खाडी गएका १० प्रतिशत युवाको मिर्गौलामा समस्या


प्रकाशित मिति : फाल्गुन २६, २०७३ बिहीबार

वैदेशिक रोजगारको सिलसिलामा करिब २० लाख युवा खाडी मुलुकमा छन् । चर्काे घाममा पानीसमेत नखाई १६ घन्टासम्म काममा खटिनुपर्ने भएकाले धेरैजसोमा मिर्गौलाको समस्या आएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिराम काफ्लेले बताए । उनका अनुसार २० लाख युवामध्ये १० प्रतिशत अर्थात् दुई लाख युवाको मिर्गौंलामा कुनै न कुनै समस्या रहेको छ ।

खाडी मुलुकमा काम गर्ने २० हजार युवाको मिर्गौला धेरै बिग्रिसकेको छ । त्यस्तै, दुई हजार युवाको मिर्गौला पूरै ड्यामेज भएको छ । काफ्लेका अनुसार प्रत्येक वर्ष दुई सय युवाको मिर्गौला फेल हुने गरेको छ भने रोजगारीकै क्रममा प्रत्येक दिन एकजना युवाको मिर्गौला बिग्रने गरेको छ ।

वैदेशिक रोजगारमा खाडी मुलुक गएका नेपाली युवामा मिर्गौला बिग्रने समस्या अत्यधिक रहेको पाइएको छ । आराम नगरी बढी जोखिमयुक्त काम गर्नुपर्ने तथा पोषणयुक्त खानपान नहुँदा खाडी मुलुकमा काम गर्न जाने युवाहरूको मिर्गौैलामा खराबी पाइएको चिकित्सकहरूले बताएका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘युवा वर्गमा मिर्गौलाको खराबी हुने समस्या बढी छ । अझ वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका युवाहरूको हकमा अत्यधिक समस्या पाइएको छ ।’ डा. श्रेष्ठले काम बढी गर्ने र पानी कम खाने हुनाले पनि खाडी गएका युवा मिर्गौला रोगको सिकार हुने गरेको बताए ।

डा. श्रेष्ठले कमिसन लिएर स्वास्थ्य परीक्षणको गलत रिपोर्ट बनाउने गरिएकाले पनि विदेश पुग्ने युवाले अनाहकमा स्वास्थ्यको जोखिम मोल्नुपरेको पनि बताए । पछिल्लो समय रोजगारको सिलसिलामा विदेश पुगेका युवाहरूले स्वास्थ्य परीक्षण गराउँदा मिर्गौला फेल भएको बढी देखिएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले तीन वर्षमा २ सय ५७ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । त्यसमध्ये ८० जना वैदेशिक रोजगारबाट फर्केका युवा छन् । डा. श्रेष्ठले विदेशबाट आएकाहरूमा गभीर मिर्गौला रोगको समस्या देखिएको बताए ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले एक वर्षमा ६ जना मिर्गौला रोगीको प्रत्यारोपण गरेको छ । यता, शिक्षण अस्पताल महाराजगन्जले ९ वर्षको अवधिमा ४ सय १७ जनाको प्रत्यारोपण गरेको छ । वीर अस्पतालमा भने एक वर्षको तथ्यांक मात्रै फेला परेको छ । एक वर्षको अवधिमा वीर अस्पतालले ६ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।

