अमेरिकाको भिजिटर भिसाका लागि कुनै स्पोन्सरको जरुरत छैन : अमेरिकी दूतावास, काठमाडौं


प्रकाशित मिति : श्रावण ४, २०७६ शनिबार

अमेरिकी दूतावास काठमाडौंको फेसबुक पेजमा नियमित रुपमा संचालन गरिदै आएको भिसा च्याटमा अधिकांशले विद्यार्थी वा भिजिटर भिसा अस्वीकृत भएकोबारे प्रश्न सोध्ने गरेका छन् । दूतावासका कन्सुलर अधिकृतका तर्फबाट दिइएको भनिएको जवाफमा पनि प्राय सधै एउटै रेडिमेड जवाफ आउने गरेको छ ।

भिसाका लागि आवश्यक सबै कानुनी प्रावधानहरु पूरा गरेकोबारे कन्सुलर अफिसरलाई सन्तुष्ट नपारेका कारण भिसा रिजेक्ट हुने गरेको जवाफ दिइने गरेको छ । विद्यार्थी भिसाका लागि योग्य हुनका लागि अमेरिकामा पढ्ने आशय भएको र काम गर्ने आशय नभएको देखाउनुपर्ने, पढाईसकेपछि अमेरिका छाड्ने आशय हुनुपर्ने र पढाईका लागि आर्थिक व्ययभार थेग्नसक्ने देखाउनुपर्ने कानुनी प्रावधानहरु रहेको कन्सुलर अधिकृतले जवाफ दिने गरेका छन् । भिजिटर भिसाका लागि योग्य हुनका लागि अमेरिकाको भ्रमणपछि स्वदेश फर्कने कुराबाट कन्सुलर अधिकृतलाई आश्वस्त पार्नसक्नुपर्ने जवाफ दिइएको छ ।

पछिल्लो भिसा च्याटमा अमेरिकाको भिजिटर भिसाका लागि कुनै स्पोन्सरको जरुरत नभएको समेत कन्सुलर अधिकृतले प्रस्ट पारेका छन् । भिसा अस्वीकृत भएपछि पुन आवेदन दिंदा पहिले कुन कारणले भिसा अस्वीकृत भएको हो त्यसलाई सम्बोधन गर्नेगरी आवेदन दिन तथा अवस्थामा परिवर्तन आएपछिमात्र आवेदन दिन सुझाव दिइएको छ ।

विगतका बर्षमा भिसा अस्वीकृत भएपनि अवस्थामा परिवर्तन आएपछि भिसा आवेदन दिंदा स्वीकृत हुनसक्ने र जतिपटक पनि पुन आवेदन दिन सकिने कन्सुलर अधिकृतले प्रस्ट पारेका छन् ।

डिभी लोटरीका लागि आवेदन दिएको व्यक्ति अमेरिकाको गैर आप्रवासीभिसाका लागि स्वत अयोग्य नहुने तर डिभी भर्नुको आशय अमेरिकामा स्थायी रुपमा बसोबास गर्न चाहनु भएकाले भिजिटर भिसाका लागि आवेदन दिंदा आवेदकले आफूमा अब अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने चाहना नरहेको प्रमाणित गर्न सक्नुपर्ने कन्सुलर अधिकृतले जनाएका छन् । डिभी लोटरी भरेका कैयन व्यक्तिलाई अमेरिकाको भिजिटर भिसा दिइएको पनि भिसा च्याटमा जनाइएको छ ।

भिसा जारी गर्दा विगतमा के कारणले भिसा अस्वीकृत भएको थियो भन्ने विवरण आफूहरुले नहेर्ने पनि कन्सुलर अधिकृतले स्पष्ट पारेका छन् । भिसा जारी गर्दा काठमाडौंमा रहेको दूतावासले बैंक ब्यालेन्स नहेर्ने तर भ्रमणको खर्च कसरी बेहोर्ने भन्ने कुरा आवेदकले अन्तरवार्तामा प्रस्ट पार्नसक्नुपर्ने भिसा च्याटमा जनाइएको छ ।

पछिल्लो भिसा च्याट शुक्रबार गरिएको थियो । अमेरिकी दूतावास काठमाडौंले हरेक १५ दिनमा भिसा च्याटमार्फत जवाफ दिदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com