यसरी विस्तार भयो क्यासिनो


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

सोल्टी होटेलमा सन् १९६८ मै क्यासिनो खुलेको थियो, जुन दक्षिण एसियामै पहिलो थियो । सोल्टी होटेलका मालिक तत्कालीन अधिराजकुमार हिमालयविक्रम शाहकै नाममा मन्त्रिपरिषद्ले निर्णय गरी क्यासिनो नेपालको लाइसेन्स दिइएको थियो । पाँचतारे होटेलमा मात्र क्यासिनोको लाइसेन्स पाउने भनिएको थियो, पाँचतारे सोल्टीमा मात्र थियो ।

सोल्टी नजिकै तहाचलमा घर भएका किशोर सिलवाल अस्कल (अमृत साइन्स) कलेजमा अंग्रेजी पढाउँथे । सन् १९७३ मा सिलवाल पढाउन छाडेर क्यासिनोमा जागिर खान पुगे । लाइसेन्स दिँदा नेपाली ग्राहकलाई क्यासिनो छिर्न रोक लगाइएको थिएन ।

क्यासिनो नेपालमा क्यासिनोमा चल्ने आधुनिक जुवाका खेलका साथै परम्परागत नेपाली जुवा कौडासमेत खेलाइन्थ्यो-मुख्य ग्राहक काठमाडौंका धनाढ्यमध्येबाट हुन्थे । विदेशी जुवाडे क्यासिनोमा उति देखिन्थेनन् । ‘त्यो बेला क्यासिनो नेपालीकै मनोरञ्जनका लागि थियो’, सिलवाल सुनाउँछन् । क्यासिनोका महाप्रबन्धक चूडाराजशमशेर राणा थिए जो त्यसअघि बनमन्त्री भइसकेका व्यक्ति हुन् ।

सन् १९७६ सम्म राणा नेतृत्वको व्यवस्थापनबाटै क्यासिनो चल्यो । त्यसपछि अमेरिकी नागरिक आरडी टटलको कन्टिनेन्टल रिसोर्ट ग्रुपले क्यासिनोको व्यवस्थापन जिम्मा लियो । सिलवालका अनुसार सुरुवात कालमा पनि क्यासिनाको व्यवस्थापन विदेशीले लिएका थिए । भुटानी राजपरिवारका नातेदार लेनी दोर्जीले केही समय क्यासिनो नेपालको व्यवस्थापन नेतृत्व गरेका थिए । उनी हिँडेपछि चूडाराज शमशेरलाई महाप्रबन्धक बनाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आरडी टटल क्यासिनोका अनुभवी थिए-मलेसियाको ‘गेन्टिङ हाइल्यान्ड’ मा पनि साझेदार भई क्यासिनो चलाइसकेका । सन् १९८० सम्म पनि नेपालीलाई क्यासिनोमा जुवा खेल्न रोक थिएन, त्यसपछि नेपालीलाई क्यासिनो छिर्न रोक लगाइयो । त्यतिबेलासम्म धेरै भारतीय पर्यटक जुवा खेल्न आउन थालिसकेका थिए, त्यसैले क्यासिनोको व्यापार घटेन । क्यसिनो एउटै थियो, प्रतिस्पर्धा हुने कुरै भएन ।

टटल क्यासिनो बुझेका र अन्तर्राष्ट्रिय नेटवर्क भएका प्रोफेसनल व्यापारी थिए । क्यासिनो नेपालको नाम विदेशका जुवाडेमा फैलिएको थियो । नेपाली जुवाडेलाई छिर्न दिने आवश्यक पनि देखिएन ।

२०४८ सालमा निर्वाचित सरकार बनेपछि थप तीन होटेलमा क्यासिनो सञ्चालनको लाइसेन्स दिइयो । सन् १९९२ मा क्यासिनो अन्ना (होटेल अन्नपूर्ण) र सन् १९९३ मा क्यासिनो एभरेस्ट (होटेल एभरेस्ट) र क्यासिनो रोयल (होटेल याक एन्ड यती) को लाइसेन्स दिइयो । क्यासिनो एउटाबाट एकैचोटी चारवटा हुँदा ग्राहक बाँडिए, प्रतिस्पर्धा चर्कियो । नेपाली ग्राहकलाई खुसुक्क छिराउने काम यहीबाट सुरु भएको सिलवाल सुनाउँछन् ।

