ट्रम्प प्रशासनबाट वर्क परमिटमा कडाई गर्ने नयाँ निर्देशिका जारी
प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार
सोमबार ट्रम्प प्रशासनले वर्क परमिटमा कडाई गर्ने नयाँ निर्देशिका जारी गरेको छ । सरकारी सुविधा खाएका र खाने सम्भावना भएकाहरुलाई ग्रिनकार्ड अस्वीकार गर्नसक्ने नियम घोषणा गरेको ठीक एकसातापछि नयाँ नियमको घोषणा गरिएको हो ।
आपतकालिन मानवीय कारण वा निश्चित सार्वजनिक सुविधाका कारण अमेरिकामा अस्थायीरुपमा बसोबास गर्नेहरुलाई वर्क परमिटमा कडाई गरिएको हो । अध्यागमन तथा राष्ट्रियता ऐनको भाग २१२ डी, ५, एले अमेरिकामा मृत्यु हुँदै गरेका आफन्तलाई भेट्न आएका वा जीवन रक्षक स्वास्थ्य उपचार भइरहेकाहरुलाई मानवी आधारमा सरकारले वर्क परमिट प्रदान गर्नसक्ने प्रावधान रहेको छ ।

नयाँ निर्देशिका अनुशार अमेरिका प्रवेशको सुविधा दिइएका आप्रवासीलाई वर्क परमिट दिने वा नदिने सन्दर्भमा तजबिजी अधिकार बढाइएको युएससीआईएसले जनाएको छ । निर्देशिकामा वर्क परमिट प्रदान गर्नका लागि अफिसरले ख्याल गर्नुपर्ने सकारात्मक र नकारात्मक तत्वहरुको सुची समेत प्रदान गरिएको छ ।






