जनगणनामा नागरिकतासम्बन्धी थप प्रश्न राख्न ट्रम्पले प्रयास नगर्ने, सट्टामा कार्यकारी आदेश


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने जनगणनाको प्रश्नपत्रमा नागरिकतासम्बन्धी प्रश्नावली थप्नका लागि थप प्रयास नगर्नुहुने भएको छ ।

उहाँले केही प्रश्न थप्ने प्रस्ताव गरेकोमा विपक्षी सांसदहरुले अवरोध गरेपछि उहाँले त्यसका लागि थप प्रयास नगर्नुहुने भएको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै उहाँले अमेरिकी प्रशासनले प्रश्नावली थप्न अरु प्रयास नगर्ने बताउनुभयो । त्यसको सट्टामा उहाँले कार्यकारी आदेश जारी गर्नुभएको छ ।

अमेरिकामा रहेका मानिसलाई अमेरिकी नागरिक हो की होइन भनेर विवरण सङ्कलन गर्न आदेशमार्फत ट्रम्पले सबै सङ्घीय कार्यालयहरुलाई निर्देशन दिनुभएको छ । उहाँले नयाँ प्रश्नावलीमा “के यो अमेरिकी नागरिक हो ?” भन्ने प्रश्न थप्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनगणनामा नागरिकतासम्बन्धी यो प्रश्न समावेश गर्ने योजना सर्वोच्च अदालतले गत जुन महीनामा रोकिदिएपछि उहाँले त्यो प्रस्तावलाई छाडेर कार्यकारी आदेश जारी गर्नुभएको हो । जनगणना देशको सबैभन्दा ठूलो विवरण सङ्कलन गर्ने माध्यम भएकाले त्यसलाई अधिकतम उपयोग गर्नुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

उहाँले अमेरिकामा रहेका मानिसको नागरिकताको अवस्था यकिन गर्ने प्रयासबाट आफू पछाडि नहट्ने पनि बताउनुभयो । अहिले जारी गरेको कार्यकारी आदेशसँगै संयुक्त राज्य अमेरिकामा कति नागरिक, कति अनागरिक र कति गैरकानूनी मानिसहरू बसिरहेका छन् भन्ने पत्ता लगाउन यो सूचना सङ्कलन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रपति ट्रम्प प्रश्नावलीमा नयाँ प्रश्न थप्ने प्रयासबाट पछाडि हटेर कार्यकारी आदेश जारी गरेपछि नागरिकतासम्बन्धी थप प्रश्न विना नै जनगणना प्रश्नपत्र छाप्न शुरु भएको अधिकारीहरुले जनाएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com