‘छ माया छपक्कै’ नोभेम्बरको पहिलो सातादेखि अमेरिकाभर
प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार
दर्शकहरुको मन जीत्न सफल यो वर्षको हिट चलचित्र ‘छ माया छपक्कै’ नोभेम्बरको पहिलो सातादेखि अमेरिकाभर प्रदर्शन हुने भएको छ । दशैं लगत्तै रिलिज भएको उक्त सिनेमा अहिलेसम्म पनि नेपालका मल्प्लिेक्सहरुमा हाउसफूलका साथ चलिरहेको छ ।
अमेरिकामा आफ्नो सहरमा चलचित्र प्रदर्शन गर्न चाहनेले सुरेश दर्पण, भरत बराइली, प्याट्रिक सुवेदी, डीजे मोमो लगायतलाई सम्पर्क गर्न सक्नेछन् ।
गम्भीर राजनैतिक विषयलाई हास्यप्रधान तरिकाले प्रस्तुत गरिएको यस चलचित्रलाई दर्शकले निकै रुचाएका छन् । दीपेन्द्र लामा निर्देशित यस चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् ।

दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको यस चलचित्रको पटकथा दीपकराजले तयार गरेका हुन् । आमा सरस्वती मुभिज्, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ ।
बाटो र विजुली पुगेको घडेरी गाउँमा एक गाग्री पानी लिन घन्टौँ उकालो–ओरालो गर्नुपर्ने बाध्यताको कथामा छ चलचित्र । राजनीतिक मतभेदका कारण पानी आउन नसकेको यो कथा कञ्चनपुरको साविकको गोदावरी गाविसको सत्य घटनामा आधारित रहेको फिल्म युनिटको दाबी छ ।






