१९ बर्षमा अमेरिकी अदालतबाटमात्र ४४३६ नेपालीलाई अमेरिकामा एसाइलम, अधिकांश माओवादी पीडित


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

१९ बर्षको अवधिमा अमेरिकी अदालतबाटमात्र ४४३६ जना नेपालीहरुलाई एसाइलम स्वीकृत गरिएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । यो संख्यामा अमेरिकी सरकारको युएससीआईएसबाटै एसाइलम स्वीकृत हुनेको विवरण भने समावेश गरिएको छैन ।

सन् २००० को अक्टोबरदेखि सन् २०१९ को मे सम्म अमेरिकी अध्यागमन अदालतमा ६ हजार २ सय २५ नेपालीका एसाइलमका मुद्दामा फैसला गरिएको छ । जसमध्ये ४ हजार ४ सय ३६ एसाइलम स्वीकृत गरिएको छ भने १७१९ एसाइलम अस्वीकृत गरिएको छ । ७० जनालाई भने अन्य प्रकारको सुविधा स्वीकृत गरिएको जनाइएको छ ।

अमेरिकी अदालतमा एसाइलम स्वीकृत हुनेहरुमध्ये अधिकांशले आफूलाई माओवादी पीडित प्रमाणित गरेका छन् । त्यो बाहेक धार्मिक, जातीय वा अन्य हिंशाको पीडित प्रमाणित गरेर एसाइलम लिनेहरुको संख्या पनि उल्लेख्य नै रहेको छ ।

चालु आर्थिक बर्ष २०१९ मामात्र नेपालीका ६ सय १ एसाइलम मुद्दा फैसला भएकोमा ४३३ जनाले एसाइलम पाएका छन् भने १६६ जनाको एसाइलम अस्वीकृत भएको छ । ४ जनालाई भने अन्य प्रकारको अध्यागमन सुविधा स्वीकृत गरिएको छ ।

अहिलेसम्मको रेकर्ड हेर्दा भने अमेरिकी अदालतबाट सबैभन्दा धेरै नेपालीको एसाइलम अस्वीकृत सन् २०११ मा भएको थियो । उक्त बर्ष १७१ जना नेपालीको एसाइलम अस्वीकृत भएको छ । तर चालु आर्थिक बर्षको ८ महिनाको दृश्य हेर्दा भने अस्वीकृत संख्या आर्थिक बर्ष २०१९ मा नै अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै हुने निश्चित देखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com