क्यासिनोको लाइसेन्स बाँड्ने काम त्यतिमै रोकिएन । पाँचतारे होटेलसँगै क्यासिनो थपिने क्रम चल्दै गयो । पाँचतारे होटेलले केही गर्नुपर्थेन, टटलको नेपाल रिक्रियसन सेन्टरलाई जिम्मा दिए पुग्थ्यो । लाइसेन्स लिइदिएर क्यासिनो चलाउने काम सेन्टरले गथ्र्यो, होटेलले कुस्त भाडा पाउँथे । घरजग्गा कारोबार फस्टाएको बेला थियो, क्यासिनोमा खर्च गर्ने नवधनाढ्य दिन दुगुना, रात चौगुना जन्मिदै थिए ।

नेपालीलाई छिराउन थालेपछि क्यासिनो ‘चाँदी कटाइ’ हुने व्यापार बन्यो । क्यासिनो नेपालमा लामो समय जागिर खाएका एक जना एउटा टेबुलबाट एकैरातमा भारु एक करोड कमाएको आफैंले देखेको सुनाउँछन् ।

होटेल अपग्रेड गरेर पनि क्यासिनो लाइसेन्स लिन थालियो । क्यासिनोकै लागि सांग्रिला र मल्ल होटेल पाँचतारेमा अपग्रेड भए । सबै पाँचतारे सोल्टी, अन्नपूर्ण, एभरेस्ट, याक एनड यती, र्‍याडिसन, हायात, सांग्रिला, मल्लका साथै पोखराको पोखरा ग्रानड र फूलबारी रिसोर्टमा क्यासिनो चलाइयो ।

आरडी टटल भर्सेज राकेश बाधवा सन् ८० को दशकको सुरुमा ओबेराय ग्रुपको व्यवस्थापनमा चलेको सोल्टी होटेलमा फाइनान्स प्रमुख बनेर नेपाल आएका थिए भारतीय नागरिक राकेश बाधवा । सोल्टीमै क्यासिनो चलाउने आरडी टटलको पनि उनी विश्वासपात्र बने । टटले नै उनलाई श्रीलंकामा क्यासिनो खोल्ने जिम्मा दिएर श्रीलंका पठाएका थिए । श्रीलंकामा उनले क्यासिनो चलाए पनि ।

तर, तामिल विद्रोही (लिट्टे) लाई चन्दा दिएको आरोपमा त्यहाँको सरकारले क्यासिनो बन्द गरायो । ठीक त्यहीबेला टटलचाहिँ अरु पाँचतारे होटेलमा क्यासिनो खोल्ने तयारीमा थिए । टटलले २० प्रतिशत सेयर दिएर क्यासिनो एभरेस्ट सञ्चालनको जिम्मा बाधवालाई दिए । क्यासिनो रोयलमा समस्या आएपछि एभरेस्टकै मोडलमा सञ्चालनको जिम्मा बाधवाले पाए ।

नेपाली ग्राहकलाई समेत खुसुक्क स्वागत गरेर क्यासिनो चलाउन थालेको बेला थियो, क्यासिनो गज्जबले चल्यो । टटल-बाधवा साझेदारी एक दशकभन्दा बढी समय मज्जाले चल्यो । त्यसपछि दुवैबीच झगडा हुन थाल्यो ।

२०६२÷६३ को राजनीतिक परिवर्तनमार्फत माओवादी शान्ति प्रक्रियामा आएकोताका टटल-बाधवा झगडा उत्कर्षमा थियो । बाधवाले काठमाडौंमा उधुम मच्चाइरहेको माओवादीको ट्रेड युनियनलाई मिलाएर क्यासिनोमा कब्जा गर्न थाले । कानुनी लडाइ पनि सुरु भयो । श्रीलंकामा क्यासिनो खोल्नुअघि टटल-बाधवाले हङकङमा कनोसा इन्भेस्टमेन्ट नामको कम्पनी दर्ता गरेका थिए ।

कम्पनीमा टटलको ८८ र बाधवाको १२ प्रतिशत सेयर थियो । कनोसा इन्भेस्टमेन्टमार्फत श्रीलंकाको क्यासिनो चलेको थियो । पछि नेपालका क्यासिनोलाई पनि यसै कम्पनीअन्तर्गत ल्याइएको थियो । टटलले कनोसा इन्भेस्टमेन्टको नवीकरण आदिका लागि हङकङमै एकजनालाई अधिकृत वारेसनामा दिएका थिए । झगडा उत्कर्षमा पुगेका बेला बाधवाले एउटा टिम खुसुक्क हङकङ पठाए ।

सिलवालका अनुसार कनोसा इन्भेस्टमेन्टको नवीकरण फेल भइसकेको थियो । बाधवाको टिमले टटलले अधिकृत वारेसनामा दिएका व्यक्तिलाई मिलाएर कम्पनी पूरै बाधवाको बनाएर नवीकरण गरिदियो । त्यही आधारमा नेपाल रिक्रियसन सेन्टरमा बाधवाको एकलौटी हक भएको दाबी गर्‍यो ।

कानुनी लडाइ पनि बाधवाले जिते । टटलको हातबाट नेपालको क्यासिनोको साम्राज्य छिनियो । बाधवा क्यासिनोको मालिक बन्दा सबै क्यासिनोमा नेपाल रिक्रियसन सेन्टरको स्वामित्व थियो ।

क्यासिनोको पतन

सन् २०१० तिर आइपुग्दा क्यासिनोमा चौतर्फी आक्रमण सुरु भयो । नेपाली ग्राहकको भरमा चलेका क्यासिनोको लतमा फसेर थुप्रै नेपालीले घरबार गुमाइसकेका थिए । तिनका कथा ब्यथा मिडियामा आउन थाले । क्यासिनोमा पैसा सिध्याउने जुवाडेलाई चर्को ब्याजमा ऋण दिन क्यासिनोमै गुण्डा समूह सक्रिय हुन थालेका थिए ।

तिनको चर्को ब्याजका कारण गुण्डा धनाढ्य बन्दै थिए, जुवाडे घरबार सिध्याउँदै थिए । माओवादीको रजाइमा चलेका क्यासिनोबाट माओवादीका ठूलो नेताका साथै ट्रेड युनियनका नेतृत्व गर्नेसम्मले चा“दी कटाइ गरिरहेका थिए, तर क्यासिनाले रोयल्टी आदि तिरेको थिएन ।

क्यासिनोको कमाइ र माओवादीको रजाइ कस्तो थियो भने, २०६४ सालमा नेपालीको प्रवेश रोक्न खोज्दा माओवादीको ट्रेड युनियन प्रतिकारमा सडकमै ओर्लिएको थियो । तर, माओवादीको आर्थिक स्रोत भएको थाहा पाएपछि प्रतिस्पर्धी पार्टी क्यासिनोमा नेपाली प्रवेश रोक्न कम्मर कसेरै लागे । क्यासिनोले तिर्नपर्ने रोयल्टी दोब्बर पारियो ।

काठमाडौं प्रहरी प्रमुखको रमेश खरेल लिएपछि रमेश खरेलले क्यासिनोमा नेपाली छिर्न बन्द गर्दिए । उनले क्यासिनोमा छापा मारेर नेपालीलाई पक्राउ गर्न थाले । उता अर्थसचिव रामेश्वर खनालले राजस्व अनुसन्धान विभागमार्फत बक्यौता असुलीमा कडाइ गर्न थाले । बाधवा भारततिर फरार भए ।

तैपनि क्यासिनो धरासायी बनाउन निर्णायक प्रहारचाहिँ खिलराज रेग्मीको पालामा ल्याएको क्यासिनो नियमावली बनेको सिलवाल बताउँछन् । नियमावलीमा क्यासिनो सञ्चालन गर्न २५ करोड चुक्ता पुँजी चाहिने भनिएको थियो । त्यो २५ करोड पनि कर चुक्ता गरेको प्रमाणसहितको चाहिन्छ भनिएको थियो । क्यासिनोले वार्षिक रोयल्टी पाँच करोड पुर्‍याइयो ।

क्यासिनो सञ्चालनको निवेदन दिन पाँचलाख रुपैयाँ शुल्क तिर्नपर्ने प्रावधान राखियो । ‘तत्कालीन पर्यटनमन्त्री रामकुमार श्रेष्ठले नियमावली क्यासिनो बन्द गर्नै ल्याइएको हो भनेका थिए’, सिलवाल सुनाउँछन् ।

नियमावलीविरुद्ध क्यासिनो सञ्चालकको संस्था क्यासिनो एसोसिएसनले न्यायालय गुहार्‍यो । अदालतले अन्तरिम आदेश जारी गरेन । यसपछि क्यासिनो बन्द भए । अहिले र्‍याडिसन, हायात, सोल्टी र याक एन्ड यतीका क्यासिनो सञ्चालनमा छन् । सांग्रिला, हायात सोल्टीमा विदेशी व्यवस्थापन छ । र्‍याडिसन र रोयलले अदालतबाट अन्तरिम आदेश लिएर चलाइरहेका छन् ।

१९८० सम्म पनि नेपालीलाई क्यासिनोमा जुवा खेल्न रोक थिएन, त्यसपछि नेपालीलाई क्यासिनो छिर्न रोक लगाइयो । त्यतिबेलासम्म धेरै भारतीय पर्यटक जुवा खेल्न आउन थालिसकेका थिए । त्यसैले क्यासिनोको व्यापार घटेन ।किशोर सिलवाल, अध्यक्ष, क्यासिनो सञ्चालक संघ ।

क्यासिनो नियमावली मुलुकका क्यासिनो चलाइरहेका नेपाली सञ्चालकलाई विस्थापित गरी विदेशी सञ्चालकलाई स्थापित गर्ने फोहोरी खेल अन्तर्गत ल्याइएको नेपाल क्यासिनो सञ्चालक संघका अध्यक्षसमेत रहेका सिलवालको आरोप छ । उनका अनुसार भारतमै क्यासिनोमा विदेशी लगानी अनुमति दिइएको छैन, लगानीकर्ता भारतीय नागरिक हुनपर्छ ।

नियमावलीमा प्रत्यक्ष विदेशी लगानी (एफडआई) स्वागत गरियो, त्यो पनि बिना शर्त । अरु क्षेत्रमा शतप्रतिशत विदेशी लगानी स्वीकारिएको छैन, निश्चित प्रतिशत सेयर नेपाली नागरिकको हुनपर्छ । तर, क्यासिनोमा शतप्रतिशत विदेशी लगानीको अनुमति छ ।

अब क्यासिनो सञ्चालन गर्ने, बन्द गर्ने वा विदेशी अपरेटरबाट सञ्चालन गर्ने भन्नेमा निर्णायक तहका अधिकारी प्रष्ट हुनपर्ने बेला आएको सिलवाल बताउँछन् । उनका अनुसार अहिलेकै नियमावलीमा संशोधन नगर्ने हो भने बन्द हुन्छन् वा विदेशी अपरेटरले क्यासिनो चलाउँछन् । क्यासिनो बन्दै गर्ने हो भने नियमावली थप कडा बनाइदिए हुन्छ ।

क्यासिनो चलोस, अझ स्थानीय अपरेटरले मौका पाउन भन्ने हो भने नियमावलीमा संशोधन गर्नपर्ने उनको सुझाव छ । चुक्ता पुँजीलाई १५ करोड रुपैयाँ बनाउने माग क्यासिनो एसोसिएसनले गरेको छ । रोयल्टी पाँच करोडबाट तीन करोड रुपैयाँ बनाइएको छ, त्यसलाई अझ कम गर्नुपर्ने, निवेदन शुल्क घटाउनुपर्ने माग छ ।

क्यासिनो पर्यटक भित्र्याउने उत्पादन हुनुका साथै लामो इतिहास भएकाले यसलाई जोगाउनुपर्ने उनको भनाइ छ । लास भेगास क्यासिनो टुरिस्टका लागि विश्वकै १ नम्बर गन्तव्य मानिन्थ्यो । त्यहाँ एक सयभन्दा बढी क्यासिनो छन् । मकाओले क्यासिनो पर्यटनलाई प्राथमिकतामा दिएर १८ वटा क्यासिनो खुल्दा लास भेगास पछि पर्‍यो ।

सिंगापुरमा त दुईवटा क्यासिनोले लास भेगासलाई उछिन्दिए । नेपाल पनि क्यासिनो पर्यटनका लागि उपयुक्त छ । यसको इतिहास लामो छ नै, जुवा खेल्न सोखिन मानिने चिनिया“ र भारतीय हुन, छिमेकमा छन् । भारतीय जुवा खेल्न मकाओ, सिंगापुरका साथै कम्बोडिया, भियतनामसम्म पुग्छन् । तिनलाई यहा“ आकर्षित गर्न सकिन्छ ।

नेपालीको प्रवेशबारे पनि निर्णायक तहका अधिकारीले नयाँ ढंगले सोच्नपर्ने समय आएको सिलवाल बताउँछन् । यहाँ प्रवेशमा रोक लगाएपछि नेपाली जुवाडे सिक्किम, गोवाका साथै सिंगापुर र श्रीलंकासम्म पुग्न थालेको सिलवाल सुनाउँछन् ।

सन् २०१० मा सिंगापुरको दुई क्यासिनोमा १० महिनामा १४ हजार नेपाली प्रवेश गरेको देखिएको थियो । भारतले दिल्लीमा क्यासिनोको खोल्न अनुमति दिएको छैन । तर, दर्जनभन्दा बढी अवैध क्यासिनो चल्छन् । ती अवैध क्यासिनोमा अधिकांश कामदार नेपाली छन् ।

ती क्यासिनोमा नेपाली ग्राहक पुर्‍याउन काठमाडौंमा एजेन्ट परिचालित छन् । ‘जुवाडेलाई रोक्न खोज्दा नरोकिने रहेछ’, उनी थप्छन्, ‘पैसा भएका नेपालीलाई शर्तसहित खेल्न दिए अर्थतन्त्रलाई राम्रै गर्छ ।’

नेपालीलाई खेल्न नदिने हो भने पनि क्यासिनोलाई वातावरण बनाइदिनुपर्ने उनी बताउँछन् । सिंगापुरमै महिनामा १० लाख क्यासिनो पर्यटक भित्रिन्छन् । जुवा खेल्ने भारतीय, चाइनिजका साथै बंगलादेशी, पाकिस्तानी सबै वरिपरि भएकाले क्यासिनो पर्यटनको सम्भावना रहेको उनी बताउँछन् ।

सबै पाँचतारे होटेलमा क्यासिनो चल्दा झण्डै ९ हजारले रोजगारी पाएका थिए । क्यासिनो बन्द हुन थालेपछि तिनको यहाँको रोजगारी त गुम्यो तर बेरोजगार भएनन् । क्यासिनोमा दक्ष तिनले गोवा, श्रीलंका, मकाओ आदिमा रोजगारी पाए । गोवामा अहिले अधिकांश कामदार नेपाली भएको सुनाउँछन् ।

दिल्लीका अवैध क्यासिनोमा नेपाली कामदार भरिएका छन् । लामो इतिहास र एकचोटी फले/फुलेको व्यवसाय भएका कारण नेपाली जनशक्ति बिक्ने अवस्था भयो । अन्नपूर्ण पाेष्ट/

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com