वन्यजन्तु र पशुचौपायाबीच द्वन्द्व बढ्दै


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

नरेन्द्रसिंह कार्की

मार्मा गाउँपालिका–२ का लोकेन्द्रबहादुर सिंहका एक महीना अघि दुई बाख्रा र एक खसी जङ्गलमा चराउन लगेका बेला चितुवाले खाइदियो । घर नजिकै रहेको जङ्गलमा चराउन लगिएका बेला खसीबाख्रा चितुवाको शिकार बने । निकै परिश्रम गरेर पालेका खसीबाख्रा चितुवाले खाएपछि सिंह निकै निराश हुनुभयो ।

त्यही ठाउँ बस्ने भागरथी सिंहका पाँच बाख्रा चितुवाले खायो । एउटै वनमा दुवैैले चराउन लगेका बेला चितुवाको शिकार भए । घर नजिकैको सामुदायिक वनमा खसीबाख्रा चराउन लगिएका थिए । घरमै घाँस तथा खर काट्न सकिने अवस्था नभएपछि जङ्गलमा चराउन लगाएका खसीबाख्रा चितुवाले मारेपछि किसान निकै चिन्तित बने । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले पछिल्लो समय वन संरक्षणमा जोड दिएपछि गाउँ नजिकै चितुवाले घरेलु जनावर मार्ने क्रम बढेको छ ।

विसं २०६७ मा स्थापना भएको अपि नाम्पा संरक्षण क्षेत्रमा गत आवदेखि वन्य जन्तुबाट घरेलु जनावर मार्ने क्रम बढेको हो । बाघ भालुको आक्रमणभन्दा पनि चितुवाले किसानका पशुचौपाया मार्ने क्रम रोकिएको छैन् । विगतमा शिकारीका कारण वन्यजन्तु मार्ने क्रम बढी हुन्थ्यो भने, अहिले जङ्गली वन्यजन्तुको शिकारमा कमी हुन थालेपछि वन्यजन्तुले घरेलु पशुचौपाया मार्न थालेका छन् । अहिले स्थानीयका घरबाटै चितुवाले भेडाबाख्रा मार्न थालेको किसान बताउँछन् । वन्यजन्तु सिधै गाउँ पुग्न थालेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाकाली नगरपालिका–१ का पशुपति बम घर छेउबाटै जङ्गली जनावरले भेडाबाख्रा मार्ने गरेको बताउनुहुन्छ । “जङ्गल नजिकै घर छ, कति बेला चितुवा, बाघ, भालु आउँछन् थाहा हुँदैन”, उहाँले भन्नुभयो । अपि नाम्पा संरक्षण क्षेत्रले वन्य जन्तुको शिकार गर्न प्रतिबन्ध लगाएपछि अहिले घरेलु जनावर वन्यजन्तुको शिकार बनेका छन् । जङ्गल छेउका किसानको मुख्य आयस्रोत भेडाबाख्रा पालन व्यवसाय हो ।

प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले वन्यजन्तुका कारण घरेलु जनावरको मृत्यु हुन थालेपछि गत वर्षबाट राहत दिन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले राहत दिइएको थिएन, गत वर्षदेखि किसानलाई मार्का नपरोस् भन्नका लागि राहत रकम वितरण गरिएको हो ।” अपि नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेका अनुसार गत वर्ष जङ्गली जनावरका कारण अपि नाम्पा संरक्षण क्षेत्रभित्र ६६ भेडाबाख्रा र खसीबोकाको मृत्यु भएको थियो । संरक्षण क्षेत्रभित्रका २१ परिवारलाई क्षतिपूर्तिबापत रु छ लाख ६७ हजार राहत वितरण गरिएको घिमिरले जानकारी दिनुभयो ।

यस्तै यो वर्ष हालसम्म २१ भेडाबाख्रा चितुवाले मारेको आधिकारिक तथ्याङ्क छ । कार्यालयले सोबापत रु एक लाख ५० हजार राहत वितरण गर्न लागेको जनाइएको छ । गत वर्ष डिभिजन वन कार्यालयको सीमा क्षेत्रमा दुई जनालाई बँदेलले घाइते बनाएको थियो । सोबापत उनीहरुलाई रु तीन लाख ७१ हजार राहत वितरण गरिएको थियो । अपि नाम्पा संरक्षण क्षेत्रभित्र चोरी शिकारीका घटनामा कमी आउन थालेपछि वन्यजन्तुको आवतजावत बढेको सूचना अधिकारीसमेत रहनुभएका संरक्षण अधिकृत घिमिरे बताउनुहुन्छ ।

संरक्षण क्षेत्रभित्र १२५ बढी सामुदायिक वन छन् । अहिले हरेक रेञ्जपोष्ट सेक्टर कार्यालयमा कर्मचारीको उपस्थिति, सामुदायिक वनको सक्रियता र सुराकी परिचालन गरेकै कारण वन्यजन्तुको शिकार कम भएको हो । संरक्षण क्षेत्र कार्यालयले सामुदायिक वनका पदाधिकारीलाई भेडाबाख्रा जोगाउने तालीम दिन थालेको छ । उहाँले किसानको खेतबारीको समेत बीमा गराउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । वन्यजन्तुको कारण घरेलु जनावरमात्र नभई घरेलु खेतीपातीमा समेत क्षति पु¥याइरहेका छन् ।

वन्यजन्तुका कारण पशुचौपाया मात्र नभई किसानका बालीनालीमा पु¥याइको क्षतिको समेत राहत दिनका लागि संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पहल गर्ने परिषद्का अध्यक्ष चक्रसिंह ह्याकीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट वन्यजन्तु वन्यजन्तुबीच र मानव तथा वन्यजन्तुबीचको द्वन्द्वमा कमी ल्याउन सकेमात्रै संरक्षण क्षेत्रको महत्व बढ्ने बताउनुहुन्छ ।

अपि नाम्पा संरक्षण क्षेत्रभित्र हिऊँ चितुवा, ध्वासे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, व्बासो, लङ्गुर, थारलगायतका २५ प्रकारका वन्यजन्तु पाइने गरेका बताइएको छ । जिल्लाका साविकका २१ गाविस समेटेर अपि नाम्पा संरक्षण क्षेत्र घोषणा गरिएको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्व सरकारको कालापथ्थर बैठकबाट सो संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com