डेढ वर्षको खर्चले सबै प्रत्यारोपण
सरकारले डेढ वर्ष डाइलासिसमा गरेको खर्चले सबै प्रत्यारोपण गर्न सकिने श्रेष्ठले बताए । ‘देशलाई उत्पादनशील नागरिक चाहिएको छ । रोगी नागरिक चाहिएको छैन । त्यसैले पनि डाइलासिसभन्दा प्रत्यारोपणमा राज्यको ध्यान जानुपर्छ,’ श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार बिचौलियाहरूले प्रत्यारोपणमा असर पुर्या‍उने गरेका छन् । ‘डाइलासिस गर्दा निरन्तर गर्नुपर्ने र राज्यले यसका लागि ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले बिचौलियालाई फाइदा पुग्छ ।’ मिर्गौला फेल भएपछि कुनै पनि व्यक्तिसँग तीनवटा विकल्प रहन्छ । डाइलासिस गर्ने, प्रत्यारोपण गर्ने या मृत्यु स्विकार्ने । एउटा बिरामीको डाइलासिस गर्दा एकपटकमा २५ सय रुपैयाँ खर्च हुने गरेको छ । यो रकम केही समय अघिदेखि सरकारले व्यहोर्दै आएको छ । यो सेवा बाचुन्जेल लिनुपर्ने हुन्छ ।

मिर्गौला उपचारका लागि प्रत्यारोपण उत्तम विकल्प रहेको चिकित्सकहरूको ठम्याइ रहेको छ । कुनै समस्या आएन भने एकपटक प्रत्यारोपण गरेपछि पुग्छ । प्रत्यारोपणका लागि अहिले सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । डा. श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण गर्दा चार लाख खर्च हुने गरेको छ । त्यसैले पनि सरकारलाई डाइलासिसभन्दा प्रत्यारोपणमा खर्च गर्नु उपयुक्त हुन्छ ।

प्रत्यारोपण निःशुल्क गर्ने
सरकारले मिर्गौला प्रत्यारोपणलाई निःशुल्क गर्ने भएको छ । डाइलासिसको उपचार निःशुल्क गरेको सरकारले यसपटकबाट प्रत्यारोपणलाई पनि निःशुल्क गर्न लागेको हो । चिकित्सकहरूको सल्लाह र सुझाबका आधारमा स्वास्थ्य मन्त्रालयले प्रत्यारोपण निःशुल्क गर्ने तयारी थालेको स्वास्थ्यमन्त्रीका निजी सचिव सालिकराम दाहालले बताए । ‘डाइलासिस गर्नुभन्दा सस्तो प्रत्यारोपण हुने रहेछ । अहिले प्रत्यारोपणको खर्च कति हुन्छ भनेर हामी छलफलमा जुटेका छौँ । केही दिनमै हामी मिर्गौला प्रत्यारोपणलाई निःशुल्क बनाउनेछौँ,’ दाहालले भने ।

महिनामा ३० जनाको प्रत्यारोपण
मोटोपन आधुनिक विश्वको ठूलो चुनौतीका रूपमा रहेको छ । मोटोपनले गर्दा मिर्गौला रोगसँगै अन्य रोगहरू पनि लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ । मोटोपन मिर्गौला रोग निम्त्याउने कारक तत्व बनेको भन्दै सरकारले यस वर्षको मिर्गौला दिवसको नारा पनि मोटोपनसम्बन्धी राखेको निर्देशक श्रेष्ठले बताए । यस वर्षको मिर्गौला दिवसको नारा ‘मिगौला रोग र मोटोपन’ भन्ने रहेको छ ।

हिले नेपालमा डाइलासिस गराउने बिरामीको संख्या २२ सय पुगेको छ । प्रत्यारोपण गराउनेहरूको संख्या यकिन नभए पनि करिब ३० जनाले एक महिनामा प्रत्यारोपण गराउने गरेको डा. काफ्लेले बताए । शिक्षण अस्पताल, वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै आएका छन् ।

नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको ९ वर्ष पुगेको छ । डा. काफ्लेले मिर्गौला उपचार सेवा काठमाडौंकेन्द्रित नभई अञ्चल र जिल्ला अस्पताल केन्द्रित बनाउन सरकारलाई सुझाब दिए । उनले गाउँदेखि ठूलो रकम खर्च गरेर डाइलासिसको सेवा लिन काठमाडौं आउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि अञ्चल अस्पताल र जिल्ला अस्पतालमा डाइलासिस सेवा सुरु गर्नुपर्ने बताए ।नयाँ पत्रिकाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com