२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
खबर

न्युयोर्कमा नेपाली उबर चालक सुसन थापा कुटिएकोमा न्युयोर्क प्रहरी यसो भन्छ

न्युयोर्कमा शनिबार नेपाली उबर चालक सुसन थापा कुटिएको विषयमा न्युयोर्क प्रहरीले थप प्रष्ट पारेको छ । न्युयोर्क प्रहरी विभागका डीसीपीआई प्रवक्ता डिटेक्टिभ एनेट शेल्टनले खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई दिएको जानकारी अनुशार घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

‘मे ४ शनिबार दिउसो ३ बजे ३३६८ २१ स्ट्रीट अगाडि ११४ औं प्रहरी क्षेत्राधिकारभित्र आपराधिक क्षति पुर्याएको रिपोर्ट हामीलाई प्राप्त भएको छ । घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ गरिएको छैन । अनुसन्धान जारी छ ।’ –  डिटेक्टिभ एनेट शेल्टनले बताए ।

शेल्टनले घटनाबारे थप प्रष्ट पार्दै जानकारी दिए – ‘एकजना २२ बर्षका पुरुषले एकजना अज्ञात व्यक्तिले उनको सामानमा क्षति पुर्याएको, विवादका कारण उनको घाँटीमा मुक्का हानेको र पैदल भागेको प्रहरीमा रिपोर्ट गरेका छन् । पीडितको गर्धनमा एउटा सानो घाउ बनेको छ तर घटनाको परिणास्वरुप पीडितलाई अस्पताल भने भर्ना गरिएको थिएन ।’

पीडित सुसन थापाका अनुशार सुरुमा ती महिलाले उबर पुल रिक्वेस्ट गरेकी थिइन् । उनले दिएको ठेगानामा पुगेर केहीबेर कुर्दा समेत उनी नआएपछि थापाले रिक्वेस्ट रद्द गरेका थिए । केहीबेरपछि ती महिलाले दोश्रोपटक उबर पुल रिक्वेष्ट गरेकी थिइन् ।

थापाले भने –‘म त्यसपछि उनलाई पिकअप गर्न उबरले दिएको गन्तब्यमा पुगें । तर त्यहाँ उनी थिइनन् । उनको फोन कल आएपछि मैले आफूले प्रतिक्षा गरेको लोकेशन बताएँ । तर उनले लोकेशन फेला नपारेको भन्दै अत्यन्तै आक्रोशित भएर गालीगलौज गरिन् ।’

‘त्यसपछि मैले उनको पुल रिक्वेस्ट रद्द गरें । लगत्तै उनी गाडी भएको स्थानमा आइन् । अनि जोडजोडसँग गाडीको सिसा र ढोकामा हानिन् । अनि ढोका समातेर तानिन् । पछाडि अरु यात्रीपनि थिए । उनी सिटमा बसेर आफूलाई म्यानहटन लैजान भनिन् । मैले उनको उबर रिक्वेस्ट रद्द भइसकेकाले लैजान नसक्ने बताएँ । तर उनले गाली गलौजसँगै ममाथि आक्रमण गरिन् ।’ घटनाबारे बताउँदै थापाले भने ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

‘उनले मेरो टाउकोमा मुक्का र प्रहार गरिन् । त्यसपछि म केहीबेर बेहोस भएछु । उनले मेरो आइप्याडपनि फोडिदिइन् । म होसमा आएपछि प्रहरीलाई फोन गरें । तर प्रहरी पनि झण्डै २ घण्टा ढिलोमात्र आयो ।’ थापाले खसोखासलाई बताए ।

आक्रमणपछि थापा उपचारका लागि क्वीन्सको माउन्ट साइनाई अस्पतालमा गएका थिए । शनिबार बेलुका उपचारपछि उनले अहिले घरमा नै आराम गरिरहेका छन् । आइतबार दिउसो आफूलाई पटकपटक बान्ता भएको थापाले बताएका छन् । आक्रमणका कारण उनको अनुहार सुन्निएको छ भने अनुहारमा चोट समेत लागेको छ ।

आक्रमण गर्ने महिलाको विवरणका लागि उनले उबरमा सम्पर्क गरेपनि उबरले भने विवरण दिन अस्वीकार गरेको छ । प्रहरी आइपुग्दासम्म ती आक्रमणकारी महिला त्यहाँबाट भागिसकेकी थिइन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →