ग्रिनकार्ड रहेका र टीपीएसबाट एड्भान्स परोल लिएकालाई यात्रा गर्नमा समस्या हुन्न


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

कतिपय अनलाइनहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालीहरु सबैलाई नेपाल फिर्ताजान भनेको, स्थायी रुपमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि अप्ठ्यारो अवस्था आएको, कागजपत्रबिहिन नेपालीलाई एकसाथ डिपोर्ट गर्ने जस्ता समाचारहरु प्रकाशन गरेकोप्रति अमेरिकामा रहेका कैयन नेपालीहरुले आक्रोश व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रम नेपालीलाई मात्र लक्ष्यित नभएपनि नेपालीलाईमात्र लक्ष्यित गरेर ट्रम्पका कार्यकारी आदेशहरु आएको र नेपालीलाई लक्ष्यित गरेर ट्रम्पले अभिव्यक्ति दिएको भन्दै सम्प्रेषित गलत समाचारहरुप्रति अमेरिकामा रहेका नेपालीहरु आक्रोशित भएका हुन् ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश वा अभिव्यक्ति नेपालीमात्र लक्ष्यित नभएको तर समग्रमा विश्वभरका कागजपत्रबिहिन आप्रवासीहरु प्रभावित हुँदा अल्पसंख्यक आप्रवासीका रुपमा रहेका कागजपत्रबिहिन नेपालीहरुपनि प्रभावित हुने स्पष्ट भएपनि मास डिपोर्टेशनको हल्ला चलाएकोमा मिडियाप्रतिको आक्रोश सामाजिक सञ्जालहरुमा व्यक्त भइरहेको छ । ट्रम्पको नीतिले अमेरिकामा अपराधमा संलग्न र सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा समातिएकाहरुलाई पनि डिपोर्टेशनको प्रकृयामा प्राथमिकतामा राख्ने कानुनविदहरुको भनाई छ । तर कानुनी प्रकृया अनुशार अगाडि बढ्नुपर्ने भएकाले मास डिपोर्टेशन सम्भव नभएको र ट्रम्प आफैले मास डिपोर्टेशनको कुरा नगरेको कानुनविदहरुको विश्लेषण छ । अमेरिकामा कागजपत्रको प्रकृयामा रहेका, ग्रिनकार्ड भएका, वैध भिसामा रहेका वा कुनै अपराधमा संलग्न नभएकाहरुलाई ट्रम्पको नीतिबाट खास असर नपर्ने स्पष्ट छ । अमेरिकामा झण्डै १० हजार नेपालीहरुलाई टीपीएसमार्फत पनि संरक्षित छन् ।

न्युयोर्क निवासी एक विद्यार्थी आफ्नो फेसबुकवालमा लेख्छन् – ‘मलाई नेपालबाट साथीहरु र आफन्तले अमेरिकामा रहेका सबै आप्रवासी नेपालीहरुले अमेरिका छाड्नुपर्ने हल्ला के हो भन्दै सोधिरहेका छन् । अहिले केही व्यक्तिलाई अमेरिकाबाहिर तत्कालका लागि यात्रा नगर्न सुझाव दिइएको छ । तर अहिलेसम्म कुनै पनि नेपालीलाई दुख दिइएको छैन । कसैलाई पनि घरवेटीले घरमा नेपाल फर्क भनेर सुचना टाँसेका छैनन् । ट्रम्पका कारण ग्रिनकार्ड भएका नेपालीहरु कोही पनि डिपोर्ट भएका छैनन् ।’

