कोरियाली भाषा परीक्षाको नतिजा : ९२ हजार ३७६ सहभागी, १२ हजार नौ उत्तीर्ण


प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ ।

भाषा परीक्षामा ९२ हजार ३७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रतर्फ नौ हजार १४३ र कृषि क्षेत्रतर्फ दुई हजार ८७६ युवा उत्तीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिएका थिए । भाषा परीक्षा गत जेठ २५ र २६ गते सञ्चालन गरिएको थियो ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइनेछ ।

कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारका बीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एकदशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् ।

हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एकपटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com