२०१९ का लागि डिभी जितेका कम्तीमा १६ सय नेपालीले भिसा नपाउने
प्रकाशित मिति : श्रावण १६, २०७६ बिहीबार
चालु आर्थिक बर्ष २०१९ का लागि डिभी जितेका झण्डै १६ सय नेपालीहरुले अमेरिकाको भिसा नपाउने निश्चित भएको छ । चालु आर्थिक बर्षको ९ महिनामा जम्मा १३४२ जना प्राथमिक डिभी विजेता नेपालीहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरेका छन् ।
आर्थिक बर्ष २०१९ का लागि ३६३३ जना नेपालीहरुले डिभी लोटरी पारेपनि यही अनुपातमा भिसा प्रदान गर्ने हो भने २०१९ का लागि डिभी विजेता झण्डै २ हजारलेमात्र भिसा पाउनेछन् । झण्डै १६ सय नेपालीहरु डिभी लोटरी पारेर पनि अमेरिका आउन नपाउने लगभग निश्चित रहेको छ ।

जुन महिनामा डाइभर्सिटी भिसा पाउने नेपाली अघिल्लो महिनाको तुलनामा भने केही बढी रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकले देखाएको छ । जुन महिनामा डिभीमार्फत ३३१ जना नेपालीहरुले अमेरिकाको भिसा पाएका छन् ।
३३१ जनामध्ये १९८ जना प्राथमिक डिभी विजेताहरु, ७० जना उनीहरुका दम्पत्ति र ६३ जना छोराछोरीहरु रहेका छन् । मे महिनामा डिभीमार्फत ३१९ जना नेपालीहरुले अमेरिकाको भिसा प्राप्त गरेका थिए । जसमध्ये १८३ जना प्राथमिक डिभी विजेताहरु थिए भने ७३ जना उनीहरुका दम्पत्ति र ६३ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।
अप्रिलमा ३४१, मार्चमा ३२३, फरबरीमा ४५७, जनवरीमा ७३ जना, डिसेम्बरमा १७४ जना, नोभेम्बरमा १९१ र अक्टोबरमा १५१ जना नेपालीहरुले डिभीमार्फत भिसा प्राप्त गरेका थिए । चालु आर्थिक बर्षको ९ महिनामा २३ सय ६० जना नेपालीहरुले डिभीमार्फत भिसा प्राप्त गरेका छन् ।

हाल डिभी विजेता कैयन नेपालीहरुको भिसा पब्लिक चार्जको आधारमा समेत रिजेक्ट गरिएको छ । सन् २०१९ का लागि डिभी विजेताहरुले सन् २०१९ को सेप्टेम्बर अन्त्यसम्म भिसा प्राप्त गरिसक्नुपर्नेछ । अक्टोबरदेखि भने आर्थिक बर्ष २०२० का डिभी विजेताहरुले भिसा प्राप्त गर्न थाल्नेछन् ।