कतिपय अनलाइनहरुले अमेरिकामा रहेका नेपालीका नेपालमा रहेका आफन्तहरुमाझ अन्यौलको अवस्था सृजना गरेकोमा उनीहरुले आक्रोश व्यक्त गरेका छन् । ट्रम्पको कार्यकारी आदेशपछि अहिलेसम्म ग्रिनकार्ड भएका विश्वभरकै दुईजनालाईमात्र विमानस्थलबाट फिर्ता पठाइएको छ । उनीहरुमध्ये एकजना अपराधमा संलग्न व्यक्ति थिए भने अर्का एकजनाले क्यानडा फर्कने भन्दै आफैले ग्रिनकार्ड रद्द गरेका थिए । तर उनीहरु नेपालीहरु भने होइनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्मको अवस्थामा ट्रम्पको कार्यकारी आदेशपछि अपराधमा संलग्न भएको अवस्थामा बाहेक विश्वको कुनै पनि देशको पासपोर्ट बोक्ने ग्रिनकार्ड भएको व्यक्तिलाई अमेरिका बाहिर गएर आउनमा रोक लगाइएको छैन । त्यस्तै अपराधमा संलग्न नभएसम्म अमेरिकाभित्र रहेका कागजपत्रबिहिनहरुलाई पनि पक्राउ गर्ने र देशनिकाला गर्ने इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको प्राथमिकतामा रहेको छैन ।

‘मास डिपोर्टेशन’ हल्लामात्र

यसैबीच अमेरिकामा रहेका नेपालीहरु र नेपालमा रहेका उनीहरुका आफन्तहरु अमेरिकाको परिवतर्तित अध्यागमन अवस्थाबाट तनाव लिइहाल्नुपर्ने अवस्था नरहेको अमेरिकी कानुनविद् केशव सेडाईले बताउनुभएको छ । अमेरिकामा अपराध गरेको र अदालतबाट देशनिकालाको आदेश पाएको बाहेक अरु कुनै पनि नेपाली अमेरिकाबाट देशनिकाला हुने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।

एबीसी टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम टक अफ द टाउन युएसएका लागि कार्यक्रम संचालक किशोर पन्थीसँग कुराकानी गर्दै सेडाईले भन्नुभयो – ‘हल्लाको पछि लागेर कोही पनि चिन्तित हुनुपर्ने जरुरी छैन ।’

अमेरिकी ग्रिनकार्ड रहेका र टीपीएसबाट एड्भान्स परोल लिएकाहरु अमेरिकाबाहिर जान र अमेरिका फर्कनमा कुनै समस्या नहुने बताउँदै उहाँले अन्य अस्थायी प्रकारका गैरआप्रवासी भिसामा रहेकाहरु र एसाइलम गरेकाहरुलाई भने तत्काल अमेरिकाबाहिर यात्रा नगर्न सुझाव दिनुभयो ।

अमेरिकाभित्रै रहेका कागजपत्रबिहिनहरु संरिक्षत शहरहरुमा बसेमा अपराध नगरेसम्म वर्तमान अवस्थामा देशनिकालामा पर्ने खास खतरा नहुने पनि उहाँले स्पष्ट पार्नुभयो । ट्रम्पको नीतिले अपराधीहरुलाई देशनिकाला गर्नेकुरालाई प्राथमिकतामा राख्ने भएकाले अमेरिकामा आप्रवासी स्टेटसमा रहेकाहरु र गैरआप्रवासी भिसामा रहेकाहरुलाई कुनै समस्या नपर्ने भएकाले हल्लाका पछि नलाग्न उहाँले सुझाव दिनुभयो ।

मानवअधिकार, न्याय र स्वतन्त्रता अमेरिकाको लागि धेरै महत्वपूर्ण रहेको भन्दै अमेरिकी सरकार चेक एण्ड ब्यालेन्समा चल्ने उहाँले बताउनुभयो । ट्रम्पको कार्यकारी आदेश न्यायालयले रोकिराखेको र अमेरिकी कानुनी राज्य भएकाले हरेक कुराको कानुनी उपचार रहेको उहाँले प्रष्ट पार्नुभयो ।

आगामी दिनमा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने नेपालीहरुलाई भने अप्ठ्यारो अवस्था आउनसक्ने उहाँले बताउनुभयो । मेक्सिकोबाट अमेरिका छिर्न खोज्नेले एसाइलम गरेमा पनि मेक्सिकोतर्फ नै फर्काएर केस लिने तथा विभिन्न भिसामा अमेरिका आएर एसाइलम गर्नेहरुको एसाइलम युएससीआईएसबाट अस्वीकृत भएमा जेल हालेर न्यायाधिस समक्ष लगिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com