ट्रम्प प्रशासनबाट भिसा र ग्रिनकार्ड अस्वीकार गर्ने ८३७ पृष्ठ लामो नियम घोषणा
प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार
ट्रम्प प्रशासनले अमेरिकी भिसा र ग्रिनकार्डमा नियन्त्रण गर्ने नयाँ नियमको घोषणा गरेको छ । सोमबार घोषणा गरिएको उक्त नियमले ग्रिनकार्ड र भिसाका आवेदनलाई अस्वीकार गर्नका लागि सहज बनाउँदै अमेरिका आउने आप्रवासीको संख्यालाई नाटकीय रुपमा घटाउने अपेक्षा गरिएको छ ।
८३७ पृष्ठ लामो उक्त नियमले कानुनी बाटोबाट अमेरिकामा आएर बस्न चाहनेहरुमाथि नियन्त्रण कायम गर्नेछ । नयाँ नियमले कम आम्दानी हुनेहरुलाई अमेरिका आउनमा पहिलेको तुलनामा अझ कठिन बनाउनेछ ।
नयाँ नियमबाट कागजपत्रविहिनहरु प्रभावित हुने छैनन् तर उनीहरुले कुनै उपायबाट ग्रिनकार्ड आवेदन गरेमा भने नयाँ नियमबाट प्रभावित हुनेछन् । सोमबार जारी नियमले कानुनी लडाईको सामना गर्नसक्ने अपेक्षा गरिएको छ ।
नयाँ नियम अनुशार मेडिकेड, फुड स्ट्याम्प लगायतका सरकारी सुविधा लिनेहरुको ग्रिनकार्ड अस्वीकार गर्न सक्नेछ । मंगलबार औपचारिक रुपमा प्रकाशित हुने उक्त नियम अक्टोबरको मध्यबाट लागु हुने जनाइएको छ ।