठ भाषामा प्रदर्शन गरिनेछ ।

भ्रमण वर्षभरि प्रदेश सरकारको १४ घरेलु उत्पादनका कोसेली घर, १० पर्यटकीय गन्तव्य र १० ‘हिल स्टेसन’ निर्माण गरिनेलगायत कार्यक्रम छ । भ्रमण वर्षका लागि रु एक अर्ब ६२ करोड बजेट विनियोजन भई विभिन्न चरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com